मुख्य समाचार :


पारषमणि थापिन्‌ सानुमतिले

मनोज वोगटी
कालेबुङ, 26 फरवरी।
डा. पारषमणि प्रधानसितको तीनैवटा भेट सानुमति राईको जीवनमा तीन शिक्षा बन्यो। पहिलो शिक्षाले सानुमति राई सैन्यमा भर्ना भइन्‌। दोस्रो शिक्षाले लेखनीमा सक्रिय बनिन्‌ अनि तेस्रो शिक्षाले तिनले नेवारी संस्कारको सूत्र भेटिन्‌। आफू बोल्न नसकेपनि आफ्नो मनमा उहिल्यैदेखि बोकेर राखेकी यी तीन कुरा लखेर तिनले कार्यक्रममा स्वर्निम धमलाबाट पढाइन्‌।
तीनपल्ट डा. पारषमणि प्रधानसित तिनको भेट भयो तिनैवटा महुमूल्य भेट थियो- तिनले यो कुरा आज डा. पारषमणि प्रधान पुरस्कार ग्रहण गर्दै सबैलाई सुनाइन्‌।1922 तिर डा. पारषमणि प्रधानले विद्यार्थीहरूले एकापसमा ‘कुत्ता काट्‌ता है’ भनिरहेको सुने। ‘कुकुरले टोक्छ’ किन भनेनन्‌ विद्यार्थीहरूले? तिनलाई लाग्यो। त्यसपछि तिनले नेपाली पाठ्य पुस्तक ‘साउँ अक्षर’ लेखे। त्यसबेला विद्यालयमा नेपाली भाषीलाई मूल भाषा हिन्दीमा पढाइन्थ्यो। तिनलाई खट्‌केको कुरा यही थियो। डा. पारषमणि प्रधानले आफूले पढाउने विद्यालयमा हिन्दीलाई हटाएर नेपाली पाठ्य पुस्तक ल्याए। यसै गरेको आरोपमा अंग्रेज सरकारले तिनलाई मासिकरुपमा दिने मासिक तनाखा सात रुपियॉंबाट पचास प्रतिशत कटौती गरेर दण्ड दियो। पारषले पैसा गुमाए पनि सानुमति राईले भने शिक्षा पाइन्‌।
 तिनले कालेबुङको जुब्ली हिन्दी स्कूललाई नेपाली स्कूलमा रुपान्तरण गरिन्‌। तिनै पारषमणि प्रधानको स्मृतिमा प्रदान गरिने 15 औं पुरस्कार 2012 कालेबुङकी वयोवृद्ध लेखिका सानुमति राईले आज प्राप्त गरिन्‌। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा सिक्किम केन्द्रिय विश्वविद्यालयका रेजिस्टार ज्योतिप्रकाश तामङको बाहुलीबाट तिनले यो पुरस्कार थापिन्‌। तिनलाई दसहजार एक नगद, प्रशस्ति पत्र र स्मृति चिह्न प्रदान गरियो। पुरस्कार थाप्दै गर्दा सानुमति राईले आफ्नो स्वर्गीय लोग्ने भाइचन्द प्रधानलाई सम्झिरहेकी थिइन्‌।
 तिनले भनिन्‌, आज तिनको अनुपस्थिति पनि उपस्थिति नै लागिरहेको छ। तिनी मसितै छन्‌ भन्ने लागिरहेको छ। डा. पारषमणि पुरस्कार सबैभन्दा पहिलो तिनकै लोग्ने साहित्यकार भाइचन्द प्रधानलाई 15 वर्ष अघि 1998 मा प्रदान गरिएको थियो।
जतिबेला सानुमति राई भाइचन्द प्रधानसित नै समारोहमा थिइन्‌। सानुमति राईले भनिन्‌, यो पुरस्कार मेरो निम्ति धेरैपक्षबाट महत्वपूर्ण रहेको छ। 1954 देखि सम्पादन शुरु गरेको नव प्रभात साहित्यिक पत्रिकाको सम्पादकीयमा सानुमति राईले नेपाली भाषाले पनि सरकारी मान्यता पाउनुपर्ने कुरा उठान गरेकी थिइन्‌।

