मुख्य समाचार :


विमल गुरूङ र छत्र सुब्बाको भेट पहाडको राजनीतिमा नयॉं समिकरण?



कालेबुङ,13 जनवरी।
जनताको निम्ति छत्र सुब्बा 11 वर्ष जेल बसे। तर 11 वर्षसम्म नै छत्र सुब्बाको निम्ति सचेत नागरिकले कुनै पनि आवाज उठाएनन्‌। तिनको मुक्ति निम्ति पनि राजनैतिक शिविरमा हानथाप भयो। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले छत्र सुब्बाको मुक्ति निम्ति निक्कै उत्साह देखायो। यहॉंसम्म कि विधानसभा चुनाउमा क्रामाकपाले छत्र सुब्बालाई उम्मेदवार बनाउनेसम्मको अपील गरेको छापामा आयो। तर छत्र सुब्बा मानेनन्‌। क्रामाकपाले छत्र सुब्बाको मुद्दालाई राजनैतिक मामिला रहेकोले उनीहरूको( छत्र सुब्बाहरूको) मुक्ति राजनैतिकरुपले नै हुनुपर्ने दवाब दियो। यता गोर्खा जनमुक्ति मोर्चाले भने छत्र सुब्बाहरूको मुद्दा कानूनी रहेको बताउँदै कानूनीरुपले नै छत्र सुब्बाहरूको मुक्ति हुनुपर्ने अडान राख्यो। कुनै पनि राजनैतिक दलको दवाबले होइन तर यस्तो परिस्थिति तयार भयो कि न्यायलयलाई बिनादोष जेलमा छत्र सुब्बाहरूलाई सडाएर राख्न नसकिने भयो। फलस्वरूप पूर्णरुपले जेल बसेर नै अन्तमा कुनै पनि दोष छत्र सुब्बाहरूमा नपाएकोले स्वाभाविक प्रक्रियाले नै छत्र सुब्बाहरूको मुक्ति भयो। 11 वर्षसम्म छत्र सुब्बाहरुलाई जेलमा राख्नुमा सरकारमा बस्ने राजनैतिक दलको गतिलै स्वार्थ रहेको राजनीतिविद्हरू भन्छन्‌। उनीहरूले के पनि भन्छन्‌ भने 11 वर्षसम्म विशेष कारणले नै छत्र सुब्बाहरूलाई विनादोष जेलमा राखियो। अनि विशेष कारणले नै छत्र सुब्बाहरूलाई मुक्ति पनि गरियो। यो 'विशेष कारण' राजनैतिक चलखेलभित्र नै रहेको राजनैतिकविद्हरू मान्छन्‌। छत्र सुब्बाको मुक्तिपछि राजनैतिक शिविरमा धेरै चहलपहल देखियो। शंका अनुमानहरू गरिए। तर छत्र सुब्बाले यसबीच पनि आफ्नो अडान स्पष्ट पार्दै आए। शुरुमा तिनले राजनीतिबाट सन्यास लिएको घोषणा गरे तर सँगैमा छुट्टै राज्य प्राप्तिको मोह पनि आफूसित रहेको बताउँदै कुनै पनि बेला छुट्टै राज्यको निम्ति आन्दोेलन गर्नेसम्मको घोषणा पनि गरे। पछि तिनैले जनताले आह्वान गरेको खण्डमा आन्दोलन गर्ने बताए। छत्र सुब्बा जेलमुक्त बनेपछि एउटा निश्चित विचारमा अडिग रहेको देखिएन। तिनले गोरामुमोले दागोपाप अनि गोजमुमोले जीटीए ग्रहण गर्नु एउटै राजनैतिक संस्कारको फल रहेको बताइरहेका छन्‌। यसैबीच छत्र सुब्बा लगायत नै छुट्टै राज्य प्राप्तिका सपना पाल्नेहरूसित मिलेर पहाडमा नयॉं दलको गठन गर्ने हल्ला निक्कै चल्यो। राजनैतिक शिविरमा स्पष्टै लख काट्‌न