मुख्य समाचार :


कृषकहरूलाई ठग्दैछ दागोपापले कृषि विकासको निम्ति करोडौं रुपियॉं प्रयोग नगरेको खुलासा

अलैंचीको लिलाम गर्दै अधिकारीहरू
मनोज वोगटी
कालेबुङ,21 जनवरी।
पहाडको प्रशासन रहेको दार्जीलिङ गोर्खा पार्वत्य परिषद्ले कृषकहरूको निम्ति अहिलेसम्म कुनै पनि योजना कार्यान्वयन नगरेको कुरा खुलासा भएको छ। दागोपाप कृषकहरूलाई लिएर संवेदनशील छैन। न त दागोपापले कुनै कृषि योजना नै तयार पारेको छ। राज्य सरकारद्वारा कृषकहरूलाई उपलब्ध गर्ने योजना र सहुलियतहरूको त कुरै छैन, केन्द्रबाट आएको सहुलियतहरू पनि कृषकहरूले पाएका छैनन्‌।  प्राप्त जानकारी अनुसार दागोपापमा 2006-7 को निम्ति नेश्नल हर्टिकल्चर मिशनबाट कृषकहरूको निम्ति 1 करोड 85 लाख रुपियॉं सव्सिडीकोरुपमा दिइएको थियो। कालेबुङ कृषक कल्याण सङ्गठनले दाबी गरे अनुसार यत्रो राशि दार्जीलिङका कृषकहरूलाई उपलब्ध गराइएन। कहॉं गयो त यत्रो राशि? उत्तर कोहीसित छैन। यस सम्बन्धमा दागोपाप सम्बन्धित अधिकारीहरूसित सम्पर्क गर्न चाहेर पनि सम्पर्क हुन सकेन। कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले जनाए अनुसार सङ्गठनले यस सम्बन्धमा निकायसित हजारौं पल्ट उजुरी गरिसकेको छ। तर कतैबाट पनि यस राशिको प्रयोगबारे ठीक जवाब आएको छैन। नेश्नल हर्टिकल्चर मिशनले यो राशि दार्जीलिङका साना कृषकहरूको निम्ति प्रदान गरेको थियो। तर दागोपापले कुनै पनि सम्बन्धित निकायद्वारा राशि प्रयोगमा ल्याएन। जानकारले बताए अनुसार प्रयोग नभएकोले यो राशि मिशनमा नै फर्किएको छ। यता अचानक दागोपापले जिल्लाका कृषकहरूप्रति संवेदनशील बनेको नाटक गर्दै लाखौं रुपियॉंमा उपलब्धीहीन मेला भने भर्खरै आयोजना गर्‍यो। मेलाको निम्ति कति खर्च गरियो भन्ने कुरा पनि दागोपापले सार्वजनिक गरेको छैन। 2006-7-को निम्ति आएको 1 करोड 85 लाख रुपियॉंको प्रयोग-प्रमाण नपठाएकोले 2011 सम्म नै मिशनले दार्जीलिङका कृषकहरूको निम्ति राशि आवन्टन गर्न सकिरहेको छैन। करोडौं रुपियॉंले पहाडको कृषि क्षेत्रलाई लाभ पुग्ने भए पनि दागोपापले कृषकहरूलाई उनीहरूको अधिकार नै खोसेको कृषकहरूको भनाइ रहेको छ। दागोपाप आफै कृषकहरूको अहीतमा रहेको यसै काण्डबाट स्पष्ट भएको बेलामा अचानक किन कृषकहरूप्रति दागोपाप निक्कै संवेदनशील बन्दै मेला गर्‍यो यसको रहस्य खोलिएको छैन तर दागोपाप मार्फत आउने कुनै पनि सहुलियत भने कृषकसम्म पुगेको छैन। यसैगरी राष्ट्रिय कृषि विकास योजना पनि दागोपापले जिल्लामा लागू गरेको छैन। न त राष्ट्रिय औषधी मिशनलाई नै प्राथमिकता दिएको छ। राष्ट्रिय वारटशेड योजना