मुख्य समाचार :


कविता, शहीद र गोर्खाल्याण्ड

प्रज्ज्वल छेत्री
कालेबुङ, 8 फरवरी।
‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलूक दुइ-चार सपूत मरेर नगए।’

कवि भूपि शेरचनले कवितामा भनेजस्तो दार्जीलिङको सन्दर्भमा कहिले पनि चरितार्थ भएन। गोरामुमोको समयमा 12 सय शहीद बने तर मुलुक(राज्य) बनेन। गोजमुमोको समयमा पनि शहिद बन्ने क्रम दोहिरियो तर मुलूक बन्ने छॉंटकाट भने देखिएन। आन्दोलनकालमा रेकर्ड गरिएकाभन्दा धेरै शहिद बनेका छन्‌ जसको लेखाजोखा छैन। दार्जीलिङको सन्दर्भमा कवि भूपि शेरचनको यो कविता कहिले सान्दर्भिक बनेन। बरू मूलूकको निम्ति शहिद बनाउन भने यो कविताले आन्दोलन नै पछि प्रेरणा दिने भने कार्य गरिरह्यो। जहॉं पुग्दैनन्‌ रवि त्यहॉं पुग्छन कवि भन्ने उक्तिलाई संसारैले विश्वास गरेका छन्‌। कविहरूको दुरदृष्टि कहिले विफल नबनेका अनेकौं दृष्टान्तरू छन्‌। तर दार्जीलिङको आन्दोलनको सन्दर्भमा भने जहिले पनि कविहरूको दुरदृश्टिलाई गलत बनाउने कार्य भइरहेको छ। कविले भनेजस्तो आन्दोलनकारीहरूले के सॉंच्चै नै इमान्दारिता देखाएका छन्‌ के त भन्ने शंका शहीद बनेर पनि मूलुक नबन्दा त्यैसै देखिएको छ।

‘बॉंच्छौ नै किन यहॉं चिसो खरानी बनेर,
बॉंचौं एकै क्षण यहॉं तर अग्नि ज्वाला जलेर।’

कवि भूपि शेरचन मात्र किन र जातीय कवि अगमसिंह गिरीको कवितालाई पनि दार्जीलिङका गोर्खे वीर-विरङ्गानाहरूले व्यवहारमा उतार्दा समेत जनआकांक्षा भने कहिले पनि पूर्ण हुन सकेन। गिरीकोे अग्नि ज्वाला जिउने कवितालाई 12 शहिद अनि प्रमिला, निता, विक्की, अरकबर र विमलाको परिवारले राम्ररी विश्लेषण गर्नसक्छन्‌ (अग्नि ज्वाला जिउनेहरूको परिणती?)। अग्नि ज्वाला जिउने ती शहिदहरूको सपना पटक्क पूर्ण हुनु नसक्नुको व्यथा शहीद परिवारले नै राम्री बुझ्दोहुन्‌। तरैपनि छुट्टै राज्यको आन्दोलनमा अन्धाधुन्द होमिने विमलाहरूलाई सँधै गिरीको यस कविताले प्रोत्साहति गरिरहनेछ। अग्नि ज्वाला जिउने गोर्खाहरूलाई प्रोत्साहित गर्ने गिरी र भूपि आज जउँदो हुँदो हो त दार्जीलिङको अवस्था देखेर आफ्ना यी कविताहरू पक्कै पनि जलाउने थिए होलान्‌, आफ्ना कविताहरूले शहीदहरूको सपना पूर्ण गर्न नसकेको देख्दा।

यी कविका कविताहरू दार्जीलिङको राजनैतिक सन्दर्भमा पटक्क सान्दर्भिक नुहुनुमा कविताको दोष हो अथवा नेतृत्वको छुट्टाएर हेर्न अनिवार्य छ। यी कविताहरू दार्जीलिङलाई सान्दर्भिक नहुनुले छुट्टै राज्यको निम्ति आन्दोलनको बागडोर सम्हाल्ने नेतृत्वहरूमाथि नै धेर प्रश्न खडा हुँदछ। दार्जीलिङ पहाडमा चलेको छुट्टै राज्यको आन्दोलनमा शहीद बन्ने क्रम दोहोरिरहे पनि छुट्टै राज्य प्राप्तिको दिशामा भने एक कदम पनि अघि बढ्‌न नसकेको सबैको आँखाअघि सर्वविदित छ। सुवास घसिङले गोर्खाल्याण्डको आन्दोलन गर्दागर्दै थापेको हिल काउन्सिललाई गोर्खाल्याण्डको चौतारो भनिरहे पनि पहाडबासीको निम्ति हिल काउन्सिल गोर्खाल्याण्डको बाटोमा 21 वर्षसम्म माउन्ट एभरेष्ट बनेर उभिरह्यो।

