मुख्य समाचार :


मोर्चा विकल्प र हल्लाको राजनीति

पुरानो बोतलमा पुरानै रक्सी?
कालेबुङ, २५ जनवरी|
श्री कृष्णले जब जब अधर्म बढ्छ तब आफ्नो अवतार हुने कुरा गरेका छन्| तिनको यो कुटनैतिक दर्शन जब राजनीतिमा हाबी हुन्छ, तब त्यसले विनाश बाहेक केही नल्याएको इतिहास भारतीय गोर्खाहरुसित रहेको छ| दार्जीलिङमा पनि अहिले वैकल्पिक राजनीतिको हावा चल्न शुरू भएको छ| जब गोरामुमोले एकछत्र राजनैतिक ताण्डव आँखा चिम्लेर अघि बढायो तबदेखि नै गोरामुमोको विकल्पको सोंच विकास भएको हो| तर जब गोराममोको विकल्पमा गोजमुमो आयो, तब सबैले अधर्म नाशक श्रीकृष्णको त्यही वाणी सम्झिएका थिए| गोजमुमोमाथिको आस्था जनतामा त्यति नै तीब्र थियो, जति कुनै समय गोरामुमोमा थियो| त्यही जनता त्यही राजनैतिक संस्कारसित नै गोजमुमोमा सरेपछि गोजमुमोले पनि जनाकांक्षित दिशालाई गम्भीररुपले पक्रिन अघि नै गोजमुमोलाई कँज्याउने राजनीति केन्द्र र राज्यले खेलिसकेको थियो| अहिले गोजमुमोले पनि त्यही गोरामुमो कै ‘डायलग’दोहोर्‍याउन थालेपछि अहिले एकछत्रवादी राजैतिक संस्कारको विरोधमा बसेकाहरूबाट ‘विकल्प’को खोज शुरु भइरहेको छ|

जसरी गोरामुमोले छुट्टै राज्यको मुद्दालाई जनतामा राखेर समर्थन बटुल्ने काम भयो, त्यसरी नै गोजमुमोले पनि त्यही समर्थन बटुल्यो| जसरी गोरामुमोले त्यही जनसमर्थनको बलमा दार्जीलिङको समस्यालाई अघि राखेर छुट्टै राज्यको मुद्दा अघि सार्‍यो, त्यसरी नै गोजमुमोले पनि दार्जीलिङ कै समस्यालाई अघि राखेर छुट्टै राज्यको आन्दोलन गर्‍यो| क्षेत्रीय समस्याको निम्ति नै आन्दोलन गरिएको हो भन्ने कुरा जसरी गोरामुमोलाई थाहा थिएन त्यसरी नै गोजमुमोलाई पनि थाहा थिएन| क्षेत्रीय समस्या मिसाएर छुट्टै राज्यको आन्दोलन गरिएको कारण नै छुट्टै राज्यको मुद्दाको समाधान होइन दार्जीलिङको समस्याको समाधानको बाटो पहिलो खोजियो| यस कै फलस्वरुप गोरामुमोले दागोपाप अनि गोजमुमोले जीटीए परिणामको रुपमा इतिहास बनाएको छ| अब क्षेत्रीय समस्यालाई देखाएर गोर्खाहरूको राष्ट्रिय मुद्दालाई दबाउने आन्दोलनको क्रम भङ्ग गर्नु हुँदैन भन्ने सोंचको पनि निर्माण हुँदै गइरहेको छ|

अहिलेसम्म भएको आन्दोलन क्षेत्रीय समाधानकै आकांक्षामा रहेको कुराहरूको प्रमाण जुटाउने कार्य भइरहेको छ| अब क्षेत्रीय होइन राष्ट्रियरुपको आन्दोलन हुनुपर्ने मानिकताको विकास भइरहेको छ| गोर्खाल्याण्ड टास्क फोर्स, जसले धेरैलाई आफ्नो राष्ट्रियरुपको आन्दोलनमा साथ राख्न सकिरहेको छैन, यसकारण गोटाफो पनि सीमित नेतृत्वशक्तिले राष्ट्रियरुपको आन्दोलनको निम्ति तयारी भइरहेको देख्दा परिवर्ति सोंचमा छुट्टै राज्यको आन्दोलन हुनुपर्ने विचारमा रहेकाहरूले झट्ट विस्वास गर्न सकिरहेको छैन| त्यही-त्यही अनुहारहरू अनि त्यही पुरानै रट्मा गोटाफोले चालिरहेको राजनैतिक कदमभित्रको ‘दम’ नाप्नेहरूको जमात पनि उत्तिकै रहेकोले दार्जीलिङको अर्को वैकल्पिक शक्तिकोरुपमा गोटाफोले ठाउँ बनाउन कस्तो कार्यरुप अघि ल्याउने हो भन्ने कुरा चलिरहेको छ| यता अजय दाहालपछि छत्र सुब्बा समेत लागेर फेरि राजनैतिक विकल्पकै कुरा गरिरहेकोले उनीहरूको राजनैतिक सोंचको धरातल जीटीएको विरोधबाट निर्माण हुने छॉंटकॉंट देखाएको छ| जसरी दागोपापको विरोधबाट गोरामुमोक विकल्पमा गोजमुमो जन्मियो त्यसरी नै जीटीएको विरोधमा फेरि अर्को मुमो जन्मिन सक्ने छत्र सुब्बा र अजय दाहालले स्पष्ट पारेका छन्| यस कारण जुनै पनि विकल्पको हल्ला चलेपनि दार्जीलिङको ८ लाख जनतालाई नै ताकेर उनीहरूको राजनैतिक पृष्ठभूमि निर्माण हुने देखिएकोले दार्जीलिङमा चल्मलाइरहेको वैकल्पिक राजनीतिको धार भुत्ते नै रहेको स्पष्ट भइरहेको छ| देशभरिका करोड गोर्खाहरूलाई आधार गरेर देशमा नै एक शक्तिशाली गोर्खाब्राण्डको विकल्पबारेमा सोंच्नै नसकनेहरूले राजनीतिलाई खाने भॉंडाकोरुपमा भावानत्मकरुपले विकास गरिरहेको राजनैतिक सचेतहरूको निचोड छ| विकल्प जस्तो कुरा मोर्चा र जीटीएको हो भने उसको राजनैतिक दर्शनको बीऊ उम्रन अघि नै कुहिएको हुने विश्‍लेषकहरूको दह्रो ठनाइ छ|     

0 comments: on "मोर्चा विकल्प र हल्लाको राजनीति"