मुख्य समाचार :


जनता ‘खाओवादी’ सित डराउनुपर्छ-घतानी

कालेबुङ, 8 फरवरी।
विमल गुरूङले कालेबुङमा माओवादी पसेको कुरा गरेका छन्‌, जसको कुनै आधार छैन तर दार्जीलिङ जिल्लामा नै खाओवादी पसेका छन्‌, यसको भरपुर आधार छ- गक्रायुमो महासचिव अरुण घतानीले भने।

टास्क फोर्सलाई अन्टरग्राउण्ड ट्रेनिङ गर्‍यो अनि कालेबुङमा माओवादी पस्यो भन्ने विमल गुरूङ खाओवादीको चिफ रहेको बताउँदै घतानीले भने, विमलले माओवादी पसेको सावित गर्नुपर्छ। लालगढमा विमल गुरूङले माओवादीहरुसित नै जनसभा गरेका छन्‌। उनीहरूकै छत्र छायामा कालेबुङमा माओवादी पसेका होलान्‌। प्रशासनलाई केही सूचना नभएको सार्वजनिक भइसकेको छ। कसरी विमललाई मात्र थाहा भयो? आन्दोलन विकास र सहुलियतको होइन। जीटीए छुट्टै राज्यको बाधा हो। गोर्खाल्याण्ड माग्नेलाई जीटीए माग्नेले जुन आरोप लगाइरहेका छन्‌, त्यो सचेतहरूले बुझिरहेका छन्‌।


विमलले पहाडमा अशान्ति गर्ने स्पष्ट पारिसकेका छन्‌। तिनले पहाडलाई माओवादीको भन्दा खाओवादीको डर रहेको बताउँदै भने, खाओवादीहरूले आइला सक्यो, दागोपाप सक्यो, भुइँचालो समेत सक्यो। जीटीए पनि खाओवादीहरू कै सपना हो। जनताको सपना त गोर्खाल्याण्ड हो।


घतानीले भने,शहीदको खुन खसेको भुइँमा टेकेर जीटीएको कुरा गर्नु गोर्खाहरूको दुर्भाग्य हो। विमललाई शहीदको खुनले पिर्नेछ। तिनले विपक्षले बोल्नु नपाउने अनि पत्रकारहरूले लेख्न नपाउने विमलको कुरा तानाशाहीको ठूलो नमूना रहेको बताउँदै भने, सरकारले यस्तो तानाशाहीसित नै बैठक गर्दैछ। पहाडको गणतन्त्र हनन्‌ हुनुमा सरकार दायी छ। विश्वमा नै तानाशहीहरूको अन्त भइसकेको छ। दार्जीलिङको तानाशाही साम्राज्यको पनि अन्त हुन्छ। विमललाई जनताले जवाब दिने समय आइसकेको छ।

यता तीन विधायकहरूले विधानसभामा लडिबडी गरेर गोर्खाल्याण्डको कुरा उठाउँछु भनेर जनताको भोट पाए पनि भिजेको मुसा सरह भएको बताउँदै तिनले भने, यदि गोर्खाल्याण्डको कुरा गर्न सक्दैन भने विधायकहरूले राजिनामा दिनुपर्छ। गोर्खाल्याण्ड माग्ने सरकारी बेञ्चमा बस्दैन। विपक्षको बेञ्चमा बस्छ। जीटीए मानेर विधायकहरू सरकारको मान्छे भयो। उनीहरूले छुट्टै राज्यको कुरा गर्न सक्दैनन्‌ भने राजिनामा दिनुपर्छ। गक्रायुमो कालेबुङका प्रवक्ता सुदन प्रधानले पनि भने, विमल गुरूङले धम्काउनु छोडेर गोर्खाल्याण्डको निम्ति टास्क फोर्सलाई सहयोग र समर्थन गर्नुपर्छ।तिनी फोर्समा आउन्‌, सम्मिलित होइन्‌।

हामी स्वागत जनाउने छौं। गोर्खाल्याण्डको कुरा गर्नेले 27 मार्चको अल्टिमेटम किन? वाक युद्ध होइन सडक, सांसद अनि बौद्धिकस्तरमा आन्दोलन गर्नुपर्छ। यसरी मात्र छुट्टै राज्य हुन्छ। वाकयुद्ध गरेर एउटा दलले छुट्टै राज्य ल्याउन सक्दैन। राज्यपालसित जीटीएको होइन गोर्खाल्याण्डको कुरा गर्नुपर्छ।

0 comments: on "जनता ‘खाओवादी’ सित डराउनुपर्छ-घतानी"