मुख्य समाचार :


‘छुट्टै राज्य नभएसम्म मजदुरहरूको समस्या सुल्झिँदैन’

प्रज्ज्वल छेत्री
कालेबुङ,21 जनवरी।
जबसम्म हाम्रो आफ्नै विधानसभा हुँदैन, जबसम्म कानून बनाउने अधिकार हामीसँग हुँदैन, जबसम्म हाम्रो भूभागको मालिकाना हक हामीमा हुँदैन, जबसम्म हाम्रो छुट्टै राज्य हुँदैन दार्जीलिङ-पहाडको श्रमिकहरूको समस्या समस्या नै भएर रहनेछ। छुट्टै राज्य नभएसम्म मजदुरहरूको समस्या सुल्झिँदैन। आज स्थानीय रामकृष्ण रङ्गमञ्चमा सम्पन्न जुस्लोको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै विशिष्ट अतिथिको पक्षबाट मोर्चा उपाध्यक्ष कल्याण देवानले यसो भने। छुट्टै राज्य भएको खण्डमा मात्र श्रमिकहरू, मजदुरहरू लगायत वेरोजगारहरूको समस्या समाधान हुनेकुरामा देवानले जोड दिए। तिनले भने, जीटीए मोर्चाको प्रस्ताव थिएन, सरकारको प्रस्ताव थियो। जीटीएमा पनि सरकारले कतिको इमान्दारिता दर्शाउँदैछ हामी राम्ररी धर्यतापूर्ण हेरी मात्र राखेका छौं। फेरि पनि हामीसँग विश्वासघात भए आन्दोलनमा उत्रनै पर्छ। जुल्बोको स्थापना दिवसमा मुख्य अतिथिको रूपमा उपस्थित नारी मोर्चा कोर कमिटी सदस्य ननिता गौतम अनि विशिष्ट अतिथि कल्याण देवानलाई मजदुरहरूको हक-हीतको निम्ति गोजमुमोले केही गरिदिने आशा रहेको कार्यक्रममा कसैले सम्बोधन गरिरहेका थिए भने प्रत्युत्तरमा देवानले भने, हामी मजदुरहरुको नीति निर्धारण गर्ने व्यक्ति होइनौं। हामी एकाअर्कालाई आन्दोलनकारीको रूपमा हेरौं। हामीसँग सरकारले फेरि पनि विश्वासघात गरे आन्दोलनमा उत्रनै पर्छ। यति हो आन्दोलनकारीको हैसियतमा हामी सरकारलाई चाप सृष्टि गरेर श्रमिकहरूको निम्ति सरकारलाई नीति निर्धारण गराउन भने बाध्य गराउन सक्छौं। पश्चिम बङ्गालभरिकै मजदूरहरूले न्याय पाउन नसकेको कुरा बताउँदै तिनले आफ्नै ठाउँ मजदूरहरूको पनि आफैहरूले न्याय दिन नसिकरहेको बताए। जुस्लोले पालन गरेको चौथो स्थापना दिवस कार्यक्रममा जुस्लो केन्द्रिय समितिका पदाधिकारीहरूदेखि लिएर, जिल्लाभरिका जुस्लो अन्तर्गत विभिन्न सेक्टरका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो। कन्सट्रक्सन सेक्टरबाट बोल्दै सत्येन गिरीले जीटीएमा श्रम विभागसँगै त्यसै अन्तर्गत रहेको बिल्डिङ एण्ड अदर कन्सट्रक्सन बोर्ड आउनपर्ने बताए। अहिले पश्चिम बङ्गाल अन्तर्गत पर्ने उक्त बोर्ड जीटीएभित्र आए मदजुरहरूको निम्ति पेन्सन,  अन्य थुप्रै सहुलियतहरू मजदुरहरूले पाउने बताए। मुख्य अतिथिको पक्षबाट बोल्दै नारी मोर्चा कोर कमिटी सदस्या ननिता गौतमले मजदूरहरूले आफैले आफैलाई दलित शोषित सम्झनु नहुने बताए। एउटा माचिसकोे सिन्कामा पनि धेरै तागत हुने बताउँदै मजदुरहरूको आर्थिक अवस्थामा सुधार आउन हो भने चेतनाको विकास हुन जरूरी रहेको बताइन्‌।  आफूले परिश्रमलाई श्रद्धा गर्ने बताउँदै मजदुरहरूले गरेको नेतृत्व  निस्वार्थविहिन रहेने बताइन्‌। जुस्लो केन्द्रिय समिति अध्यक्ष डेविड राईले नयॉं व्यवस्थामा केही भुक्तभागी हुनुनहुने बताए। कसैलाई भुक्तभोगी नहोस्‌ भनेर नै गोजमुमोले विभिन्न पहलहरू गरिरहेको बताउँदै गोजमुमोको भएभर प्रंशसा गरे। जुस्लोको आजको स्थापना दिवस कार्यक्रममा   विभिन्न क्षेत्रका मजदुरहरूको व्यापक उपस्थिति रहेकोे थियो भने जिल्लाभरिबाट जुस्लो प्रतिनिधिहरू भेला भएको थिए। एसिस्टेन्ट लेवर कमिश्नर टीआई शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा  जुस्लो महकुमा समिति साङ्गठानिक सचिव श्याम गुरूङले स्वागत सम्भाषण राखि कार्यक्रम आरम्भ भएको थियो। कार्यक्रममा मजदुरहरूको भोगाइलाई केन्द्र गर्दै  बनाएको नाटक प्रस्तुतिसँगै गीत अनि नृत्यहरूको कार्यक्रमको रौनकता बढाएको थियो।  जुस्लो केन्द्रिय समिति सचिव प्रयास तामाङले जुल्बोले श्रमिकहरूको हीतमा गरेको कार्यबारे जानकारी गराउँदै वार्षिक प्रतिवेदेन प्रस्तुत गरेका थिए भने जुस्लो महकुमा समिति अध्यक्ष डीबी प्रधानले धन्यवाद ज्ञापन गरे। कार्यक्रमलाई अन्य अतिथिहरूसँगै जकस अध्यक्ष  खडक विक्रम सुब्बाले पनि सम्बोधन गरेका थिए भने सोही कार्यक्रमबीच बाल साहित्यको निम्ति शिवु छेत्रीलाई जुस्लोले सम्बर्द्धना जनाउँदै नगद पॉंच हजार रूपियॉं पनि अतिथिहरूके बाहुलीबाट प्रदान गरियो।

0 comments: on "‘छुट्टै राज्य नभएसम्म मजदुरहरूको समस्या सुल्झिँदैन’"