मुख्य समाचार :


27 मा जीटीएको सम्झौतापत्र जलाउने छौं-विमल.....जीटीए खारेज गर्नुपर्छ-क्रामाकपा

कालेबुङ, 8 फरवरी।
सिब्सुमा ठीक एकवर्ष अघि गोर्खाल्याण्डको निम्ति निकालिएको पद्यात्राको क्रममा  बङ्गाल पुलिस प्रशासनले चलाएको गोलीले विमला राई, निता खवास र विकि लामाको मृत्यु भएको थियो।

आज मोर्चाले ती शहीदहरूलाई श्रद्धाञ्जली चढाउन सिब्सुमा नै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। मोर्चा अध्यक्ष विमल गुरूङले आजकै दिन तीन शहीदको स्मारकको सिलान्यास गरे। तिनी यस कार्यक्रमको निम्ति माल बजारको बाटो भएर गएनन्‌। तिनलाई प्रशासनले मालबाजरबाट जान निषेध गरेको थियो। गोरुबथान भएर सिब्सु पुगेका विमल गुरूङले शहीद स्मारकको निम्ति फरेस्ट विभाग अनि मुख्यमन्त्रीसित कुराकानी गरेर विशाल स्मारक बनाइने बताए। यसै अवसरमा तिनले मोर्चाले जीटीए थाप्नुको कारण पनि तराई-डुवर्स र 27-28 नम्बर समष्टीका समर्थकहरूलाई अवगत गराए। तिनले भने, सरकारले आफ्नो बचन पुरा गरेको छैन। हामीले डेटलाइन दिएका छौं। त्यो डेटलाइनभित्र जीटीए गठन नगरे 27 अप्रेलको दिन सुकनामा जीटीएको सम्झौता पत्र जलाउनेछौं। शहीदहरूको लक्ष्यलाई मोर्चाले नभुलेको बताउँदै तिनले शहीदको सपना पुरा गर्ने कटिबद्धता पनि प्रकट गरे। तिनले भने, मैले जीटीए त्यसै थापेको होइन।

जनस्वीकृतिले जीटीए थापेको
तिनले जीटीए मोर्चाले मनमानी गरेर नथापेको आज स्पष्ट पारे। तिनले भने, मैले जनतालाई सोधें। जीटीए थाप्नु कि नथाप्नु भनेर। सबैले थाप्नु भने। जनताले भनेकोले नै जीटीए थापेको। जनसभा गरेर, गाउँ गाउँ गएर मैले सोधेको हो। जनताले थाप्नु भनेकोले नै थापिएको हो। तर सरकारले आफ्नो बचन पुरा गरेको छैन। जीटीएबारे सबैलाई सम्झाउन सक्छौं भनेर नै जीटीए ग्रहण गरिएको हो। तर मूल मुद्दा छोडेका छैनौं। जीटीए दिइएको डेटलाइनभित्र गठन नगरे गोर्खाल्याण्डको आन्दोलन हुनेछ। राज्यको निम्ति खुन बगाएको हुनुपर्छ। जनता बेकारको कुराको पछि लाग्नु हुँदैन। गोर्खाल्याण्डलाई कसैले मागिखाने भॉंडा बनाउन दिन हुँदैन। जीटीए गठनपछि नै जीएटीए गठन हुनेछ।

तराईको नेता बारला
तिनले जीटीएको गठन भएपछि जीटीएसभाले नै नाम परिवर्तन गरेर जीएटीए बनाउने कुरा फेरि दोहोर्‍याए। तिनले भने, जसरी मोर्चालाई लडाउन गोर्खा नेताहरूले काम गरिरहेका छन्‌। उसरी नै आदिवासीहरूमा पनि विरोधीहरू छन्‌। तर तराई-डुवर्सका नेता जोन बारला हुन्‌। गोर्खा-आदिवासी मिलेर बस्नुपर्छ। तिनले 12 अप्रेलको दिन जोन बारला कोलकाता गएर जीटीएमा तराई डुवर्स अन्तरभुक्त गर्ने माग गर्ने पनि बताए।

