मुख्य समाचार :


अकादमी संयोजकले लगाए आरोप दुइ ज्युरी सदस्यलाई

 चर्कियो अकादमी पुरस्कार विवाद
 
मनोज वोगटी
कालेबुङ, 21 दिसम्बर।
यसपल्ट नेपाली साहित्यको कुनै पनि कृतिले साहित्य एकादमी पुरस्कार पाएन। साहित्यको क्षेत्रमा यसलाई अचम्भको घटना मानिएको छ। अहिलेसम्म केवल नेपाली कुनै पनि कृतिले पुरस्कार नपाएको कुरा मात्र सुनिएको थियो तर विस्तारै यसको कारण पनि खुलिन थालेको छ। आज साहित्य अकादमी नेपाली भाषाका परामर्श समितिका संयोजक जीवन नाम्दुङले भने पुरस्कार नपाउनुको पुरा भेद खोल्दै ज्युरीका दुइ सदस्य नै पुरस्कार नपाउनुको प्रमुख कारण देखाएका छन्‌। अकादमीको चयन समितिले छानेर पुरस्कारको निम्ति पठाएको आठवटा कृतिलाई तीन सदस्यीय ज्युरीको दुइ दुइ सदस्यले पुरस्कार योग्यको कुनै पनि कृति नरहेको लिखित निर्णय दिएपछि यसपालीको पुरस्कार नेपाली साहित्यको कुनै पनि कृतिले नपाएको नाम्दुङले स्पष्ट पारेका छन्‌। चयन समितिले आठ जना साहित्यकारहरूको कृति ज्युरीलाई दिएको थियो तर ज्युरीले कुनै कृतिलाई पनि छनौट गरेनन्‌। नाम्दुङले बताए अनुसार तीन सदस्यीय ज्युरीमा थिए प्रो. महेन्द्र पी लामा, कवि राजेन्द्र भण्डारी  अनि प्रो. घनश्याम नेपाल। नाम्दुङले बताए अनुसार तीन ज्युरी सदस्यहरू मध्ये डा. भण्डारी अनि नेपालले कुनै पनि पुरस्कार योग्य कृति नभएको लिखित निर्णय दिएकोले यसपल्ट पुरस्कार नेपाली कृतिले नपाएको नाम्दुङको स्पष्टीकरण रहेको छ। जीवन नाम्दुङले भने, यो घटना दुःखको घटना हो। भविष्यमा यस्तो घटना नहुने अपेक्षा गर्दछौं। यसले अन्य भाषी साहित्यको सामु नेपाली भाषा साहित्य हॉंसोको पात्र बनेको छ। तिनी अनुसार ज्युरी सदस्य प्रो.महेन्द्र पी लामाले  चारवटा कृतिलाई पुरस्कारको निम्ति छनौट गरेको भए पनि दुइ ज्युरीले भने कुनै पनि कृति छनौट गरेनन्‌। यस सम्बन्धमा किन कृति योग्यको थिएन भन्ने प्रश्न गर्दा कुनै उत्तर दिन नसकेको तिनको दाबी छ।  तिनी अनुसार दुइ ज्युरीलाई आफ्नो निर्णय परिवर्तन गर्ने आग्रह गरिएको थियो तर डा. भण्डारी अनि प्रो नेपाल आफ्नो निर्णयमा अडिग रहे। कृतिहरू निकृष्ट रहेको बताउँदै पुरस्कार योग्यको नरहेको मत जाहेर गरेर अन्य भाषा साहित्यको सामु लाजमर्दो निर्णय लिएको आरोप नाम्दुङको छ। तिनले भने, बॉंदरले आफ्नो घर पनि बनाउँदैन अरुको बनाउन पनि दिँदैन भन्ने उखानलाई दुइ ज्युरी सदस्यले चरितार्थ गरेका छन्‌। उनीहरूले कुनै पनि पुरस्कार नपाएकोले अरुले पनि पुरस्कार नपाओस्‌ भन्ने विचार उनीहरूसित