मुख्य समाचार :


अविवेकी बाझोले मुद्दालाई नै खति गरिरहेछ सी.के.श्रेष्ठ

मनोज वोगटी
कालेबुङ,10 फरवरी|
मुख्य गरी विमल-छत्रको वाक युद्धले मुद्दालाई फाइदा भन्दा पनि धेर हानि पुर्‍याइरहेको सचेतवर्गले अनुभव गरिरहेको बेलामा राजनैतिक सचेतक एवं बुद्धिजीवी सी.के श्रेष्ठले गोर्खाल्याण्ड मुद्दाको पवित्रतालाई नष्ट हुन दिनु नहुने बताएका छन्| यस सन्दर्भमा तिनले भने, लोकल राजनीतिको हिले मैदानमा खेल्ने झुम्राको गोली होइन गोर्खाल्याण्ड|
न त यो चुनाउको बाघचालमा चालिने गोटी नै हो| यसको आफ्नो गरिमा छ| आफैले यसको महत्व राख्न सक्यौं भने मात्र अरुले पनि महत्व राख्नेछन्| गोर्खाल्याण्ड गोर्खा जातिको जनाकांक्षा हो| गोर्खाल्याण्ड नचाहने कोही पनि छैनन्| के गोजमुमो के क्रामाकपा, के गोर्खा लीग के कंग्रेस, के गोरामुमो के गोरानिमो, के भाजपा के भागोप सबैसबै नै चाहन्छन् गोर्खाल्याण्ड| यो चाहना नै समर्थन हो अनि समर्थन नै जनशक्ति हो| गणतन्त्रमा जनशक्ति सबैभन्दा बहुमूल्य राजनैतिक हतियार हो| यही हतियारको भरमा राष्ट्रिय अखाडामा संवैधानिक संघर्षमा उत्रिनुपर्नेमा घरभित्रै आपस्तमै पट्टा खेलेर आफ्नो शक्ति पनि क्षीण अनि हतियार पनि भुत्ते बनाउने काम गर्नु हुँदैन| श्रेष्ठले पहाडमा अहिले घरभित्र नै लड्ने परिस्थिति जन्माइएको बताउँदै यस्तो कार्य ले मुद्दालाई नै हानि हुने बताए| तिनले अझ भने, यो अविवेकी बाझोले अरुलाई भन्दा पनि मुद्दालाई नै धेर खति गरिरहेछ| त्यसैले पार्टीका अनि समाजका उत्तरदायित्वशील विवेकी अगुवाहरुलाई वाणीमा संयम अनि विचारमा सन्तुलन राख्ने विनम्र आग्रह राखिन्छ|
तिनले राजनैतिक दलहरुका आफ्ना वाध्यताहरु रहेको कुरा सबैलाई थाहा भएको अनि पार्टी क्याडर अनि समर्थकहरुलाई थम्थम्याएर सन्तुष्ट राख्नुलाई, पार्टीको जनाधार अक्षुण्ण राख्नुुलाई साथै पार्टीको जिउँदोपन प्रमाण गर्नुलाई पनि समय-समयमा चाखिलो, रहस्यमय अनि उत्तेजक बयानहरु दिँदै गर्नुपर्ने बताउँदै राष्ट्रका सबै पार्टीहरुले पनि त्यसै गर्ने अनि राजनीतिमा यो कुनै नराम्रो कुरा नरहेको तर यस्ता बयानहरुद्वारा विपक्षलाई कटाक्ष हान्दा मुद्दालाई नै खति गर्ने काम चाहिँ कदापि गर्न नहुने बताए| तिनले भने, आफ्नो स्तर अनुसार सिद्धान्तगत, पार्टीगत र मर्यादित हदसम्म व्यक्तिगतसम्म पनि टीका-टिप्पणीको राजनीतिमा छूट छ| तर विपक्षलाई ढाल्ने प्रक्रियामा, तथ्यविहीन झटारो मात्र भएपनि, गोर्खाल्याण्डको मुद्दालाई आतंकवाद र माओवादसित जोड़्दा गोर्खा विरोधी ताकतहरुको हातमा मुद्दालाई नै ठोक्ने गतिलो डण्ठा दिँदैछौं भन्ने कुरो हामीले भुल्नु हुँदैन| कारण, यो कुरो पनि हामीले भुल्नु हुँदैन, सरकारको अनि विरोधीहरुको नजरमा गोर्खाल्याण्ड माग्नेहरु सबै एकै हुन्|
