मुख्य समाचार :


विमल-छत्रबीच वाक युद्ध- राजनैतिक परिवर्तनको संकेत?

कालेबुङ, 7 फरवरी।
20 वर्षपछि मात्र गोरामुमोकालमा दार्जीलिङमा परिवर्तनको हावा चलेको थियो तर अहिले पॉंचवर्ष पनि नपुग्दै फेरि परिवर्तनको हावा मडारिन थालेको छ।
अहिले छत्र सुब्बाले खुल्लारुपले विमल गुरूङलाई चुनौति दिन थालेपछि नै पहाडमा परिवर्तनको धमिलोचित्र कोरिँदै गइरहेको सबैले अनुमान गरिरहेका छन्‌। यता छत्र सुब्बाले दिन थालेको चुनौतिबाट विमल गुरूङ पनि निक्कै आतङि्‌कत देखिएको छ। तिनले कालेबुङमा पूर्व सैनिक मोर्चाको कार्यक्रममा एक घण्टा जति छत्र सुब्बा कै आलोचना गरे। तिनले समर्थकहरूलाई खबरदारी पनि गराए।

तर छत्र सुब्बा अनुसार मुद्दासित जनता साथ रहन्छन्‌, कसैको हैकम र आदेशमा जनता साथ बस्दैनन्‌। गोर्खा जनमुक्ति मोर्चाले गुप्ती रिपोर्ट केन्द्र सरकारलाई पठाएदेखि नै मोर्चाको राजनैतिक चरित्रमा शंका शुरू भएको थियो। मदन तामङले विमल गुरूङले अर्को दागोपाप थापेको भविष्यवाणी गरेपछि यता मोर्चाको कार्यचरित्रमा नै परिवर्तन देखिएको थियो। अन्ततः मोर्चाले मदन तामङको भविष्यवाणीलाई प्रमाणित नै गर्‍यो आन्दोलनलाई विश्राम दिएर जीटीएमा हस्ताक्षर गरेर। यता मोर्चाले जनतालाई एउटा पोइन्ट राखेर बारम्बार स्पष्टिकरण दिइरहेको छ। जनता अभावमा रहेकोले नै जनतालाई बुझेर मोर्चाले जीटीए ग्रहण गरेको हो। जीटीए ग्रहण गरिए पनि छुट्टै राज्यको मुद्दालाई ‘ड्रप’ गरिएको छैन। तर सचेत जमातले मोर्चाको यो स्पष्टिकरणमा कुनै दम देखेको छैन।

मोर्चाको भनाइ अनुसार सुबास घिसिङले मुद्दा ड्रप गरेका थिए। विमल गुरूङले ड्रप गरेनन्‌। दुइ दलमा यही फरक छ। तर छुट्टै राज्यको मुद्दालाई कसैले ड्रप गर्दा र नगर्दा कुनै फरक पर्दैन भन्ने प्रमाण पनि मोर्चा आफैले गोर्खाल्याण्डको आन्दोलन गरेर जीटीएमा हस्ताक्षर गरेर दिइसकेको छ।

घिसिङले ड्रप गरेको आन्दोलन विमल गुरूङले गर्‍यो। वास्तवमा सचेतहरू अनुसार ‘ड्रप’ महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो आन्दोलनको यथावत्‌ता। जीटीएले आन्दोलनको गतिरोधमा बाधा पुर्‍याएको बुद्धिजीवी र सचेतहरूको भनाइ छ। जसरी तेलङ्गनामा विभिन्न दलहरूले एउटै मुद्दा छुट्टै राज्यलाई लिएर आन्दोलन गरिरहेको छ, त्यस्तै यथावत्‌ता गोर्खाल्याण्डको पनि हुनुपर्ने बुद्धिजीवीहरूको कुरा छ। वास्तवमा पहाडका दलहरूबीच आएको मतभेद पनि यही यथावत्‌तालाई लिएर नै भएको देखिएको छ।

दागोपापले 20 वर्ष आन्दोलनको गतिलाई अवरोध गर्‍यो। जीटीएले कतिवर्ष अवरोध गर्ने हो कसैलाई थाहा छैन। जुन क्षमता जीटीएमा मागिएको कुरा मोर्चाले गर्दैछ अनि जनतालाई पर्याप्त हुने जुन कुरा गरिँदैछ, यसले धेरैवर्ष छुट्टै राज्यको मुद्दा उठ्‌ने कतै सम्भावना नरहेकोले पनि छुट्टै राज्यपन्थी दलहरूले मोर्चाको गलत राजनीतिको विरोध गरिरहेको छ। गोर्खाल्याण्ड टास्क फोर्सले देशका विभिन्न क्षेत्रमा गएर शीर्ष नेतृत्व र मन्त्री, सासंदहरूसित कुराकानी गर्दा जीटीएबाट नै गोर्खाहरूको समस्याको समाधान भएको कुरा सुनेपछि राष्टियरुपले नै जीटीएको विरोध भइरहेको छ। क्षेत्रीयस्तरमा विरोध गर्नेहरू अहिले राष्ट्रियस्तरमा जीटीए गोर्खाहरूको आकांक्षा होइन भन्ने कुरा बुझाउन जुटेका छन्‌।

यसैकारण विमल गुरूङले अहिले टास्क फोर्सलाई माओवादीसित जोड्‌दै, भूमिगत ट्रेनिङ गरिरहेको गम्भीर आरोप लगाइरहेका छन्‌। राष्ट्रियरुपमा टास्क फोर्स अनि क्षेत्रीयरुपमा छत्र सुब्बाको चहलपहलको भय गोर्खा जनमुक्तिभित्र जुन देखिएको छ, त्यसले फेरि दार्जीलिङमा राजनैतिक परिवर्तनको हावा मडारिरहेको अनुमान गरिएको छ। यस्तैबीच पहाडमा दलीय द्वन्द्व शुरू हुने हो कि भन्ने भय पनि जनतामा छाउन थालेको छ। यता गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले कालेबुङको युवा मोर्चालाई तैनाथ बस्ने निर्देश दिइसकेका छन्‌। आज यसै सम्बन्धमा विमल गुरूङले डेलोमा गोप्य बैठक पनि गरेका छन्‌।


अर्कोतिर गुरूङले कालेबुङमा 15-20 जना माओवादी पसेको बताएर अर्को विवाद खडा गरेका छन्‌। यसैलाई लिएर दलहरूबीच शीत युद्ध त छेडिएको छ, सडकमा नै भीडन्त नै हुने पो हो कि भन्ने शंका गरिन थालिएको छ। राजनैतिक परिवर्तनको संकेत पाइएकोले नै दार्जीलिङको राजनैतिक अनुहारमा दिनोदिन नयॉं घटनाक्रमहरू थपिन थालिसकेको छ। अप्रेलसम्ममा दार्जीलिङको राजनैतिक रुप कस्तो हुने हो कसैले पनि किटान गर्न सकिरहेका छैनन्‌।

0 comments: on "विमल-छत्रबीच वाक युद्ध- राजनैतिक परिवर्तनको संकेत?"