कालेबुङको च्यानलविरुद्ध मुद्दा हाल्ने
कालेबुङमा आएर छत्र सुब्बालाई विमल गुरूङले गरेको कटाक्षको जवाब छत्र सुब्बाले पनि कटाक्षरुपले नै दिएका थिए। तर विमल गुरूङले छत्र सुब्बाले तिनी विरुद्ध निकृष्ट भाषा प्रयोग गरेको अनि च्यानलहरूले छॉंटकॉंट नगरी देखाएको बताउँदै मुद्दा हाल्ने बताएका छन्‌। प्रिन्ट मिडियाले भाषा संशोधन गर्न सके पनि इलेक्ट्रोनिक मिडियालाई त्यो सम्भाव छैन। छत्र सुब्बाले निकृष्ट भाषा प्रयोग गरेको र जस्ताको त्यस्तै देखाएकोमा विमल गुरूङ रिस्ले चुर बनेका थिए। कालेबुङको एक कार्यक्रमबाट पनि विमल गुरूङले पत्रकारहरूलाई 86 मा पत्रकारहरूको हत्या भएको सम्झाएका थिए। तिनले विपक्षको कुरा लेख्न र देखाउन नहुने मात्र होइन दार्जीलिङ र खरसाङमा त मोर्चाले देखाउन पटक्क नदिएको समेत बताउँदै कालेबुङमा देखाएर मुद्दा हाल्ने समेत चेतावनी दिएका थिए। विमल गुरूङमाथि गरेको छत्र सुब्बाको प्रतिक्रिया देखाउने च्यानलहरूमाथि तिनले मुद्दा हाल्ने घोषणा सिब्सुबाट नै गरेका छन्‌। तिनले अहिलेसम्म पत्रकारहरुको खाने भॉंडोमा कुनै हस्तक्षेप नगरेको भए पनि छत्र सुब्बाले उनीहरूको खाने भॉंडो नै खोसिरहेको बताउँदै मुद्दा हाल्ने कुरा गरेका हुन्‌।


जीटीए खारेज गर्नुपर्छ-क्रामाकपा
कालेबुङ, 8 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले जीटीए नभए सम्झौता पत्र जलाउने बताए पनि क्रामाकपा महासचिव तारामणि राईले भने, विमल गुरूङले गोर्खाल्याण्डको आन्दोलन गर्छ भने जीटीएको सम्झौता पत्र खारेज गर्नुपर्ने बताएका छन्‌। राईले भने, विमल गुरूङले धेरैपल्ट जीटीएमा सन्देह प्रकट गरिसकेका छन्‌।

सरकारको षडयन्त्र पो भयो कि भन्ने भय प्रकट गरिरहेका छन्‌। तिनी सॉंच्ची नै छुट्टै राज्य चहान्छन्‌ भने जीटीएको सम्झौता आधिकारिकरुपले खारेज गरेर आन्दोलनमा उत्रनुपर्छ। जबसम्म तिनको पार्टीले जीटीएलाई आधिकारिक खारेज गर्दैनन्‌ तबसम्म तिनले भनेको छुट्टै राज्यको आन्दोलनको अर्थ रहने छैनन्‌। राई अनुसार विमल गुरूङको पार्टीले गोर्खाल्याण्ड ल्याउन नसकेकोले नै जीटीए ग्रहण गरेको हो। यता राईको कुरालाई पुष्टि गर्ने मोर्चा प्रवक्ताको बयान उपयुक्त रहेको छ। किन भने प्रवक्ता डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्यको आन्दोलन गर्छु भन्नेहरूप्रति दया जाग्छ भनेका थिए। यहॉंसम्म कि कसैले पनि एकैचोटी छुट्टै राज्य ल्याउन नसक्ने अनि ल्याउछु भन्ने धुर्त रहेको बताएका थिए।

