मुख्य समाचार :


‘बुद्धि भएकोले नै जेल जाने डरले जीटीए थापेको?’

विमललाई छत्रको जवाब

मनोज वोगटी
कालेबुङ,7 फरवरी।
विमलले मलाई जीरो छ भनेछन्‌, फूल बुद्धि भएको कारणले नै विमलले जीटीए थापेका होलान्‌। वास्तवमा विमल गुरूङ छुट्टै राज्यको आन्दोलन गर्न योग्य छैनन्‌। जिरो त तिनी पो छन्‌।
छत्र सुब्बा

तिनको आन्दोलनकालमा धेरैको हत्या भएको छ। तिनी योग्य छैनन्‌ भनेर मैले सुप्रिम कोर्टमा पीआईएल हालेको छु। मदन तामङकोे हत्या कसले गर्‍यो, प्रमीला शर्माको हत्या कसले गर्‍यो?10 मार्च 2010 सम्म गोर्खाल्याण्ड ल्याउँछु भनेर कसले भन्यो? तिनको आन्दोलनमा जति पनि मरे, गोर्खाल्याण्डको निम्ति मरे। जनता गोर्खाल्याण्ड चहान्छन्‌।

तिनी को हुन्‌ जनताले गोर्खाल्याण्ड माग्दा जीटीए थाप्ने? जेल जाने डरले तिनले जीटीए थापेका हुन्‌-छत्र सुब्बाले भने। हिजो कालेबुङमा कृषि मेलाको भेट र उनीहरूबीचको संवाद सार्वजनिक गर्दै विमल गुरूङले छत्र सुब्बा हिंस्रक रहेको बताउँदै तिनीसित जनता जोगिनुपर्ने बताएका थिए। छत्र सुब्बालाई मोर्चाले नै मुक्त गरको तर छत्र सुब्बाले नपत्याएकोमा आक्रोशित विमलले छत्र सुब्बा जिरो रहेको बताएका थिए। छत्र सुब्बाले तिनलाई ठाडो जवाब दिँदै भने, आन्दोलनकालमा भएको हत्याको आरोपमा मात्र होइन, घिसिङको पालादेखि नै तिनीमाथि अनेकौं मुद्दा छ। अहिले पार्टी दह्रो रहेकोले तिनलाई खोरमा थुनेका छैनन्‌। सरकारले तिनलाई जेल जाने कि सम्झौता गर्ने भन्दा तिनले सम्झौता गरेका हुन्‌। सबैले थाहा पाइसकेका छन्‌ तिनी धोकेबाज हुन्‌। भर्खर आएको मैले त बुझें विमलले जनताको आँखामा धुलो हालिरहेको छ। तिनले भने, हो, मैले विमललाई सहयोग मागेको हुँ, किन भने म गोर्खाल्याण्ड चहान्छु। तिनी गोर्खाल्याण्ड चहाने हो भने सहयोग गर्थ्यो। तर अब मलाई तिनको कुनै सहयोग चाहिँदैन। किन भने सम्झौता गर्नेले आन्दोलन गर्न सक्दैन भनेर मलाई सहयोग गर्नु भनेको थिएँ। मलाई बुद्धि नै नभएको भने। तिनको बुद्धि भएको भए जीटीएमा सम्झौता गर्ने थिएनन्‌।