सकिने कस्तो परिदृश्य देखिन थाल्यो भने नयॉं पार्टीमा छत्र सुब्बा, अजय दाहाल, दावा शेर्पा, प्रवीण गुरूङ अनि सीके श्रेष्ठ रहनसक्ने छॉंटकॉंट देखियो। किन भने उनीहरूले रैथाने राजनैतिक दलहरूभन्दा अलगधारमा छुट्टै राज्यबारे राजनैतिक टिप्पणीहरू दिइरहेका छन्‌। अजय दाहालको पुस्तक विमोचनको दिन सबैले अनुमान गरेका अनुहारहरू एकै ठाउँमा देखियो। त्यही कार्यक्रममा सबैको विचारमा एकात्मक्ता पनि देखिएको थियो। तर यो कार्यक्रममा छत्र सुब्बाको उपस्थिति थिएन। पुस्तक विमोचनको बाहानामा नयॉं पार्टी गठन गर्नेहरूभित्र शंका गरिएका अनुहारहरूको एक ठाउँको जमघटले पनि पहाडमा नयॉं राजनैतिक समिकरणको रेखा बनिँदै गरेको सबैले अनुमान गरिरहेका थिए। सूत्रले बताए अनुसार विमोचन कार्यक्रममा छत्र सुब्बाले विरामी भएको बहाना देखाएर कार्यक्रममा उपस्थिति नदिएका हुन्‌। किन तिनले विमोचन कार्यक्रममा उपस्थिति नदिएका हुन्‌ भन्ने कुरा एउटा गतिलै रहस्यको कुरा बनेको छ। त्यस दिनको जमघटमा सीके श्रेष्ठ, अजय दाहाल, दावा शेर्पा, प्रवीण गुरूङ बाहेक पनि धेरै यस्ता व्यक्तिहरूको उपस्थिति थियो, जसलाई हेरेर नयॉं राजनैतिक दलको खिचडी पाकिरहेको अनुमान सबैले गरेका थिए। उनीहरूसित छत्र सुब्बा पनि साथ रहेको हल्ला चलिरहेको बेला कार्यक्रममा छत्र सुब्बाको अनुपस्थितिले छत्र सुब्बा उनीहरूको साथ नरहेको सन्देश दिइएको राजनीतिविद्हरू मान्छन्‌। सूत्रले बताए अनुसार छत्र सुब्बा गोर्खा जनमुक्ति मोर्चा कै बहानमा चडेर कृषि मेला पुगेका थिए। गोर्खा जनमुक्ति मोर्चाले गरेको कार्यक्रममा छत्र सुब्बाको उपस्थिति अनि विमल गुरूङसितको तिनको गोप्य कुराकानीले धेरैवटा शंका उपार्जन गरेको चर्चा अहिले चलिरहेको छ। कफी हाउसमा विमल गुरूङ अनि छत्र सुब्बाको 25 मिनट कुराकानी भएको हल्ला पनि चलिरहेको छ, तर यसलाई कसैले पनि पुष्टि भने गर्न सकेका छैनन्‌। यस दिन गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट महासचिव रोशन गिरी बाहेक प्रायः सबै नेताहरू अनि विधायकहरूको उपस्थिति रहनु अनि छत्र सुब्बालाई पनि कार्यक्रममा निम्तो गरिनु, विमल गुरूङ र छत्र सुब्बाको धेरैबेर कुराकानी हुनुले धेरैवटा शंका त उपार्जन गरेको नै छ, यसप्रकारको घटनाले खुफिया विभागको पनि टाउको दुखाइ भएको थाहा लागेको छ। के छत्र सुब्बा विमल गुरूङको भेटघाटले कुनै संकेत दिइरहेको छ? अहिले यही कुरा राजनैतिक शिविरमा चर्चाको विषय बनेको छ।

0 comments: on "विमल गुरूङ र छत्र सुब्बाको भेट पहाडको राजनीतिमा नयॉं समिकरण?"