श्रेष्ठले अझ भने, हामी यदि मुद्दाप्रति समर्पित् छौं भने यो ‘नहले पे दहला ’ संस्कार र ‘ तत्काल प्रतिक्रिया ’-को प्रवृत्तिलाई पनि त्याग्नैपर्छ| तिम्रो त पूच्छर उम्रेछ भनेर कसैले उट्पटांग अनि अनुचित टिप्पणी गर्छ भने ए हो र भाइ... मलाई त पत्तै थिएन.. भन्दा टरिहाल्ने कुरो हो| कारण तथ्य के हो त्यो सर्वविदित छ| तर ‘ पूच्छर कहॉं उम्रियो देखा, प्रमाण गर्, होइन भने मुद्दा हाल्छु’ भन्नेपट्टि गयौं भने धेरै लामो चल्ने राजनैतिक धारावाहिकको प्रशस्त सम्भावना जन्मिन्छ| तिनले त्यसै पनि गोर्खाल्याण्डको मुद्दा कचहरीको मुद्दातिर नफँसेको बेस रहेको बताएका छन्| त्यसैले समाजका बौद्धिक जमातलाई पनि यो अर्थहीन दन्तबझानबाट माथि उक्लिएर अघि बढ्ने प्रयासमा नै आफ्नो उर्जा खर्चिने करवद्ध अनुरोध पनि तिनले गरेका छन्| धरातलीय यथार्थकै कुरो गर्न हो भने आज बाझेर-जुझेर एकार्काको कटु आलोचना गर्नेहरु एक समयमा कुनै न कुनै मोडमा हातेमालो गरेर संगै हिडेको बताउँदै तिनले भने, यो पनि अकाट्य छ, भविष्यमा कुनै मोडमा गएर फेरि साथमा हिँड्नै पर्छ| कारण, जबसम्म भारतका सम्पूर्ण गोर्खाहरु, एक मन एक प्राण भएर, एउटै विचारको अंगालोमा बॉंधिएर लामवद्ध हुँदैनन् तबसम्म गोर्खा जनाकांक्षापूर्तिको मुद्दाले सफलताको उज्यालो देख्न पाउने छैन| त्यसैले त्यही दिनलाई ध्यानमा राखेर आज शत्रुता पनि यस्तो नगरौं कि भोलि मित्रता गर्ने कुनै आधार नै नरहोस्|
तिनले सबै अगुवाहरुलाई वाणीमा संयमको अनुरोध गरे झैं मिडियाकर्मीहरुलाई पनि लेखनमा संयम अनि विचारमा सन्तुलनको सविनय निवेदन गरेका छन्| तिनले भने, यसको अर्थ प्रेस सम्झौतावादी र निम्छरो हुनुपर्छ भनेको होइन| खबरको हिसाबले ‘मान्छेले कुकुर टोक्यो’ भन्ने खबर पढ़्नेहरुको निम्ति अत्यन्त चासोपूर्ण खबर हो| तर त्यही खबरलाई ‘देशका कुकुरहरुको भविष्य भारी संकटमा’ जस्ता अतिरञ्जित शीर्षकहरुले खबरलाई सनसनीपूर्ण र मसालेदार त बनाउँछ तर वस्तुस्थितिको सही प्रस्तुति भने गर्दैन| यस्ता कुराहरुदेखि जोगिनै पर्छ | तर सामाजिक अनि राजनैतिक मर्यादा उल्लंघन भएको स्थितिमा भने निर्भय भएर उभिनै पर्छ पत्रकार जमात| नभए व्यवस्था पंगु अनि गणतन्त्र धराशायी बनिनेछ| श्रेष्ठले आफू पनि पत्रकारितासित सम्बन्धित् भएको बताउँदै आज पहाडको पत्रकारितामा उत्तरदायित्वशील अनि सुदक्ष युवा पत्रकारहरुको उपस्थितिलाई अत्यन्त आशाजनक अनि आनन्ददायक बताए|यस सम्बन्धमा बोल्दै तिनले भने, धेरै कम उमेरमा नै समाज र राजनीतिका निगूढ़ तत्वहरुलाई विश्लेषण गर्ने क्षमता भएका यी पत्रकारहरु नजरअन्दाज गरिन नहुने जातीय आन्दोलनका सबल स्तम्भहरु हुन्|
तिनले अझ भने,‘चेताउनीवाद’ र ‘फरमानवाद’-को आँधीमा पनि विचलित नबनी कर्त्तव्य निर्वाह गर्ने गणतन्त्रका मशालवाहक यी पत्रकारहरुलाई सभ्य समाजले ‘श्याबासी’ मात्र होइन ‘सुरक्षा’ पनि प्रदान गर्न सक्नुपर्छ|

0 comments: on "अविवेकी बाझोले मुद्दालाई नै खति गरिरहेछ सी.के.श्रेष्ठ"