मोर्चा गठनको औचित्यमाथि पनि प्रवक्ताको वयान विवादास्पद देखिएको छ। किन भने तिनले पानी, विजुली र नोकरीको निम्ति भनेको भए जनता मोर्चामा नआउने अनि गोर्खाल्याण्ड भनेको समेत बताइसकेका छन्‌ भने इन्द्रेको बाबु चन्द्रे आए पनि गोर्खाल्याण्ड हुन सक्दैन पनि भनेका छन्‌। तिनले जति पनि विवादास्पद बयान दिएका छन्‌ जीटीए गठन गराउनको निम्ति नै भनेका छन्‌। पत्रकारहरूले गोर्खाल्याण्ड भनेको नै नबुझेको समेत बताउने डा. छेत्रीले पहाडको समस्याको समाधान नभइ गोर्खाल्याण्ड हुन नसक्ने मात्र होइन पैसा नै चिह्नारी रहेको समेत बताएका थिए। जीटीएलाई नै 80 प्रतिशत छुट्टै राज्य बताउने प्रवक्ताले 20 प्रतिशत मात्र जीटीए बङ्गालमा रहेको समेत बताएका थिए। अहिले केन्द्र र राज्यको सम्बन्ध बिग्रिएको कारण जीटीए गठन नभइरहेको समेत तिनले बताइसकेका छन्‌।

यता जीटीएको गठन हुनको निम्ति केन्द्रले 16 वटा मन्त्रालयलाई मन्तव्य मागेको छ। अर्कोतिर हाइपावर कमिटीले पनि 6 महिनाको समय मागेको छ। जीटीएको समीक्षा सभाको क्रम जारी छ, जसले जीटीएको निम्ति नमिलेका कतिपय कुराहरू अझ पनि गरिरहेको छ। ममताले केन्द्रलाई ढॉंड देखाउन थालेपछि जीटीएको मामिलामा केन्द्रले गम्भीरता देखाइरहेको छैन। गम्भीरता नदेखाउनुको कारण जीटीए पहाडको स्थायी समाधान होइन। अहिले जीटीएको विरोध व्यापक बनेको अनि टास्क फोर्सले राष्ट्रियस्तरमा नै जीटीएको औचित्य बुझाउन थालेपछि केन्द्रले जीटीए गठन गरेर पनि पहाडमा अस्थिरता जस्ताको त्यस्तै रहने देखीरहेको छ। जीटीए स्थायी समाधान नरहेकोले केन्द्रले जीटीएलाई लिएर आनाकानी गर्न शुरू गरिसकेको छ। यता गोर्खाल्याण्ड टास्क फोर्सले जीटीए गोर्खाल्याण्डको मार्गमा बाधा रहेको बताइरहेको छ।

जीटीएलाई देखाएर गोर्खाहरूको समस्या समाधान भयो भनिएकोले जीटीएको विरोधमा देशभरिका गोर्खाहरू उठ्‌न सक्ने अनि केन्द्रमा गोर्खाहरूको राष्ट्रिय आन्दोलनले समस्या खडा गर्ने चेतावनी गइरहेको कारण जीटीए गठन भइहाल्ने स्थितिमा छैन। यता विमल गुरूङले भने जीटीएको होइन जीटीए गठनको ढिलाईको विरोध गरिरहेका छन्‌। जुन जीटीएलाई छुट्टै राज्यको बाधा रहेको बताइएको छ, त्यही जीटीए नदिए गोर्खाल्याण्डको आन्दोलन गर्छु भनेर विमल गुरूङले गरेको बयानमा बुद्धिजीवीहरूले खासै दम देखेको छैन। अहिले विमल गुरूङको बयानहरूलाई जीटीए कै बार्गेनिङको रुपमा हेरिन थालिएको छ। यस्तोमा क्रामाकपा महासचिव तारामणि राईले केवल सम्झौतापत्र जलाएर नहुने, आधिकारिकरुपले खारेज गरेर मात्र गोर्खाल्याण्डको आन्दोलन हुन सक्ने बताएका छन्‌।

0 comments: on "27 मा जीटीएको सम्झौतापत्र जलाउने छौं-विमल.....जीटीए खारेज गर्नुपर्छ-क्रामाकपा"