मुख्य समाचार :


489 रिक्त पद्मा 269 एडहकलाई नियुक्ति दिइने दोस्रो चरणमा भोलेन्टियरको पालो

मनोज वोगटी
कालेबुङ,21 जनवरी।
मोर्चा प्रवक्ता एवं विधायक डा. छेत्री
कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले दागोपापका एडहक शिक्षकहरूलाई बधाई दिएका छन्‌। किन भने अब एडहकहरूको नियुक्तिको चरण शुरु हुनेछ। डा. छेत्रीले जनाए अनुसार हिजो लगायत अहिलेसम्म तीन चरणसम्म शिक्षक नियुक्तिको समस्यालाई लिएर बसेको बैठकले अन्तिम निचोड निकालेको छ। स्कूल सर्विस कमिशनको चेयरम्यान, पब्लिक सर्विस कमिशनको चेयरम्यान, डाइरेक्टर अव एडुकेशन लगायत विधायक अनि जेएसटीओका प्रतिनिधिहरूले कोलकातामा बसेको बैठकमा सहमति भए अनुसार सरकारले दागोपापको एडहक शिक्षकहरूको नियुक्ति प्रक्रिया शीघ्र नै शुरू गर्नेछ। दार्जीलिङ जिल्लामा रहेको शिक्षक नियुक्तिको गम्भीर समस्यालाई केन्द्र गर्दै सरकारी प्रक्रिया अनुसार नियुक्ति नगरेर त्यो भन्दा अघि एडहक शिक्षकहरूलाई नियुक्ति गरिहाल्नुपर्ने स्थिति रहेकोले वन टाइम सोल्युसनको विधि अप्नाएको विधायक डा. छेत्रीले बताएका छन्‌। तिनले भने, दार्जीलिङमा दागोपाप र गोरामुमोले यति धेरै मैला गरेको छ, त्यसको सफाई गर्दैमा गोजमुमो ठीक्क भइरहेको छ। तर समस्याको समाधान गर्नै पर्छ। यसैकारण तीन चरणसम्म यस सम्बन्धमा शिक्षामन्त्री लगायत सम्बन्धित अधिकारीहरूसितको बैठकपछि मोठ 489 वटा रिक्तपदमा 269 जना एडहकलाई नियुक्ति दिइने सहमति भएको छ। तिनले बताए अनुसार यसमा सबैप्रकारका पाठशालामा एडहक गर्दैरहेकाहरूलाई नियुक्ति दिइनेछ।  दोस्रो चरणमा भोलेन्टियर शिक्षकहरूलाई नियुक्ति गराउने पहल गरिने तिनले जनाएका छन्‌। मोठ 489 पदमा 269 पदमा एडहकलाई नियुक्ति दिइएपछि रहेको 120 वटा पदमा एसएससी उतीर्ण गर्नेहरू अनि विभिन्न सरकारी-गैरसरकारी स्कूलहरूमा शिक्षण कार्य गरिरहेकाहरूलाई दोस्रो चरणमा नियुक्ति दिइने डा. छेत्रीले बताएका छन्‌। छेत्रीले बताए अनुसार पहिलो चरणको नियुक्तिको निम्ति जिल्ला निदेशकले 10 दिनभित्र नै दागोपाप शिक्षा पर्षदलाई पत्र लेख्नेछन्‌। यसै पत्रको आधारमा दागोपाप शिक्षा सचिवले वोर्ड अव्‌ एड्‌मिनिष्ट्रेशनलाई पत्र लेख्नेछन्‌। यही पत्रको आधारमा नै वोर्ड अव्‌ एड्‌मिनिष्ट्रेशनले बैठक गरेपछि लिइएको प्रस्ताव पश्चिम बङ्गाल शिक्षा विभागलाई पठाइने छ। यो प्रस्ताव शिक्षा विभागले पाउने वित्तिकै सरकारीरुपमा नियुक्तिको प्रक्रिया शुरू हुने डा. हर्कबहादुर छेत्रीले बताएका छन्‌। तिनले लगाएको हिसाब अनुसार हो भने अबको एक महिनाभित्रमा सरकारले नियुक्तिको प्रक्रिया शुरू गर्नेछ। तिनले भने, यो नियुक्तिपछि रहेका पदहरूमा भोलेन्टियरलाई नियुक्त गरिनुपर्ने सम्बन्धमा हामी कुरा उठाउने छौं। यसकारण भोलेन्टियरहरू निराश हुनुपर्दैन। तिनले अझ थपे, अब नियुक्तिको फाटक खोलिएको छ।  तिनले बताए अनुसार दार्जीलिङ जिल्लामा 266 जना भोलेन्टियर शिक्षकहरू छन्‌। डा. छेत्रीले बताए अनुसार मोर्चाले अहिले गोरामुमोले पारेको मैला सफा गरिरहेको छ। दागोपापले  न त सरकारी प्रक्रिया अनुसार नियुक्ति दिएको छ, न त विद्यालयहरू नै बढोत्तरी गरेको छ। न त सरकारी प्रक्रिया अनुसार हुने नियुक्तिलाई स्वीकार गरेको छ। गारोमुमोले 1 जना सरकारी शिक्षकको नियुक्तिको पैसाले चार जनालाई अस्थायीरुपले नियुक्ति दिएर समर्थक बटुल्ने कार्य गरेकोले नै यो समस्या बढेको हो।

0 comments: on "489 रिक्त पद्मा 269 एडहकलाई नियुक्ति दिइने दोस्रो चरणमा भोलेन्टियरको पालो"