मुख्य समाचार :


गोटाफो भर्सेस गोजमुमो

कालेबुङ, 22 दिसम्बर।
एउटै मुद्दामा अब गोटाफो(गोर्खाल्याण्ड टास्क फोर्स) अनि गोजमुमो(गोर्खा जनमुक्ति मोर्चा)बीच अब रणनैतिक आन्दोलन शुरू हुने भएको छ। दुवैको मुद्दा भने छुट्टै राज्य गोर्खाल्याण्ड नै रहेको छ। फरक केमा छ भने गोजमुमो  छुट्टैराज्य चढ्‌ने सिँडी जीटीए निर्माणको निम्ति लडिरहेको छ भने गोटाफो सोझै छुट्टैराज्यको निम्ति लडिरहेको छ। मोर्चाले भनेको छ, सोझै छुट्टैराज्य ल्याउँछु भन्ने महामुर्ख हो। गोटाफोले भनेको छ, सिँडीको बहानामा सधैँभरिको निम्ति मुद्दालाई दमन गर्ने कार्य भइरहेको छ। मोर्चाले भनेको छ, इन्द्रेको बाबु चन्द्रे आएपनि छुट्टै राज्य अहिले नै हुँदैन। गोटाफोले भनेको छ, केन्द्र वा दिल्लीमा छुट्टैराज्यको परिस्थिति नबनाइञ्जेल 'तिमीहरूको छुट्टैराज्य कसैले पनि लैजा' भन्दैन। गोजमुमोले भनेको छ, 'जीटीएबाट नै छुट्टै राज्य पुगिन्छ' अनि गोजमुमोले नै भनेको छ, जीटीए नै 80 प्रतिशत छुट्टैराज्य हो अनि 20 प्रतिशतमात्र बङ्गाल अधिनस्त हो। यता गोटाफोले भनेको छ, गोर्खाबाहुल होइन सम्पूर्ण डुवर्स र दार्जीलिङ मिलाएर छुटैराज्य हुनुपर्छ अनि पूर्णरुपले बङ्गालबाट मुक्त। त्यही छुट्टैराज्यसम्म पुग्न मोर्चाले सिँडी चाहिने बताइरहेको छ भने गोटाफो अनुसार सिँडी चडेर नै छुट्टैराज्यसम्म पुग्नुपर्छ भन्ने कुनै संविधान छैन। अहिलेसम्म दुइ शिविरमा देखिएको सद्धान्तिक फरक भने यही नै हो। सुबास घिसिङले पनि अन्तमा गएर छुट्टैराज्य पुग्न सिँडी चाहिनेमा नै आन्दोलन टुङ्गाएको थियो। छुट्टैराज्य पुग्ने भनिएको दागोपापको सिँडीको अनुभव जनतालाई राम्रैसित छ।20 वर्ष सिँडीमा अल्झिएकोले जनतालाई सिँडीप्रति भरोसा छैन। तर आन्दोलनकारी दलले नै सिँडी भनेपछि सिँडीको विरोध गर्ने साहस जनता आफैले भने गर्ने आँट गर्दैन। तर जब जनताको जनाकांक्षाको  विरुद्ध दलीय चलखेल चरममा पुग्छ तब भने कुनै एक जना नेतामा भरोसा गरेर जनताले नै शोषित दलको विरोध र छुट्टै राज्यको माग गर्दै समर्थन गर्ने गरेको इतिहास छ। लगभग गोरामुमोको जुन स्थिति थियो, त्यस्तै स्थिति अहिले गोजमुमोको पनि भएको छ। किन भने जब गोजमुमोले छुट्टै राज्य भन्यो तब सबै राजनैतिक दल, सङ्घ-सङ्घठन अनि जनताले पूर्णरूपले समर्थन गर्‍यो तर जब मोर्चाले सिँडी भन्यो तब जनताको भरोसा मोर्चाबाट उठ्‌न शुरु भयो। यसैबीच समर्थित दलहरूले पनि मोर्चाको साथ छोड्यो। अहिले गोरामुमोले जस्तै विभिन्न आलोचना र आरोपको सामना मोर्चाले आफ्नै कार्यभूलको कारण खप्न परिरहेको छ। स्थिति कस्तो आयो भने मोर्चाले जनताको कार्य नगरेपछि अर्को शक्ति