मुख्य समाचार :


तीन महिनाभित्र स्थायीकरणको प्रक्रिया हुनसक्ने 6 वटा जुनियर स्कूलले पाउने हाइस्कूलको मान्यता



कोलकाता, 13 जनवरी।
कोलकातामा आज कालेबुङका दुइ विधायक अनि जेएसटीओ प्रतिनिधिहरूले शिक्षा मन्त्रीसित भेटघाट गरे। एडहक शिक्षकहरूको नियुक्ति अनि योसित नै एसएससी उतीर्ण गर्नेहरूबीच रहेको समस्याको समाधानको निम्ति नै शिक्षा मन्त्रीसित यो भेटघाट गरिएको हो। कोलकातामा विधायक डा. हर्कबहादुर छेत्री, डो. रोहित शर्मा, जेएसटीओ सचिव विजय प्रधान, एजुकेशन मनिटरिङ सेलका संयोजक छिरिङ तामङले शिक्षा मन्त्री ब्रत्य बसुसित भेटघाट गरेर समस्याहरू राखे। भेटघाटमा मन्त्री बसुले प्रतिनिधिहरूलाई पहाडको शिक्षा सम्बन्धमा राज्य सरकार गम्भीर रहेको बताए। यस सम्बन्धमा डा.छेत्रीले बताए अनुसार बैठक सकरात्मक रहेको छ। एडहक शिक्षकहरूको डिग्री भन्दा पनि अनुभव नै मूल हतियार रहेको मात्र होइन उनीहरू नभएको खण्डमा विद्यालय नै बन्द हुने थियो। यसकारण उनीहरूलाई नियुक्ति दिइनु अनिवार्य छ। तिनले एडहकको समस्या गारोमुमोद्वारा उपार्जित समस्या रहेको बताउँदै यसको समाधानको निम्ति 20 जनवरीमा मन्त्रीसित अर्को बैठक हुने बताएका छन्‌। विजय प्रधानले 3 महिनाभित्रमा नै समस्या समाधान हुने आशा रहेको बताएका छन्‌। तिनले बैठक सौहार्द रहेको बताउँदै अब स्थायीकरणको बाटो खुलिएको पनि बताए। पहिले एडहकको नियुक्ति हुने अनि मात्र नयॉं नियुक्तिको प्रक्रिया हुने पनि बताएका छन्‌। तिनले यस ैबैठकबाट 6 वटा जुनियर स्कूलहरूलाई हाइस्कूलको मान्यता दिने शुभ खबर पाइएको बताउँदै गोरुबथान पब्लिक जुनियर हाइस्कूल, पुदुङ, नेताजी, मारेबुङ, लोदोमा, अनि बदमताम जुनियर हाइस्कूललाई हाइस्कूल बनाइने भएको बताएका छन्‌। छिरिङ तामङले एसएससी गर्नेहरूले पनि सङ्गठन अनि विभागसित शीघ्र नै भेटघाट गर्नुपर्ने बताएका छन्‌।

0 comments: on "तीन महिनाभित्र स्थायीकरणको प्रक्रिया हुनसक्ने 6 वटा जुनियर स्कूलले पाउने हाइस्कूलको मान्यता"