मुख्य समाचार :


प्रशासनलाई माओवादी पसेको सुँइको छैन

कालेबुङ, 7 फरवरी।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङमा 15-20 जना माओवादी पसेको किटान गरे पनि पुलिस प्रशासनलाई यसबारे कतैबाट कुनै पनि सूचना छैन।

एसपी आनन्द कुमारले बताए अनुसार कालेबुङमा माओवादी पसेको पुलिसलाई कुनै सूचना छैन। न त यसबारेमा कुनै जानकारी छ। पुलिस प्रशासन हरेक क्षण सतर्क छ। अहिलेसम्म यसप्रकारको  कुनै सुँइको पाइएको छैन। तिनले विमल गुरूङको बयानप्रति कुनै पनि टिप्पणी गर्न नचाहे पनि यो राजनैतिक मामिला हुन सक्ने शंका गरेका छन्‌।

हिजो विमल गुरूङले कालेबुङमा 15-20 जना माओवादी पसेको किटान गरेका थिए। तिनले युवा मोर्चालाई सतर्क गराउँदै लाभाको जङ्गल र 24-27 नम्बर समष्टीको जङ्गलमा देखरेख गर्ने जिम्मा पनि दिएका छन्‌। यता माओवादी पसेको कुरा गर्दै टास्क फोर्सले अन्डरग्राउण्ड ट्रेनिङ गरिरहेको बताएकोले टास्क फोर्सलाई नै केन्द्र गर्दै माओवादीसित जोड्‌न खोजेको हुनसक्ने पनि अनुमान गरिएको छ।

यता टास्क फोर्सले विमल गुरूङको यसप्रकारको आरोप आधारहीन रहेको बताइसकेको छ। क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले भने, कसले कहॉं टेलिफोन गरेको छ,त्यो त पुलिसलाई थाहा छ। कसले माओवादीहरूसित मिलेर जनसभा गरेको छ, त्यो जनतालाई थाहा छ। विमल गुरूङको यस्तो आधारहीन कुराले तिनी टास्क फोर्स र क्रामाकपासित असाध्यै डराएको स्पष्ट हुन्छ। तर तिनले याद राखोस्‌ हाम्रो लडाई विमल गुरूङ र मोर्चासित होइन।

0 comments: on "प्रशासनलाई माओवादी पसेको सुँइको छैन"