मुख्य समाचार :


दार्जीलिङलाई उत्तरपूर्वी क्षेत्रमा गाभ्ने माग

कालेबुङ कृषक कल्याण सङ्गठनको भेट कृषि मन्त्री शरद पावरसित

समय संवाददाता
दिल्ली, 30 जनवरी:
दार्जीलिङ जिल्लाका विभिन्न प्रान्तबाट गएका कृषकहरूको एक टोलीले दिल्लीमा कृषि मन्त्री शरद पावर अनि भारतीय कृषि अनुसन्धान पर्षदका महानिदेशक डा. अयप्पनसित भेट गरेर दार्जीलिङ जिल्लालाई उत्तरपूर्वि क्षेत्रमा अन्तरभुक्त गर्नुपर्ने माग गरेको छ। टोलीलाई प्रतिनिधित्व गरेर गएका सङ्गठनका महासचिव विष्णु छेत्रीले कृषि भवनमा कृषि मन्त्री शरद पावरलाई एउटा ज्ञापन चढाए। उत्तरपूर्वि क्षेत्रलाई लिएर छुट्टै कृषि विकासको निम्ति शोध केन्द्र सिलङ्गमा स्थापित गरिएको छ। उत्तरपूर्वि राज्यहरू सिक्किम, नागाल्याण्ड, मिजोराम, असम, मणिपुर, अरुणाचल, त्रिपुरा, मेघालयमा यसको केन्द्र स्थापित गरिएको छ तर दार्जीलिङको कृषि विकासको निम्ति कुनै केन्द्र स्थापित छैन। यद्धपि दार्जीलिङ एक कृषि प्रधान क्षेत्र हो। सिक्किम जस्तै दार्जीलिङ पनि एक दुर्गम क्षेत्र रहेको भए पनि दार्जीलिङ जिल्लाका कृषकहरूलाई किनारामा पारिएको छ। दार्जीलिङ जिल्लाका किनारीकृत कृषकहरूले पनि सिक्किमका कृषकहरूले झैं सुविधा पाइनुपर्ने सम्बन्धमा शरद पारवरसित सङ्गठन टोलीले कुराकानी गर्‍यो। दार्जीलिङ जिल्ला कृषि प्रधान क्षेत्र रहेको मात्र होइन, कृषिको निम्ति उत्तम वातावरण रहेको अनि यहॉंका कृषकहरूले सुविधा रसहुलियतहरू नपाएको कारण नै देशको मूलधारामा अन्तरभुक्त हुन नपाएको स्थिति पनि मन्त्रीलाई अवगत गराइयो। छेत्रीले भने, सिक्किमलाई भारतीय कृषि अनुसन्धान पर्षद उत्तरपूर्वि क्षेत्रभित्र लगाइएको छ, यद्धपि दार्जीलिङका कृषकहरू पनि सिक्किमका कृषकहरू झैं अवहेलित र सहुलियत बञ्चित छन्‌। यसकारण दार्जीलिङलाई पनि भारतीय कृषि अनुसन्धान पर्षद उत्तरपूर्वि क्षेत्रभित्र अन्तरभुक्त गरिनुर्ने माग गरिएको हो। शरद पावरले यस सम्बन्धमा शीघ्र नै कुनै पहल गरिने आश्वासन टोलीलाई दिएका छन्‌। यसै अवसरमा सङ्गठनले गरिने भनिएको कृषि मेलाको निम्ति कृषि मन्त्री शरद पावरलाई मुख्य अतिथिको निम्तो पनि गरिएको छ। यसैबीच टोलीले भारतीय कृषि अनुसन्धान पर्षदका महानिदेशक डा. अयप्पनसित भेट गर्दै यसै सम्बन्धमा ज्ञापन चढाएको छ। दार्जीलिङ जिल्लामा स्थापित राष्ट्रिय अर्किड रिसर्च सेन्टरमा केवल अहिलेसम्म शोध मात्र गरिएको तर अहिलेसम्म अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्न