मुख्य समाचार :


पत्रकारहरू होसियार!

कालेबुङ, 7 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पत्रकारहरूलाई खै गर्दै 86 मा पत्रकारहरूको हत्या भएको कुरा दोहोर्‍याएपछि आज दिनभरि नै नगरमा यसविषयमा विभिन्न चर्चा सुनियो।

गुरूङको भनाइ अनुसार विपक्षको कुरा पत्रकारहरूले लेख्न हुँदैन। विमल गुरूङले हिजो स्पष्ट पार्दै के भनेका छन्‌ भने दार्जीलिङ र खरसाङमा मोर्चा समर्थक पत्रकारहरू छन्‌, यसकारण दार्जीलिङ र खरसाङमा विपक्षको कुरा पत्रकारहरूले लेख्दैनन्‌। तिनको कुरा अनुसार कालेबुङमा भने विपक्षको समाचार लेख्ने र च्यानलमा देखाउने पत्रकारहरू छन्‌।

प्रिन्ट मीडिया भन्दा पनि धेर तिनको लक्ष्य इलेक्ट्रोेनिक मीडिया रहेका थिए। तिनले दार्जीलिङ र खरसाङमा विपक्षको कुरा पटक्क देखाउन नदिएको कुरा गर्दै कालेबुङमा अट्टेरी गर्नेहरूलाई मुद्दा हाल्ने समेत बताए। यहॉंसम्म पनि तिनले होसियारी गराउँदै 86मा पत्रकारहरूको हत्या भएको कुरा पत्रकारहरूले बुझ्नुपर्ने पनि बताए। हॉंस्दै तिनले यति भने पनि तिनको भनाइ पत्रकारहरूको निम्ति भने निक्कै गम्भीर रहेको थियो।

तर कालेबुङका कुनै पनि पत्रकारहरूको सङ्गठनले यसमाथि कुनै आपत्ति गरेको देखिएन। नगरमा कस्तो चर्चा सुनियो भने, पत्रकारहरूले आपत्ति जनाएमा तार्गेट हुने डर भएको छ। पत्रकारहरूले विमल गुरूङको टिप्पणीपछि असुरक्षित रहेको अनुभव गरेको भए पनि कसैले पनि यसको प्रतिक्रिया नगरेकोले उनीहरू आतङि्‌कत बनेको अनुभव गरिएको छ। पत्रकार र पत्रकार सङ्घहरूले कुनै पनि टिप्पणी नगरे पनि पत्रकारसम्मेलन डाक्दै विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले भने पत्रकारहरूको स्वाधिनतामाथि विमल गुरूङले हस्तक्षेप गरेको आरोप लगाएका छन्‌। गणतन्त्रको रक्षामा सधैँ डटेर लागिपर्ने पत्रकारहरूलाई 86 मा पत्रकारको हत्या भएको कुरा सुनाएर डर देखाएको उनीहरूको आरोप छ। माकपाका तारा सुन्दासले पत्रकारहरूले स्वाधिनरुपले लेख्न र देखाउन पाउनुपर्ने बताएका छन्‌। तिनले भने, जसरी तृणमूल चिफबाट नागरिकको बोल्ने अधिकारमा हस्पक्षेप गर्ने काम भइरहेको छ, उसरी नै दार्जीलिङमा पनि पत्रकार अनि विपक्षका नेताहरूको बोल्ने अधिकारमाथि हस्तक्षेप भइरहेको छ।

यसैबाट पहाडमा कतिको गणतन्त्र छ भन्ने कुरा बुझ्न सकिन्छ। तिनले गणतन्त्रमा पत्रकारहरुले लेख्नु पाउने अनि विपक्षले बोल्ने पाउने अधिकार कसैले पनि छिन्न नसक्ने बताउँदै धम्कीबाट कोही पनि डराउनु नहुने तिनले बताएका छन्‌। गोर्खालिगका सचिव प्रताप खातीले पनि भने, दार्जीलिङ र खरसाङ जस्तो कालेबुङ नभएको बताउँदै भने, कालेबुङमा सबै दलका नेताहरूबीच कुनै दुश्मनी नभएको अनि कालेबुङमा भाइचार र सचेतहरू छन्‌। कालेबुङका मानिसहरूले कसैको हुकूमलाई मान्दैनन्‌।

स्वतन्त्ररुपले आफ्नो धर्म निभाउँछन्‌। पत्रकारहरूलाई जति नै डर देखाए पनि अहिलेसम्म कालेबुङका पत्रकारहरूले नै पत्रकारिताको धर्म पालन गरिरहेको तिनले बताउँदै भने, कसैको धम्की र खबरदारीले न त पत्रकारहरू डराउँछन्‌ न त विपक्षका नेताहरू नै। यता पिपल्स फोरमका सचिव प्रवीण गुरूङले भने, कालेबुङका कुनै पनि पत्रकारमाथि प्राणघातक आक्रमण भएमा त्यसको जिम्मा विमल गुरूङ अनि मोर्चालाई जानेछ।

तिनले गणतन्त्र हनन गरिरहेको छ। पुलिस प्रशासन, विपक्षका नेता, आम नागरिक अनि बुद्धिजीवीहरूले विमल गुरूङको कुरालाई मनमा खिलेर राख्नुपर्छ। विमल गुरूङले डर देखाएर आफू विचल्नीमा परिसकेको आफै प्रमाणित गरिसकेका छन्‌। पत्रकारहरूले लेख्न र देखाउन नपाउने कस्तो गणतन्त्र हो। कालेबुङका पत्रकारहरुले जुन धर्म निभाइरेका छन्‌, यसलाई सलाम गर्नुपर्छ। पत्रकार नै प्रवक्ता भएको पार्टीको चिफले पत्रकारहरूलाई नै धम्की दिन्छ भने मोर्चाका नेताहरूको मानसिकता कस्तो रहेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ। पत्रकारहरूको स्वाधिनतामा हस्तक्षेप गर्नु सबैभन्दा ठूलो अपराध हो। आज नहोस्‌, भोलि यसको इतिहास पनि लेखिनेछ। तिनले पत्रकारहरूलाई प्रशासनले सुरक्षा दिनुपर्ने पनि बताएका छन्‌।

0 comments: on "पत्रकारहरू होसियार!"