मुख्य समाचार :


कालेबुङका पत्रकारहरुको सङ्गठनहरूद्वारा पत्रकारहरूको सुरक्षाको निम्ति जिल्ला प्रशासनको पदक्षेपको माग


मनोज वोगटी

कालेबुङ,११ फरवरी|
गोरामुमोकालीन आन्दोलनको समयमा (१९८६) कालेबुङमा एक हिन्दी दैनिकका फोटो पत्रकार निर्मल राईको निर्मम हत्या गरिएको थियो| गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले कालेबुङको एक कार्यक्रमबाट विपक्षका समाचार सम्प्रेषन गर्ने पत्रकारहरूलाई सोही घटना स्मरण गराउँदै विपक्षका समाचार सम्प्रेषण गर्नेहरूले ८६ मा पत्रकारहरूको हत्या भएको सम्झना गर्नु पर्ने बताएका थिए| तिनले जीएलओ नेता छत्र सुब्बामाथि प्रतिक्रिया गर्दै पत्रकारहरूलाई पनि खबरदारी गरेका थिए|

गुरूङको यसै राजनैतिक वयानपछि कालेबुङका श्रमजीवी पत्रकारहरूले असुरक्षित अनुभव गरिरहेका छन्| सिक्किम प्रेस क्लबले  कालेबुङका पत्रकारहरूको सुरक्षा प्रशासनले गर्नुपर्ने कुरा उठाएको भोलिपल्ट आज कालेबुङ प्रेस क्लबले पनि जिल्ला प्रशासनले कालेबुङका पत्रकारहरूको सुरक्षाको निम्ति शीघ्र नै पदक्षेप लिनुपर्ने माग गरेको छ| कालेबुङ प्रेस क्लबले आज भएको वार्षिक सभाको अवसरमा नै यसै सम्बन्धमा विचार विमर्ष गर्दै राजनैतिक वयानबाजीमा पत्रकारहरूलाई मुछ्दै अहिले पत्रकारिताको हनन् गर्ने कार्य भइरहेकोमा गहिरो चिन्ता गरेको छ| गणतन्त्रको चौथो स्तम्भ रहेको पत्रकारिताको स्वाधिनतालाई हस्तक्षेप हुने गरि जसरी अहिले राजनैतिक बयानबाजी भइरहेको छ, यसको कारण कालेबुङका पत्रकारहरूले असुरक्षित उभव गरेका छन्, क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ|

पत्रकारिताको स्वाधिनता मात्र होइन पत्रकारिताहरूको ज्यान समेतको असुरक्षा हुने गरी राजनैतिक बयानबाजी हुनुलाई क्लबले पत्रकारितामाथिको हस्तक्षेप गरिएको अनुभव गरेको बताइएको छ| विज्ञप्तिमा भनिएको छ, अहिले स्वतन्त्र पत्रकारिताको परिस्थिति छैन|  राजनैतिक दवाबको कारण पत्रकारहरूले असुरक्षित अनुभव गरेका छन्| यसकारण कालेबुङमा जिल्ला प्रशासनले स्वतन्त्र पत्रकारिताको वातावरण र गणतान्त्रिक परिवेश बनाउन शीघ्र नै पदक्षेप लिनुपर्छ| पत्रकारिताहरूको सुरक्षाको निम्ति जिल्ला प्रशासनले शीघ्र नै पदक्षेप लिनुपर्छ|

बैठकमा प्रस्ताव लिदै क्लबका अध्यक्ष अरुणकुमार रसाइली अनि सचिव अरुणकुमार राईले जिल्ला प्रशासनलाई पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्| अर्कोतिर जर्नलिष्ट एसोसिएसन अव् कालेबुङका अध्यक्ष भुवन खनालले पनि एसोसिएसनको बैठक भएको अनि एसोसिएसनले पनि पत्रकारहरूको सुरक्षाको निम्ति जिल्ला प्रशासनले शीघ्र नै पदक्षेप लिनुपर्ने प्रस्ताव लिइएको बताएका छन्| स्मरणीय छ, पूूर्व सैनिक मोर्चाको एक कार्यक्रममा गोजमुमो अध्यक्ष विमल गुरूङले पत्रकारहरूको असुरक्षा हुने गरी अनि पत्रकारहरूको धर्मबारे जनमानसमा गलत सूचना दिने गरी ८६ मा पत्रकारहरूको हत्या समेत भएको सम्झाउँदै विपक्षको समाचार प्रेषण गर्न नपाउने बताएपछि नै कालेबुङका श्रमजीवी पत्रकारहरुले असुरक्षाको अनुभव गरिरहेका छन्| केवल कालेबुङमा मात्र होइन यस प्रकारको वयानले जिल्ला र जिल्ला बाहिरका पत्रकारहरूले पनि भर्त्सना जनाइरहेका छन्|

उनीहरू अनुसार कुनै पनि राजनैतिक शक्तिले पत्रकारहरूको मुख थुन्न सक्दैन| पत्रकारहरूले आफ्नो धर्म जान्दछन्, कुनै राजनैतिक दलले पत्रकारहरूलाई उनीहरूको धर्मबारे शिक्षा दिनु उचित होइन| त्यो केवल पत्रकारितामाथि हस्तक्षेप मात्र हुनेछ| आफ्नो पक्षको मात्र  समाचारमात्र सम्पेषण गर्नुपर्ने वयान अगणतान्त्रिक हो| कालेबुङका पत्रकारहरूले यस प्रकारको राजनैतिक हस्तक्षेप र धम्कीहरूको सामना गर्नु परेको भने यो प्रथम होइन| कालेबुङको कार्यक्रमबाट विमल गुरूङले केवल ८६ मा पत्रकारहरुको हत्या भएको मात्र होइन विपक्षका समाचार सम्प्रेषण गर्नेहरूलाई व्यक्तिगतरुपले चन्छु भनेकोले पनि पत्रकारहरूले असुरक्षित अनुभव गरेका हुन्| गुरूङ अनुसार हो भने विपक्षको समाचार सम्प्रेषण गर्नै भएन अनि यस्तो टिप्पणी गणतन्त्रको निम्ति सबैभन्दा  आपत्तिजनक टिप्पणी रहेको छ| कुनै पनि पत्रकारहरूमाथि कुनै प्रकारको दुर्व्यवहार भए अनि ज्यानमालको हानि भए त्यसको जिम्मा कस्ले लिन्छ भन्ने भय जन्मिएको छ|

0 comments: on "कालेबुङका पत्रकारहरुको सङ्गठनहरूद्वारा पत्रकारहरूको सुरक्षाको निम्ति जिल्ला प्रशासनको पदक्षेपको माग"