नसकिएको सम्बन्धमा टोलीले कुराकानी गर्‍यो। अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्न सकिने अनि 12 वर्षदेखि केवल एकैजना वैज्ञानिकले मात्र यस केन्द्रमा कार्य गरिरहेकाले कृषकहरूले यसबाट पर्याप्त लाभ पाउन नसकिरहेको सम्बन्धमा अयप्पनसित कुराकानी गरियो। सङ्गठनले अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्नेको निम्ति मोडल योजनाहरू तयार पारिनुपर्ने माग पनि राख्यो। अयप्पनले यस मागलाई सकरात्मकरुपले लिँदै यस सम्बन्धमा शीघ्र नै पहल गरिने बताए। अयप्पनसित टोलीले कालेबुङमा रहेको भारतीय कृषि अनुसन्धान केन्द्रमा प्रिन्सिपल साइन्टिस्टको पद्मा शीघ्र नै नियुक्त गर्नुपर्ने माग गरेको छ। अर्कोतिर डा. केबी पुनलाई यस कन्द्रमा नै पुनर्वहाली गर्नु पर्ने माग पनि राखेको छ। सङ्गठनका महासचिव विष्णु छेत्रीले बताए अनुसार यस केन्द्रमा चारवटा पद् रिक्त छन्‌। सबै पद्मा शीघ्र नै नियुक्ति गरिनुपर्छ। तिनले अयप्पनसित कुराकानी गर्दै पद्मा नियुक्तिको माग गरेका छन्‌ भने यसै सेन्टरबाट नै अदुवा, अलैंची, सुन्तलाको निम्ति कृषकहरूलाई प्रशिक्षण, निःशुल्क जैविक औषधी अनि बीऊ विरुवा प्रदान गरिनुपर्ने माग पनि गरेका छन्‌। डा. अय्यपनले यस सम्बन्धमा  पहल गर्ने आश्वासन दिएका छन्‌। सङ्गठनले आफ्नो पुरानो मागलाई फेरि पनि दोहोर्‍याउँदै डा. अय्यपनसित दार्जीलिङमा टेम्प्रेट हर्टिकल्चर रिसर्च सेन्टर स्थापित गराइनुपर्ने माग गरेको छ। दार्जीलिङलाई पनि भारतीय कृषि अनुसन्धान पर्षद उत्तरपूर्वि क्षेत्रभित्र अन्तरभुक्ति गर्नुपर्ने सम्बन्धमा गरिएको मागको जवाबमा डा.अय्यपनले जबसम्म अन्तरभुक्तिको प्रक्रिया शुरु हुँदैन तबसम्म सिक्किम केन्द्रले नै दार्जीलिङलाई देखरेख गर्ने निर्देश चॉंडै दिइने बताएका छन्‌। तिनले भने, दार्जीलिङको परिस्थितिबारे मलाई थाहा छ, यसै कारण अहिलेको निम्ति सिक्किमलाई देखरेखको जिम्मा दिइने निर्देश गरिनेछ। टोलीमा रिम्बिकका सक्रिय कृषक सीपी राई, मन्सोङका सागर राई, युनिस लेप्चा अनि जलढकाका मनोज छेत्री सामेल थिए। यसै टोलीलाई भारतको रक्षा मन्त्रालयले दिल्लीको राजपथमा भएको 63 औं गणतन्त्र दिवसमा किनारीकृत कृषकहरूकोरुपमा सामेल हुने निम्तो गरेको थियो। विष्णु छेत्रीले बताए अनुसार देशले पहिलोपल्ट दार्जीलिङका कृषकहरूलाई देशको मूलधारामा ल्याउने पहल गरेकोछ।

0 comments: on "दार्जीलिङलाई उत्तरपूर्वी क्षेत्रमा गाभ्ने माग"