मुख्य समाचार :


फेरि ‘बङ्गबङ्ग होबेना’

कालेबुङ,११ फरवरी|
ममता व्यानर्जीले फेरि गोजमुमो महासचिव रोशन गिरी अनि प्रवक्ता डा. हर्कबहादुर छेत्री मात्र होइन नेपाली साहित्य क्षेत्रको शीर मानिने इन्द्रबहादुर राईको मुखैमा फेरि पनि ‘बङ्ग भङ्ग होबेना’ भनेर स्पष्ट पारिन्| यता पुरस्कार दिँदै समग्र गोर्खाहरूको चिह्नारीको मुद्दालाई मुख्यमन्त्रीले ठाडै अस्वीकार गरिदिइन्| गोर्खा जनमुक्ति मोर्चाले जीटीएलाई छुट्टै राज्य पुग्ने सिँडी हो भनेर दिने बयान पनि मुख्यमन्त्री ममता व्यानर्जीको स्पष्टिकरणपछि विवादित बन्यो| मोर्चाले जीटीए गोर्खाल्याण्ड पुग्ने सिँडी हो भनेको थियो| यता गोर्खाल्याण्डको मुद्दालाई ड्रप नगरेको भन्दै मोर्चाले मुद्दा छोडेको छैन भनिरहेको छ| यता बङ्गालमा तृणमूलको सरकार आएपछि मोर्चाले गोर्खाल्याण्डको माग पूरा हुने आशा गरेको भए पनि जीटीएमा सम्झौता गर्न लगाएर गोर्खाल्याण्डको आन्दोलन जीटीएको कार्यकालभरि स्थगित गर्ने काम गर्‍यो|

यता केही दिन अघि मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले सरकारले आफ्नो प्रतिबद्धता पुरा नगरेको अनि मोर्चाले भने आन्दोलन नगरेर पहाडमा शान्ति राखेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएर जीटीएको निम्ति मोर्चाले आन्दोलन दबाएर राखेको स्पष्ट पारेका थिए| यता हिजो ममताले भने मोर्चाले गोर्खाल्याण्डको निम्ति मुख्यन्त्रीलाई रिझाउन नसकेको स्पष्ट पारे| तिनले फेरि पनि दोहोर्‍याइन् कि बङ्गाल विभाजन गर्ने कुनै पनि शक्तिलाई मान्य गर्ने छैन| यस अर्थबाट पनि मोर्चाले छुट्टै राज्यको आन्दोलन पटक्क गर्न नसक्ने स्पष्ट भएको छ|

मोर्चाले जनतालाई भने छुट्टै राज्यको आशा देखाएर समर्थकहरू सम्झाएर राखेको छ| मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने भनेकोले जनताले मोर्चालाई विश्‍वास नै गरेर बसेको छ| तर हिजो ममता व्यानर्जीले राज्य विभाजनको कुरा गर्नेलाई सहन नगर्ने कुरा गरेपछि भने मोर्चाको २७ अप्रेलदेखि हुने भनेको गोर्खाल्याण्डको आन्दोलनलाई ताला मारेको छ| युवा मोर्चालाई पनि ममता व्यानर्जीले ताला लगाइसकेकी छन् भने गोजमुमोलाई पनि हिजो ताला लगाइदिएकी छन्| यति भन्दाभन्दै पनि मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्नसक्छ भनेर कसैले आशा गरेका छैनन्| सकारण मोर्चाको २७ अप्रेलको डेटलाइनले यसपालि पनि हावा खाने स्पष्ट देखिएको छ|

यसबीच जीटीएलाई अप्रेलसम्ममा कुरा नै नमिले पनि गठन गर्ने सम्भावना भने बढेको छ| किन भने डुवर्सको मोर्चा शाखा आज विघटन भएको छ| सिब्सुमा मोर्चा अध्यक्ष विमल गुरूङले जीटीएमा तराई र डुवर्स नपसे आफू दायी नहुने अनि त्यसको जिम्मेवारी डुवर्सकै मोर्चा नेतृत्व हुने भनेपछि डुवर्सका नेतृत्व मोर्चा अध्यक्षको बयानले रुष्ट बनेको छ| यता तराईमा सङ्गठन भङ्ग गरिएको छ| सङ्गठन नै भङ्ग भएपछि तराई र डुवर्स जीटीएमा अन्तर्भुक्त गर्ने सवाल नउठ्ने हो कि भन्ने सम्भावना बढेर गएको छ|

यता ममता व्यानर्जील् मोर्चालाई स्पष्टरुपले तिनी मुख्यमन्त्री होइञ्जेल गोर्खाल्याण्ड राज्यको कुरा नउठ्ने स्पष्ट पार्दासमेत कुनै प्रतिक्रिया नजनाइएकोले मोर्चाले छुट्टै राज्को साटो जीटीएमा नै हिसाब किताब मिलाएको स्पष्ट भएको छ| यता मोर्चा नेताहरू त सरकारसित मिलेकै भइगए साहित्यिक महारथीको सामु नै बङ्गबङ्ग होबेना भनेर साहित्यिक शक्तिलाई पनि तिनले छुट्टै राज्य हुँदैन भनेर स्पष्ट सन्देश दिइसकेकी छन्| तिनले पुरस्कार दिएर गोर्खाल्याण्ड राज्य गठन हुन नसक्ने बताइन् तरै पनि कतैबाट पनि यस घटनाको प्रतिक्रिया भने देखिएको छैन|

0 comments: on "फेरि ‘बङ्गबङ्ग होबेना’"