मुख्य समाचार :


दार्जीलिङको विकासको निम्ति सम्झौता गर्ने आवश्यकता छैन-गक्रायुमो

कालेबुङ, 8 फरवरी।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको युवा सङ्गठन गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले 15 फरवरीको दिन जिल्लाको सबै खण्डमा कार्यालयमा एकैसाथ डेपुटेशन धर्ना दिने भएको छ।

गक्रायुमोका महासचिव अरुण घतानीले एक पत्रकार सम्मेलन गर्दै क्रामाकपाले गोर्खाल्याण्ड टास्क फोर्ससित अनि क्रामाकपा एक्लैले पनि राष्ट्रियस्तरमा छुट्टै राज्यको निम्ति सडक, संसद अनि बौैद्धिकस्तरमा विभिन्न कार्यक्रम गरिरहेको बताउँदै क्षेत्रीयस्तरमा सडक कार्यक्रम अन्तर्गत 9 सुत्रिय मागहरू लिएर डेपुटेशन धर्ना गर्ने बताएका छन्‌।

9 सुत्रिय मागबारे बताउँदै तिनले मोर्चाले प्रेसर टेक्टिस गरिरहेको बताए। तिनले जुन ठाउँमा मदन तामङको हत्यारा निकोल तामङ भाग्यो त्यही ठाउँमा मोर्चाले गोर्खाल्याण्ड होवेना भन्दा थप्पडी मार्दै जीटीएको सम्झौता गरेको बताउँदै भने, अहिले छुट्टै राज्य बनिने परिस्थिति छ, दोस्रो एसआरसी बनिने सम्भावना छ। यस्तो स्थितिमा पैसा र चौकीको निम्ति मोर्चाले जीटीए भनिरहेको छ।


यसलाई गक्रायुमोले संवेदनशीलरुपले लिएको छ। घतानीले अझ भने, विकास सरकारले गर्नुपर्ने दायित्व हो। यसको निम्ति सम्झौता गर्नुपर्ने कस्तो विडम्बना? विकासको निम्ति सम्झौता गर्नुपर्दैन। प्रत्येक खण्डमा जीटीए जनाकांक्षा होइन, गोर्खाल्याण्ड राज्य हुनुपर्छ भन्ने ज्ञापन दिइने तिनले बताए। अर्कोतिर विकासको नाममा मोर्चाले पञ्चायत, खण्ड र दागोपाप चलाइरहेको, जहॉं व्यापक भ्रष्टचार भइरहेको अनि नमुना पिथामचिन रहेको बताउँदै विभागहरूले कुनै पनि कामको निम्ति मोर्चाको रिकोमन्डेशन माग्ने गरेको बताउँदै शीघ्र नै यस्तो भ्रष्टचार रोक्नु र भ्रष्टचारमुक्त व्यवस्था हुनुपर्ने पनि माग गरिने बताएका छन्‌।

दार्जीलिङ, डुवर्स तराईका चिया श्रमिक, कृषकहरूलाई बीपीएलको सूचीमा हाल्नु पर्ने अनि उनीहरूलाई मालिकाना हक दिँदै पर्चापट्टा दिइनुपर्ने मागमा पनि धर्ना दिने तिनले बताएका छन्‌। बीपीएलको सर्वेक्षण तराईको तुलनामा हुनु नहुने पनि तिनले बताएका छन्‌।

महात्म गान्धी रोजगार योजनामा धँधली भइरहेको अनि गरीबहरूले रोजगार नपाइरहेको बताउँदै घतानीले सय दिने काममा मोर्चाको हस्तक्षेप बन्द गर्नुपर्ने बताए। तिनले भने, सय दिने होइन पहाडको आर्थिक परिस्थितिलाई हेरेर 250 सय दिने काम हुनुपर्ने माग गरिने छ।

सिलगढीमा महकुमा परिषदलाई लिएर जिल्ला बनाउने बङ्गाल सरकारको षडयन्त्र भइरहेको आरोप लगाउँदै तिनले शीघ्र नै दार्जीलिङको आठवटा ब्लकलाई बढाएर 25 वटा ब्लक बनाइनुपर्ने अनि 112 वटा पञ्चायतलाई 160 पञ्चायत बनाइनुपर्ने पनि बताएका छन्‌।

एउटा पञ्चायत प्रतिनिधिको निम्ति 250 भोटर्स हुनुपर्नेमा अहिले 750 भोटर हुनुपर्ने बनाइएको सरकारी निर्देशको विरोध पनि गक्रायुमोले गर्ने बताएका छन्‌। अर्कोतिर स्वास्थ्य विभागमा आशाको नियुक्तिमा मोर्चाको मान्छे परेन भनेर विरोध गरेको बताउँदै यसको नियुक्तिमा पारदर्शिता हुनुपर्ने, जिल्ला प्रसासनले शुन्यपद्मा 60 माथिकालाई नियुक्ति गर्ने भनेर जारी गरेको अधिसूचनाको विरोध गर्ने वेरोजगारहरूलाई नै नियुक्ति दिइनुपर्ने घतानी बताएका छन्‌। यी सम्पूर्ण विषयमा खण्ड कार्यालयमा धर्ना दिने अनि गक्रायुमोका दाबी पुरा नगरे अझ प्रभावकारी कार्यक्रम गर्ने पनि तिनले बताएका छन्‌। यसै मागमा गक्रायुमोले कालेबुङमा आज पोष्टरिङ पनि गरेको छ।

0 comments: on "दार्जीलिङको विकासको निम्ति सम्झौता गर्ने आवश्यकता छैन-गक्रायुमो"