स्थापित हुन कर लाग्यो। आन्तरिकरुपले अर्को नयॉं राजनैतिक पार्टीको गठन हुने कुरा पनि मोर्चाबाट विश्वास हराउनेहरूकै प्रयास रहेको बुझिएको छ भने भागोपलाई सबै दलहरूलाई सङ्गठित गर्न पर्ने बाध्यता पनि मोर्चाले जनमुद्दालाई जनसहमतिमा सम्बोधन गर्न नसकेकोले नै पर्‍यो। मोर्चाले आन्दोलनलाई अघि बडाउन नसकेको बुझेपछि नै अहिले गोर्खाल्याण्ड टास्क फोर्सको गठन भएको छ। अहिले छुट्टैराज्यको निम्ति वकालत गर्ने दुइवटा बलियो शक्तिमा गोजमुमो र गोटाफो नै स्थापित छ। गोजमुमोले अहिले नै छुट्टै राज्य गठन हुन नसक्ने भनेर गोरामुमो कै भाका अलाप्यो। किन भने सुबास घिसिङले पनि केन्द्रमा छुटैराज्यको परिस्थिति छैन यसकारण कुनै न कुनै व्यवस्था ग्रहण गर्नुपर्छ, जसले जनताको विकासको कार्य चलिरहोस्‌ भनेर बारम्बार नै भन्ने गर्थे। तर तिनको यो कुरा उचित नरहेको मानेर नै गोजमुमोको गठन भयो, जसको एउटै उद्देश्य थियो छुट्टै राज्य गठन गर्ने तर त्यही दलले छुट्टै राज्य छोडेर जीटीए भन्न थालेपछि अहिले छुट्टैराज्यपक्षधरहरू सङ्गठित बनेर गोर्खाल्याण्ड टास्क फोर्समार्फत आन्दोलन गरिरहेको छ। मोर्चाले आन्दोलन गर्न नसकेकोले नै टास्क फोर्सको गठन भएको स्पष्ट छ। अहिले गोजमुमोले जीटीए गठन गर्न ढिलो भएको भन्दै फेरि आन्दोलन गर्ने भइरहेको छ। तर जीटीए गठन गर्ने प्रक्रिया शुरू हुने वित्तिकै यो आन्दोलन सकिने पनि मोर्चाले नै स्पष्ट पारेको छ। जीटीए गठनमा ढिलो गरेको भन्दै मोर्चाले गर्दै गरेको आन्दोलन तर क्षेत्रीयस्तरमा मात्र हुने छ। यसको निम्ति युवा मोर्चाले  आन्दोलनको निम्ति  जनसभा र र्‍यालीको कार्यक्रमको घोषणा गरिसकेको छ भने गोटाफोले राष्ट्रियस्तरको आदोलनको निम्ति देशभरिका छुट्टै राज्यपन्थी गोर्खा युवाहरूलाई सङ्गठित गर्ने अनि क्षेत्रीयस्तरमा चलिरहेको मुद्दाप्रतिको अन्योलता हटाउन क्षेत्रीयस्तरमा सङ्गोष्ठी गरेर राष्ट्रियस्तरको कार्यक्रमहरू तय गर्ने भएको छ। गोटाफोले  सांसदहरूलाई मात्र होइन दिल्लीका बलिया राजनैतिक दल अनि बुद्धिजीवीहरूलाई मुद्दाबारे अवगत गराएर प्रारम्भिक कार्यक्रम शुरु गर्ने बताइसकेको छ। चाख लाग्दो कुरा के देखिएको छ भने मोर्चाले जीटीए गठनमा ढिलाई भएकोमा छुट्टै राज्यको आन्दोलन गर्ने भएको छ भने गोटाफोले भने जीटीएलाई देखाएर छुटै राज्यको मुद्दा दबाउने खेल केन्द्रले गरेकोमा राष्ट्रियस्तरमा नै जीटीएको विरोध गर्दै आन्दोलन गर्ने भएको छ। गोटाफो भर्सेस मोर्चाको क्षेत्रीय भर्सेस राष्ट्रिय आन्दोलनबीच जनताको सहभागिता कता हुने हो, त्यो भने अहिलेसम्म स्पष्ट छैन।
 


0 comments: on "गोटाफो भर्सेस गोजमुमो"