मुख्य समाचार :


कालेबुङको 5 वटा न्यूज च्यानल प्रतिबन्धित

मनोज वोगटी
कालेबुङ, 9 फरवरी।
31 दिसम्बर 2007 को दिन कालेबुङमा पहिलो जनसभा गर्दै विमल गुरूङले भनेका थिए- ‘कालेबुङमा धेरै च्यानलहरू देखें।
उनीहरूले अरुको समाचार देखाउँदा कन्ट्रोल रुमबाट नै गोरामुमो नेताहरूले सिडी लगिदिन्छन्‌ भनेको सुनें।विमल गुरूङको आवाज देखाउन दिएन। दावा पाखरिनले यसो गर्नु हुँदैन। च्यानल उनीहरूका बिजनेश होे। उनीहरूले काम गर्नुपाउनु पर्छ। दावा पाखरिनको काम पनि हेरोस्‌, विमल गुरूङको काम हेरोस्‌। जो सत्य छन्‌, जनता उसित नै हुन्छन्‌।

च्यानल देखाउन दिनुपर्छ।’

ठीक छ वर्षपछि 6 फरवरी 2012 को दिन विमल गुरूङले कालेबुङबाट नै जनता नभएको विपक्षको समाचार देखाउनु नहुने भन्दै देखाउने च्यानलमाथि मुद्दा हाल्ने बताए। यही कुरा तिनले सिब्सुमा पनि हिजो दोहोर्‍याएपछि आजदेखि कालेबुङका 5 वटा न्यूज च्यानलहरूमा प्रतिबन्ध लाग्यो। कालेबुङमा पॉंचवटा समाचार च्यानलहरू थियो। केटीभी, दैनन्दिनी, हिमालयन पिपल्स च्यानल, प्रतिदिन कालेबुङ अनि हाल खबर।

कालेबुङमा आएर विमल गुरूङले छत्रमाथि गरेकोे टिप्पणीमाथि छत्र सुब्बाको प्रतिक्रिया ती केही च्यानलहरूले प्रसारण गरेको थियो। 2007 देखि नै कालेबुङमा दैनन्दिनी च्यानलले स्थानीय समाचार प्रसारण गर्ने गरेको थियो भने पछि अन्य च्यानलहरू थपिएको थियो। सिब्सुमा छत्र सुब्बाले विमल गुरूङप्रति गरेको प्रतिक्रियामा निकृष्ट भाषा प्रयोग गरेको समाचार प्रसारण गरेको आरोपमा मुख्यगरी केटीभीको नाम नै लिँदै हिजो विमल गुरूङले मुद्दा हाल्ने चेतावनी दिएका थिए। सोही दिनदेखि केटीभी, दैनन्दिनी अनि एचपीसीको प्रसारण अचानकै रोकियो।

च्यानल प्रसारण गर्ने स्काइ स्न्यान केबलका मालिक ओङ्‌कार सैनीसित यसबारे बुझ्न चहॉंदा तिनले आफ्नो व्यवसाय असुरक्षित बनेकोले केही समयसम्मको निम्ति च्यानलहरू बन्द गरेको बताए। तिनले मुख्यगरी केटीभी अनि दैनन्दिनीबारे गोजमुमोबाट ‘कम्प्लेन’ आएको अनि यी च्यानलहरूले पार्टीलाई हानि गर्ने समाचार प्रसारण गरेको कारण आफूमाथि दवाब भएको बताए। तिनले भने, यी च्यानलहरू पञ्जिकृत होइनन्‌। केबलको मालिक म हुँ। मेरो व्यवसायलाई प्रभाव पार्ने परिस्थिति देखियो। मुद्दा हाल्ने कुरा भइरहेको सुनें। सिब्सुबाट विमल गुरूङले पनि ती च्यानलमाथि टिप्पणी गरेको पनि सुनें। अहिले परिस्थिति बिग्रिरहेको छ। म वास्तविकता छानबिन गर्छु। पार्टीसित पनि बस्छु। कुरा बुझेर कसरी कसैलाई असर नगर्ने प्रोग्राम देखाउन सकिनेछ, पछिबाट फेरि त्यही हिसाबमा च्यानलहरू प्रसारणमा आउनेछ।