रहेको जस्तो देखिएको छ। पुरस्कार नदिने निर्णय ज्युरीका दुइ सदस्यहरूले आफूलाई लिखितरुपमा दिएको जसलाई आगामी दिनमा सार्वजनिक गर्ने समेत तिनको भनाइ छ। तिनले भने, के अरुलाई होंचो नदेखाइ आफू अग्लो हुन सक्दैैनौ? दुइ सदस्यहरूको कस्तो विद्वता हो? स्मरणीय छ, सन्‌ 1975 देखि साहित्य अकादेमी दिल्लीले निरन्तर दिँदै आइरहेको साहित्य अकादमी पुरस्कार यसवर्ष नेपाली भाषा साहित्यका कुनै पनि कृतिहरूले नपाउने भएपछि नेपाली भाषा साहित्यप्रेमीहरू निराश र दुःखी बनेका छन्‌। यति मात्र होइन यसवर्ष अकादमी पुरस्कार पाउने योग्यको कुनै कृति प्रकाशित भएनन्‌ भनेर अचम्भित पनि बनेका छन्‌। नेपाली साहित्यमा वर्षेनी अनेकौं कृतिहरू प्रकाशित हुँदै आइरहेका छन्‌। चर्चित लेखक साहित्यकाहरूदेखि लिएर नवोदित लेखकहरूका कृतिहरू प्रकाशित भइरहेको समयमा अकादमी पुरस्कार पाउने योग्यको कृति चयन समितिको हातमा नपर्नु अचम्भ नै मान्नुपर्ने भएको छ। साहित्य अकादमी एउटा विशिष्ट साहित्यिक पुरस्कार हो। साहित्य अकादमी दिल्लीले मान्यता दिएका भाषाहरूमा लेखिएका कृतिहरूलाई यो पुरस्कार दिने गरिन्छ। नेपाली साहित्यमा सन्‌ 1975 मा इन्द्रबहादुर राईले प्रथम नेपाली साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए, त्यसपछि पुरस्कार निरन्तररुपले प्रदान गर्दै आइरहेको थियो। तर यसवर्ष नेपाली साहित्यका कुनै पनि कृतिहरू पुरस्कार योग्यको नहुनुमा के कारण हुनसक्छ भन्ने कुरा सार्वजनिक भएको थिएन। आज नाम्दुङको खउलासापछि विवाद चर्किने सम्भाना बढेको छ। किन भने नाम्दुङले पुरस्कार नपाउनुमा दुइ ज्युरीलाई दोषी मानेका छन्‌।   साहित्य अकादमी पुरस्कार प्राप्त नेपाली साहत्यका कृतिहरूले विगतका दिनहरूमा कतिपय नियम उलङ्घन गरेर विवाद भएको इतिहास छ। तर यसपल्ट भने उक्त पुरस्कार पाउने योग्यका कृतिहरू चयन समितिको हातमा नपर्नु वा ज्युरीले योग्यको कृति नपाउनु खुबै रहस्यको विषय बनेको छ। विवाद तीन ज्युरीसमक्ष कृति पुग्दा नै उत्पन्न भएको छ तर चयन समितिलाई सबैले बिर्सिरहेका छन्‌। किन चयन समितिले योग्यका कृतिहरू छोडेर ती कृतिहरू नै पुरस्कारको निम्ति पठाए त? रहस्य यहॉंभित्र पनि हुनसक्छ। किन भने सबैलाई थाहा छ कि अकादमी पुरस्कार योग्य दर्जनौं कृतिहरू छन्‌ तर उनीहरूको कृति चयन समितिले चयन गरेन। अब यो विवादले अकादमी पुरस्कारमा अहिलेसम्म भइरहेको मनपरीको पोल खोल्ने पनि स्पष्ट भएको छ।
 


0 comments: on "अकादमी संयोजकले लगाए आरोप दुइ ज्युरी सदस्यलाई"