मुख्य समाचार :


एकातिर चिया उत्सव अर्कोतिर वगान बन्द आउदैछ सरकारी शोषणको गन्ध

 
कालेबुङ, २७ दिसम्बर|
घरी पैसा तिराएर लालूपाते देखाउँछ, घरि हेलिकप्टर देखाएर  पैसा उठाउँछ| यस्तै भएको छ सरकारको चिया अनि पर्यटन महोत्सव| कालेबुङमा उत्सवको नाममा पैसा असुल्ने कार्य त चलिरहेको छ, स्थानीयहरूको रोजीरोटीमा अङ्कुसे पनि लगाइरहेको छ| सूत्रले बताए अनुसार कालेबुङको महोत्सव गर्नको निम्ति ठेकेदार, पसलेहरूबाट लाखौं रुपियॉं असुलिएको छ| सरकारी कार्यक्रममा किन पैसा उठाइयो त? यो प्रश्‍नको उत्तर महकुमा शासकले सार्वजनिक गरेका छैनन्| हिजोदेखि जनमुक्ति पार्कमा फुलेको लालूपाते हेर्न प्रतिव्यक्ति पॉंच रुपियॉं असुल्ने कार्य थालिएको थियो तर आज पुष्प प्रदर्शनीको नाममा रातारात केही अर्किड र क्याक्टसहरू राखेर टार्ने कार्य गरेको देखिएको छ|पर्यटन उत्सव चलिरहेको छ तर बजारमा पर्यटकहरू नै छैनन्| न त पर्यटकहरू छन्, न त महोत्सवमा चिया श्रमिकहरूलाई नै सामेल गरिएको छ| घाउ टाउकोमा अनि मल्हम नाइटोमा दल्ने कार्य उत्सवको नाममा भइरहेको त स्पष्ट नै छ, उत्सवले चिया श्रमिकहरूको कुनै हीत छैन भन्ने कुराको प्रमाण पानीघट्टा चियाबारी बन्द हुनुले स्पष्ट पारिदिएको छ| यस्तो बगान बन्द गरिएको छ, जहॉं गोरामुमोको बलियो क्षेत्र रहेको छ| बगान बन्द गर्नुको मूल कारण केही देखिएको छैन| श्रमिकहरू अनुसार कम्पनीले कमाईको बेला खोल्ने अनि कमाइ नभएकोबेला बन्द गर्ने खेल अघिदेखि नै गर्दै आइरहेका छन्| एकातिर करोडौं खर्च गरेर उत्सव पालन गरिएको छ अनि उत्सवको नाममा जनता, व्यापारी र ठेकेदारहरूबाट फैसा असुल्ने कार्य भइरहेको छ भने अर्कोतिर श्रमिकहरूको विचल्नी छ| ममता व्यानर्जीको स्वीट्जरल्याण्डमा यस्तो घटनालाई नौलो त मानिएको छैन तर वाम सरकारको अर्को अवतारको रुपमा भने अब राम्रैगरी ममताको सरकारलाई चिन्ने अवसर भने श्रमिकहरूले पाएका छन्| त्यहॉं बगान बन्द भइरहेको छ जहॉं विधानसभा हल्लाउने र बङ्गाली विधायकहरूलाई अंग्रेजीबाट आफ्नो बुद्धि देखाइरहेको हुङ्कार गर्ने विधायकहरू छन्| त्यहॉं बगान बन्द भइरहेको छ, जहॉं नाच्न गाउनको निम्ति सरकारले करोडौं खर्च गरिरहेको छ ती नै श्रमिकहरुको नाममा| गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरूङको घरबाट पारितिर देखिने तीनवटा चियाबगान त बन्द नै छ अब अर्को पनि थपिएको छ| कम्पनीका मालिकहरूको यस्तो खाले मनपरी त्यतिबेला देखि नै हो जतिबेला कम्पनीहरूको पक्षमा सरकार उभिएको छ| वामफ्रण्टदेखि ममताको सरकारसम्म नै मालिकको पक्षमा जाने सरकारले अहिलेसम्म श्रमिकहरूको हितमा कुनै पनि उल्लेखयोग्य कार्य गरेको देखिएको छैन| एकातिर चिया श्रमिकहरू भोकभोकै रहेको समयमा ममताको सरकारले अर्कोतिर मालिकपक्षलाई पोस्याउन उत्सवको नाममा करौडौंको खर्च गरेकोबाट नै स्पष्ट हुन्छ कि श्रमिकहरूको शोषणमा सरकारी भूमिका नै सर्वोपरी छ| पानीघट्टाको बगान बन्द हुनुमा एक श्रमिक कशोर प्रधानले मोर्चाका युनियनका सदस्यहरू जो बगान प्रवन्धकसित मिलेर काम नगरी हजिरा खाइरहेका छन्, उनीहरू रहेको बताएका छन| तिनले बताए अनुसार कम्पनीले श्रमिकहरूलाई मोठ ७८ लाख रुपियॉं पीएफ दिएको छैन| अन्य आधारभूत सहुलियतको त कुरै छैन| न त अवकास पाउनेलाई तत्कालै ग्राजुटी दिइने कार्य कम्पनीले गरेको छ न त श्रमिकहरूलाई ८ घण्टा काममा लगाउने कार्य नै गरेको छ| मालिकपक्षले श्रमिकहरूप्रति गरेको अन्यायको विरुद्ध किन सरकार बोल्दैन भन्ने प्रश्‍न अहिले तडकारो बनेको छ| अनि यसको जवाब भने सरकारले श्रमिकहरू भोकभोकै रहेको अवस्थामा करोडौं खर्च गरेर शहरेहरूलाई नचाउने कार्य गरेकोबाट नै दिइरहेको सचेतहरूले बुझेका छन्|

0 comments: on "एकातिर चिया उत्सव अर्कोतिर वगान बन्द आउदैछ सरकारी शोषणको गन्ध"