तिनले बताए अनुसार विमल गुरूङले छत्र सुब्बाको मुद्दा देखाएर नै पार्टी खडा गरेका हुन्‌। विमल गुरूङले छत्र सुब्बाको घरमा आएर गोहीको आँशु झारेको पनि तिनले बताए। तिनले भने, वास्तवमा मोर्चाले मेरो मुक्ति चहॉंदैन थियो, किन भने म बाहिर आए उ भित्र पस्ने डर थियो। मलाई कसैले मुक्त गरेका होइनन्‌। पूर्ण कानूनी प्रक्रिया अनुसार न्यायमूर्तीले ‘कुनै दोष पाइएन, बाइज्जत बढी’ गरेको हो। कसरी विमलले तीनकटेरीको मुद्दा जिउँदैछ भन्दैछन्‌। बुद्धि कसको छैन अब जनताले थाहा पाउँदै जानेछन्‌। तिनले  प्रतिबद्धता प्रकट गर्दै भने, जनताको समर्थन पाए म निश्चय नै आन्दोलन गर्नेछु। मेरो झण्डा, दल त्यही हुनेछ। छत्र सुब्बा पनि त्यही हुनेछ। तर आन्दोलन गणतान्त्रिक हुनेछ। जीएलओ नाम परिवर्तन गर्नु परे गरिनेछ। विमलले तिनलाई जीटीएमा राख्ने भनेर गरेको टिप्पणीको सन्दर्भमा तिनले भने, ग्रेटर अटोनोमश दिँदा त थापिनँ। नाथे जीटीए के हो? दागोपाप भन्दा पनि खराब। 11 वर्ष म जीटीएको निम्ति बसेको होइन। 70 वर्ष पुगें। मुद्दामा सम्झौता हुँदैन। 11 वर्ष जेल बसें, मुद्दा छोडिनँ। अन्तमा न्यायपालिकाले नै हार मान्नु पर्‍यो। मेरो यो कटिबद्धताको तुलना जीटीएसित? विमलले शरम गर्नुपर्छ।

तिनलाई धेरैपल्ट किन्न खोजिएको बताउँदै कालेबुङ आएर पनि पैसाको बिटो लिएर धेरै आएको बताउँदै तिनले भने, मलाई पैसा, चौकी होइन गोर्खाल्याण्ड चाहिएको छ। जनता राज्य चहान्छन्‌। म राज्य चहान्छु। यसकारण राज्य चहानेहरू एक हुन्छ नै। जसले जनताको विरोधको कुरामा सम्झौता गर्छ, उसको सत्ता ढल्छ। उसलाई थाहा छ कि घिसिङको कस्तो अवस्था छ। तिनलाई धेर भन्नु पर्दैन। बुज्छन्‌। विमल गुरूङलाई जीटीए धेरै ठूलो लागेको हुनसक्ने बताउँदै तिनले जनताको आकांक्षासित खेलवाड गर्नेलाई जे पनि गतिलो लाग्न सक्ने बताउँदै थपे, विमलसित म कहिल्यै साथ थिइनँ। हुँदिन पनि। तिनले सम्झौता गरे, अब आन्दोलन गर्न सक्दैन भनेर मात्र सहयोग गर्नुपर्छ भनेको। गिडगिडाएको होइन। बौद्धिकरुपले, इमान्दारसित सहयोगको कुरा गरेको थिएँ।

तिनले विमल गुरूङले क्रामाकपाले छत्रलाई निकालेको छत्रले तिनीसित कुरा गरेको बताएको भए पनि आज छत्रले भने, हो, क्रामाकपाले मेरो निम्ति आन्दोलन गरेको छ। त्यो आन्दोलनलाई पनि मोर्चाले विथोल्ने काम गरेको छ। मेरै मान्छेले मेरो निम्ति कार्यक्रम गर्दा मोर्चाले बाधा दिएको हो। म आँफै निस्किएको हुँ। छत्र सुब्बाले विमल गुरूङलाई इङ्गित गर्दै अझ भने, 20 वर्षदेखि छुट्टैराज्यको रणनीति तयार पारेर बसेको छु, त्यसै आन्दोलन गर्छु भनेको होइन। म आन्दोलन गर्न सक्छु कि सक्दिन विमललाई राम्री थाहा छ। तिनले एउटै कुरा बुझ्नपर्छ कि घिसिङको अहिले कुन अवस्था छ।

0 comments: on "‘बुद्धि भएकोले नै जेल जाने डरले जीटीए थापेको?’"