विमल गुरुङ तेन्जिङ शेर्पा बनेर 2007 मा माउण्ट एभरेष्ट चड्‌न खोज्दाखोज्दैै उनीपनि इस्काइभेटरले नै माउन्ट एभरेष्ट तोड्‌ने कुरा गर्नथाले। अहिले आएर इक्साइभेटरले माउण्ड एभरेष्ट चड्‌न असम्भव देख्न थालेपछि फेरि विमल गरुङ माउण्ट एभरेष्ट चड्‌ने तर्खरमा छन्‌। छुट्टै राज्य प्राप्तिको दिशामा मदन तामाङ जस्ता निडर नेतृत्व दार्जीलिङ पहाडले सँधैको निम्ति गुमाइसकेको छ भने सीके प्रधानजस्ता गोर्खाल्यण्डका कट्टर पक्षधरलाई पनि आफ्नैहरूले हत्या गरेको कालो इतिहास गोर्खाल्याण्डको आन्दोलनमा जोडिएको छ। गोरामुमोको आन्दोलनकालमा भएका 12 शहीदहरूको आत्मा 23 वर्षअघिदेखि भौतारिरहेकै समय अझ शहीदहरू थपिनुले दार्जीलिङलाई दशा ग्रहले छोड्‌ने नाम लिएको छैन।

हवन, श्रद्धाञ्जली कार्यक्रम, महापूराण, विश्वशान्ति पूजा, पीण्ड-अर्पण आदिले मुक्ति दिलाउन नसक्ने यी शहीदहरूलाई आत्मा शान्ति प्रदान गर्नु हो भने छुट्टै राज्य प्राप्ति नै मुक्तिको मार्ग बन्नसक्छ। गोरामुमोको आन्दोलनकालको 12 सय शहीदको हिसाब-किताब त कता हो कता 23 वर्षपछि गोजमुमोको आन्दोलनकालअवधी बङ्गाल प्रशासनको वर्बरतापूर्ण गोलीको शिकार बन्ने नीता खवास, विमला राई अनि विक्की लामा शहीद बनेको आज वर्षदिन पूर्ण भइसक्दा समेत परिणति भने शुन्य नै रहेको छ। मोर्चाले निकालेको दार्जीलिङदेखि डुर्ससम्मको पदयात्राअवधी सिब्सुमा यी तीन वीर-विरङ्गनाहरू शहीद बन्नपछि पोहोर मात्र हो दार्जीलिङमा यतिबेला आगो सल्किरहेको थियो। बङ्गाल प्रशासनको विरूद्धमा पहाडबासीमा सल्किएको विरोधको आगोले कयौं सरकारी सम्पतीहरू जलेर खरानी बन्यो, कयौं सरकारी बसहरूमा आगो सल्कियो। पहाडको करोडौको सम्पति पहाडबासीले नै नष्ट गरे तरैपनि विरोधको आगो थामिएन।

घटनाको न्यायिक जॉंच हुनपर्ने मागमा बाग्राकोटमा मोर्चा समर्थकहरू आमारण अनशनसम्म बसे। सरकारको आश्वासनपछि अनशन फिर्ता भयो जॉंच सीआईडीले शुरू गर्‍यो, परिणती भने शुन्य नै रह्यो। बरू घटनाको ठीक 5 महिनापछि जीटीएमा सम्झौता भयो। शहीदहरूको आत्मा भौतारिएकै कारण होलान्‌ जीटीए त्यति सजिलै हुने छॉंटकाट भएन अनि फेरि आज त्यही सिब्सुमै आइपुगेर 27 अप्रेलसम्ममा जीटीए नभएर सम्झौता जलाउने र फेरि आन्दोलन चर्काउने विमल गुरुङले वाचा गर्नु गोजमुमोको आन्दोलनकालअवधी शहीदहरूकै निम्ति भएपनि राम्रो सङ्‌केत मानिएको छ।

0 comments: on "कविता, शहीद र गोर्खाल्याण्ड"