मुख्य समाचार :


सरकारी योजनाबाट दार्जीलिङ बाहिर ग्यास र सेतो मट्टितेल सम्बन्धमा माकपाको अर्को खुलासा



कालेबुङ,13 जनवरी।
दार्जीलिङलाई न त स्वीट्‌जरल्याण्ड बनाइयो, नत जीटीए नै गठन गरियो। मन्त्रीहरूले जीटीए सम्झौतापछि पहाडको भ्रमण गर्दै हजारौं आश्वासनको पोका थमाए, अहिलेसम्म कुनै पुरा गरिएन। न त शिक्षक नियुक्ति नै गरियो, न त पुलिस भर्नाको कोटा नै उपयुक्त दिइयो। न त बिजुलीको बील नै माफ गरियो न त भुइँचालो पीडितहरूलाई क्षतिपूर्ति प्याकेज नै दियो। बङ्गाल सरकारले दार्जीलिङलाई हरेक क्षेत्रमा वञ्चित गरेका विषय र मुद्दाहरू हजारौं रहेको स्थितिमा बङ्गाल सरकारले दार्जीलिङलाई सहुलियतहरूबाट कसरी बञ्चित गरेको छ भन्नेकुराको अर्को खुलासा आज माकपाले गरेको छ। माकपा नेता तारा सुन्दासले कागज देखाउँदै भने, पश्चिम बङ्गाल राजीव गान्धी ग्रामीण एलपीजी ग्यास वितरण योजना, सायद विधायकहरू र जनताले यो योजनाबारे सुनेका पनि छैनन्‌, यो 2011 देखि शुरु भयो। यसको सरकारी अधिसूचना पनि निस्कियो। कुन कुन जिल्लाको कुन कुन ग्रामीण क्षेत्रमा यो योजना लागू हुन्छ, यसको विवरण एउटा बङ्गला दैनिकमा विज्ञापन गरेर सरकारले प्रकाशित पनि गरेको छ तर त्यसमा दार्जीलिङ जिल्लाको कुनै ठाउँको उल्लेख छैन। के दार्जीलिङ जिुल्ला बङ्गालभित्र पर्दैन? सरकारको योजना दार्जीलिङ जिल्लामा लागू हुनु हुँदैन? के दार्जीलिङ जिल्लामा ग्रामीण क्षेत्र छैन? सन्‌ 2010मा पेट्रोलियम अनि नेचरल ग्यास मन्त्री मुरलीधर देउराले गान्धी दिवसको दिन 2 अक्टोबरमा यसै योजनामाथि बोल्दै  2015 सम्ममा सबै जिल्लाको ग्रामीण क्षेत्रमा यो योजना पुर्‍याइसक्ने घोषणा गरेका थिए। सुन्दासले त्यही घोषणाको स्मरण गराउँदै अझ भने, चुनाभट्टि र बाग्राकोटसम्मको नाम सूचीमा छ, किन दार्जीलिङको कुनै ग्रामीण क्षेत्रको नाम छैन? जनताका प्रतिनिधिहरूलाई के यो कुरा थाहा छैन? सुन्दास अनुसार माकपाले खाना पकाइ खाने ग्यासको अभावबारेमा सिलगढीस्थित विभागीय अधिकारीसित पहाडमा ग्यास आपूर्तिबारे मागपत्र चढाएको थियो। यसको जवाबमा अधिकारीले होटलवालाहरूले कमर्सियल ग्यास नचलाइदिएकोले समस्या आएको जवाब माकपालाई दिएका थिए। पहाडसम्म ग्यास ल्याउनको निम्ति वाहन, बाटो र ठेकेदारहरूबीच रहेको समस्या देखाएर टार्न खोजेको बताउँदै सुन्दासले पहाडमा 45 दिनमा मात्र ग्यास वितरण गर्ने नियम बनिसकेको बताए। तिनले भने, सरकारले जङ्गल नमास्नु भन्छ तर मानिसहरूले खाना केमा पकाएर खानु? रहेको यजनाबाट पनि दार्जीलिङलाई बञ्चित गराएर सरकारले कुन दादागिरीको परिचय दिएको हो? तिनले यसको सूची बङ्गला दैनिकमा सार्वजनिक गरिएकोमा पनि आपत्ति जनाउँदै भने, किन नेपाली दैनिकमा विज्ञापन दिँदैन? पढ्‌छ र सहुलियतको दाबी गर्न भनेर? तिनले यो मात्र होइन सरकारले ग्रामीण क्षेत्रको निम्ति घोषणा गरेको जन केरोसिन परियोजना पनि दार्जीलिङमा लागू नगरेको अर्को आरोप लगाएका छन्‌। तिनी अनुसार यो परियोजना अन्तगर्त सरकारले खाद्य विभागबाहेक पनि ग्रामीणस्तरमा सेतो मट्टितेल वितरण गर्न एजेन्सीहरू बसाउनुपर्ने हो। एकएकवटा खण्डमा बसाइएको एजेन्सीले खण्डभरि आवश्यकता अनुसार एजेन्टहरू राखेर सेतो मट्टितेल वितरण गर्नुपर्ने हो तर पश्चिम बङ्गाल सरकारले  यो योजना नै लागू गरेको छैन। सुन्दासले जनताले यसको विरोध गर्नुपर्ने बताएका छन्‌। यस सम्बन्धमा तिनले पेट्रोलियम अनि नेचरल ग्यास मन्त्री जयपाल रेड्डी, डाइरेक्टर जेनरल श्री श्री प्रकाश अनि मन्त्रीका नीजि सचिव रितेश कुमार सिंहलाई फ्याक्स वार्ता पठाएर शीघ्र नै योजनाहरू दार्जीलिङ जिल्लामा लागू गर्नुपर्ने माग गरेका छन्‌। karkalimpong.blogspot.com

0 comments: on "सरकारी योजनाबाट दार्जीलिङ बाहिर ग्यास र सेतो मट्टितेल सम्बन्धमा माकपाको अर्को खुलासा"