धेरैवर्षदेखि लागू भएको छैन। यसको निम्ति आएको राशिमा पनि घोटलाको गन्ध आइरहेको छ। किन भने 2007-8 मा कालेबुङको डुंग्रा अनि पुदुङमा सिञ्चाइ योजनाको निम्ति  केवल पहिलो चरणमा मात्र 34 लाखको कार्य शुरु भएको थियो त्यहॉंको कृषिलाई व्यापकता दिनको निम्ति राष्ट्रिय वाटरशेड योजना अनुसार राशि अनुमोदन भइसकेको छ तर सिञ्चाई योजनासित संलग्न रहेको कमिटीलाई दुइ लाख रुपियॉं दिएपछि अरु राशि कार्य अघि बढाउनको निम्ति दागोपापले दिएन। दागोपापले आएको राशिमा कञ्जुस्याइ गरेकोले यो योजना अहिलेसम्म थॉंतीमा रहेको छ। सम्बन्धित निकायसित कुरा गर्दा दागोपापबाट नै राशि नआएकोले काम अघि नबढेको हो। पुरानो कार्यभाव अनुसार काम चलिरहेकोले सोही रकमबाट अहिलेको दरभाव अनुसार कार्य गर्न सक्ने हो होइन भन्ने कुरामा अन्योलता देखापरेको पनि बुझिएको छ। तर दागोपापलाई विभागहरूले यस सम्बन्धमा जनाउ गर्दा पनि दागोपाप मौन बसेको पनि थाहा लागेको छ। पुदुङमा 500 हेक्टर जमीनमा वाटरशेड योजना शुरु गरिएको थियो। योजना सफल बनेको भए त्यस क्षेत्रका कृषकहरूले सिञ्चाइको सुविधा प्राप्त गर्ने थिए तर दागोपापको आएको राशिको प्रयोग नगरेकोले कृषकहरूले अझ पनि सिञ्चाइको समस्या भोग्न परिरहेका छन्‌। यति मात्र होइन दागोपापले महात्म गान्धी राष्ट्रिय स्वरोजगार अधिनियमबाट पनि कृषकहरूलाई कुनै  सहुलियत प्रदान गरिरहेको छैन। 2008 देखि यो अधिनियम अनुसार किनारीकृत कृषकहरूलाई व्यक्तिगत सहुलियत प्रदान गरिएको छ, जसद्वारा किनारीकृत कृषकले आफ्नो कृषि अनि बारी व्यवस्थापन गर्नुपर्छ। तर दागोपापले यो अधिनियम अन्तर्गतको यो सहुलियत अहिलेसम्म नै कार्यान्वयन गरेको छैन। राष्ट्रिय कृषि विकास योजना अनुसार कृृषकहरूको निम्ति कृतिम प्रजनन वीर्य केन्द्रद्वारा सहुलियत प्रदान गर्नु पर्ने हो। केन्द्रबाट लिएको वीर्यवाट जन्मिएको बाछी हुर्काउन तीनवर्षसम्म खर्चपात बेहोर्नु पर्ने हो तर कालेबुङ कृषक कल्याण सङ्गठनले बताए अनुसार यो सुविधा पनि दागोपापले कृषकहरूलाई दिएको छैन। न त  गरीबीरेखामुनीका महिलाहरूलाई अण्डा उत्पादनको निम्ति वितरण गरिने चल्लाहरू नै उपलब्ध गराएको छ। यस योजना अनुसार दागोपापमा राशि आएको एकवर्ष भयो तर महिलाहरूले सहुलियत प्राप्त गर्न सकेका छैनन्‌। लाखौंको मेला चॉंही गर्ने तर कृषकहरूलाई भनेर आएको राशि भने प्रयोग नगर्ने दागोपापलाई दार्जीलिङ जिल्लाका कृषकहरूले ठग र धुर्त प्रशासनको संज्ञा दिन थालेका छन्‌।

0 comments: on "कृषकहरूलाई ठग्दैछ दागोपापले कृषि विकासको निम्ति करोडौं रुपियॉं प्रयोग नगरेको खुलासा"