केही समयको निम्ति कुनै पनि समाचार च्यानल प्रसारण हुनेछैन। मुद्दा हाल्ने सन्दर्भ के हो भनि प्रश्न गर्दा, आफूलाई त्यसबारे कुनै जानकारी नभएको तिनले बताए। तर कुनै पनि च्यानलहरूमाथि मुद्दा हालेमा त्यो मुद्दा च्यानललाई नलागेर आफूलाई लाग्ने भएकोले नै सतर्कता अप्नाइएको तिनले बताए। कालोबुङमा तिनको क्याबलले ‘भी’ अनि ‘जीन्यूज’ को ठाउँमा स्थानीय समाचार प्रसारण गर्ने गरेकोले कोही पनि ‘भी’‘जीन्यूज’ले केबल मालिकलाई मुद्दा हाले मुद्दा लाग्ने भएकोले नै केबल मालिकले लोकल च्यानल बन्द गरेको हुन सक्ने कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीको भनाइ रहेको छ।

तिनले पार्टीले च्यानल बन्द गर्नु भनेर कसैलाई नभनेको र कसैलाई दवाब नदिएको पनि बताए। यही कुरा केबल मालिक सैनीसित राख्दा तिनले डा. हर्कबहादुर छेत्रीलाई कुनै कुरा थाहा नभएकोले यसो भनेको हुन सक्ने बताए। तरै पनि तिनले पनि पार्टीबाट कुनै पनि दवाब नआएको कुरा भने स्वीकार गर्दै केवल व्यवसाय चौपट हुनसक्ने अनि लाखौंको हानी हुन सक्ने भयले नै अहिलेलाई केहीदिनको निम्ति च्यानल बन्द गरेको बताए। कालेबुङको इतिहासमा च्यानल बन्द गर्ने परम्परा भने नौलो होइन। गोरामुमोकालमा पनि समाचार प्रसारणमा लगातार रोक लगाइने गरेको थियो। यता हिजो विमल गुरूङले भने च्यानलहरूसित कुनै गुनासो नरहेको भए पनि निकृष्ट भाषामा बोल्नेहरूको संवाद छॉंट कॉंट गरेर देखाउनुपर्ने बताएका थिए।

केबल मालिकको आफ्नो इच्छामा भरपर्ने च्यानलहरू 2007 देखि नै चलिरहेको थियो। शुरूमा च्यानल शुरू गर्न च्यानल चलाउन पत्रकारहरूलाई केबलको पक्षबाट सहयोग राशि दिने गरिएको थियो तर अहिले पत्रकारहरूले नै समाचार प्रसारण गरेको रेण्ट तिर्नुु परिरहेको थियो। समाजिक, राजनैतिक अनि अन्य क्षेत्रका ज्वलन्त मुद्दाहरूलाई प्रसारण गरेर कालेबुङका जनतालाई सचेत गराउने कार्य गरिरहेका ती च्यानलहरू भने अब निष्पक्षरुपले चल्न नसक्ने स्पष्ट भएको छ। यता सामाजिक कार्यक्रमहरू भने देखाउन पाउने तर दैनन्दिनी र केटीभीले भने त्यो पनि देखाउन नपाउने पनि केबल मालिक सैनीले बताएका छन्‌। यता केहीदिनदेखि पत्रकारहरूमाथि राजनैतिक चाप परिरहेको भए पनि कुनै पनि पत्रकारहरूको संस्थाले भने मुख खोलेको छैन।

0 comments: on "कालेबुङको 5 वटा न्यूज च्यानल प्रतिबन्धित"