मुख्य समाचार :


जीटीए हस्ताक्षरमाथि तर्क

कालेबुङ, 7 फरवरी।
जीटीएमा आफूले हस्ताक्षर नगरेको विमल गुरूङले बारम्बार बताइरहेका छन्‌। तिनले भनेका छन्‌, हस्ताक्षर रोशन गिरीले गरेका छन्‌। मैले गरेको छैन।

जीटीए नराम्रो भएमा गिरी दायी हुनेछन्‌। फेरि तिनले नै भनेका छन्‌, जीटीए रोशन गिरीले चलाउनेछन्‌, मैले हस्ताक्षर नगरेको कारण गोर्खाल्याण्डको आन्दोलन गर्नुको निम्ति हो।
म गोर्खाल्याण्डप्रति इमान्दार छु। जीटीएमा मोर्चाको कुनै नेता नबस्ने तिनले किटान गरेको भए पनि अहिले रोशन गिरीले जीटीए चलाउने तिनले बताए पनि जीटीएमाथिको तिनको हस्ताक्षरबारेको स्पष्टिकरण कलिलो राजनीतिको परिचय रहेको छत्र सुब्बाले बताएका छन्‌।

तिनले आज भने, विमल गुरूङ मोर्चाको मान्छे होइनन्‌ कि क्या हो त उसो भए। तिनले नै भन्छन्‌ मोर्चाका अध्यक्ष हुन्‌ तिनी। हस्ताक्षर रोशन गिरीले गरेको होइन मोर्चाले गरेको हो। गिरीलाई देखाएर तिनी बॉंच्न पाउँछ र? देशको प्रधानमन्त्रीले कहीँ हस्ताक्षर गरेमा मन्त्रीको हस्ताक्षर हुँदैन देशको हस्ताक्षर हुनेछ।
यो कस्तो अचम्मको राजनीति हो। जनताको आँखामा कतिदिन धुलो हाल्ने हो? छत्र सुब्बा अनुसार जसले पनि आन्दोलनलाई थन्काएर कुनै पनि कुरामा सम्झौता र हस्ताक्षर गर्छ उसले फेरि आन्दोलन गर्न सक्दैन। एउटा सिँडीले लक्ष्यमा पुग्दैन। उसलाई हजार सिँडी चाहिन्छ।

सिँडी चाहिने राजनीति जनताको निम्ति हुँदैन, दल र चौकीको निम्ति हुन्छ। तिनी अनुसार रोशन गिरीले जीटीएमा गरेको हस्ताक्षर रोशन गिरीको होइन, गोर्खा जनमुक्ति मोर्चाको हस्ताक्षर हो। तर जनताको हस्ताक्षर होइन। जनताले छुट्टै राज्यको सम्झौतामा पनि हस्ताक्षर गर्दैन। जनता भनेको सधैँको निम्ति हो, हस्ताक्षर भनेको केही समयको निम्ति हो। यता क्रामाकपा महासचिव तारामणि राईले पनि भने, ठीकै छ विमल गुरूङले हस्ताक्षर गरेको होइन भने पनि। जीटीए छोडेर विमल गुरूङले छुट्टै राज्यको आन्दोलन गर्न अघि तिनले जीटीएको सम्झौतालाई खारेज गर्नुपर्छ। तिनले जीटीएको सम्झौता खारेज नगरी आन्दोलन गर्छु भन्नु धुर्त कुरा हो।

यसलाई पत्याउन सकिन्न। तिनी अनुसार विमल गुरूङको गोर्खाल्याण्डको आन्दोलनलाई क्रामाकपाको स्वागत रहेको बताउँदै भने, विमल गुरूङले जीटीएको सम्झौता खारेज गरेर आन्दोलन गर्नुपर्छ। यता छत्र सुब्बाले पनि विमल गुरूङको गोर्खाल्याण्डको आन्दोलनमाथि सन्देह गर्दै भने, जीटीए दिएन भने विमल गुरूङले गोर्खाल्याण्डको आन्दोलन गर्ने भन्दैछन्‌ यसको अर्थ जीटीए दियो भने गोर्खाल्याण्डको आन्दोलन गर्दैन? बोल्न पनि नजान्नेले मलाई बुद्धि छैन भन्छन्‌। जनताले कुरा बुझ्नुपर्छ। जीटीएसित गोर्खाल्याण्ड साटेको तिनकै बयानबाट स्पष्ट हुन्छ। विमल गुरूङको कुरा अनुसार तिनको आन्दोलन केवल जीटीएको निम्ति हो। जनताले बुझ्नुपर्छ जनताको माग जीटीए होइन।

0 comments: on "जीटीए हस्ताक्षरमाथि तर्क"