नेपाली बाषा मान्यताको निम्ति उठेको लिखित आवाज यही नै प्रथम थियो। यही कुराको ठोकुवा डा. जीवन नाम्दुङ बारम्बार गर्छन्‌। त्यही कुरा कवि रेमिका थापाले पनि सानुमति राईको लेखनी केलाउँदै आज भनिन्‌। मिराबाईमा रहेको  विछोड, प्रेम विरहको चरम पीडा सर्दै महादेवीमा आइपुग्दा आसक्त दुःखवादमा रुपान्तरण भइसकेको थियो।
 रविन्द्रनाथ ठाकुर वा अन्य छायावादीसम्म आइपुग्दा ती विरह र दुःखवाद रहस्यमय आध्यात्मिकतामा उक्लियो तर सानुमति राई भने ती नै छायावाद र रोमाण्टसिज्म धारासितै बग्दै पनि सबैबाट बेग्लो पीडा र आनन्दको सौन्दर्य लेखिरहेकी थिइन्‌। आशाको विकल्प खोजिरहेकी थिइन्‌।

कवि रोमिका थापाले कवि सानुमति राईको लेखनीको केस्रा यसरी छुट्याइरहेकी थिइन्‌। तिनले भनिन्‌, सानुमति राई अलौकिक र भौतिक प्रेम, विरह, कुण्डाबाट पनि निकासको बाटो खोज्दै थिइन्‌। तिनी समाजसित सरोकृत थिइन्‌। यही तिनको रोमाण्टिसिज्म वा छायावादको अलग धार हो। जब कि अगमसिंह गिरीहरू जातिवादी दुःखवादलाई शसक्तरुपले सम्बोधन गरिरहेका थिए। सानुमति राई दोस्रो विश्व युद्धको छेउछाउमा सेनामा थिइन्‌। यसकारण तिनले त्यो समयलाई संस्मरण गरेर लेखिदिएमा नेपाली पाठक समाजले गतिलो दस्तावेज पाउने लालसा पनि रेमिकामा थियो।

सधैँ सामाजिक सरोकारको सुप्त चेत बोक्ने सानुमति राई भने कालेबुङका युवा जमातको निम्ति धरोहर नै बनिसकेको कुरा सानुमति राईमाथि केटीभीले बनाएको वृत्तचित्रले सबैलाई बताइरहेको थियो। रामकृष्ण रङ्गमञ्चमा 15औं पारषमणि पुरस्कार ग्रहण गर्ने सानुमति राईले देख्न सकूँ म, देख्न सकूँ-कविताबाट लेखन क्षेत्रमा छिरेको कुरा पनि नेपाली साहित्य अध्ययन समितिका सचिव बलभद्र शर्माले बताइदिए।

83 वर्षीय सानुमति राईले भारतभरिका नेपाली साहित्यकारहरूको मत यो पुरस्कारको निम्ति पाएको शर्माले जनाए। 1998 देखि शुरु भएको पारषमणि पुरस्कार पारषमणि प्रधानको जन्मदिनको दिन नै वर्षेणी घोषित हुन्छ। 1 जनवरीको दिन सानुमति राईको नाम पुरस्कार चयन समितिले घोषणा गरेको थियो। त्यही घोषणा अनुसार कालेबुङको नेपाली साहित्य अध्ययन समितिले तिनलाई यो पुरस्कार प्रदान गर्‍यो।

 कलेज नै नपढेका पारषमणि प्रधान कलेजीय स्तरभन्दा पनि माथि अध्ययनको विषय बनिसकेको भन्दै कवि रेमिका थापाले सानुमति राईलाई यो पुरस्कार दिएर पुरस्कारको गरीमा बढेको कुरा गरिन्‌। समिति सचिव बलभद्र शर्माले त यो पुरस्कारलाई भारतीय सन्दर्भमा एक राष्ट्रिय पुरस्कार नै बताए।

मेहरमान सुब्बाले डा.पारषमणि प्रधानको पुरानै पाराले व्यक्तित्व र कृतित्वबारे बताए। समितिका अध्यक्ष एमबी प्रधानले पुरस्कार प्रापक सानुमति राईलाई कामना दिए। कार्यक्रम भरि नै एकै शब्द पनि नबोली तिनले सबैको हार्दिकता स्वीकार गरिरहेकी थिइन्‌। किन भने सानुमति राई विशेष रोगको कारण आवाज निकालेर आम मानिस जस्तो बोल्न सक्दिनन्‌।

0 comments: on "पारषमणि थापिन्‌ सानुमतिले"