मुख्य समाचार :


देशभरका गोर्खाहरूबाट मोर्चाले विश्‍वास गुमाएको दाबी मोर्चाले गरेको आन्दोलन, क्षेत्रीय हो भनेर घोषणा गर्नुपर्छ-किरण बीके....चिया अनि पर्यटन उत्सवमा लालूपाते हेर्न पैसा?...साहित्य अकादमी पुरस्कारको निम्ति पुस्तकहरूको ग्राउण्ड लिष्ट तयारीमा संस्थाहरूको कुनै भूमिका नरहेको खुसाला

देशभरका गोर्खाहरूबाट मोर्चाले विश्‍वास गुमाएको दाबी
मोर्चाले गरेको आन्दोलन, क्षेत्रीय हो भनेर घोषणा गर्नुपर्छ-किरण बीके

मनोज वोगटी
कालेबुङ, २६ दिसम्बर|
'पैसा नै चिह्नारी हो| जीटीए नै ८० प्रतिशत छुट्टै राज्य हो'-डा. हर्कबहादुर छेत्रीले भने| जीटीए नै ल्याउने भएदेखि किन छुट्टै राज्यको आन्दोलन भनियो त? तिनलाई लगत्तै पत्रकारले सोधे| जवाबमा डा. छेत्रीले भने- 'पानीको निम्ति भनेको भए जनता मोर्चामा आउने थिएनन्| नोकरीको निम्ति भनेको भए समर्थन हुने थिएन| बिजुलीको निम्ति भनेको भए मोर्चामा जनता आउने थिएनन्| यस कारण  गोर्खाल्याण्ड त भन्ने पर्‍यो नी|' ११ जुनको दिन डा. छेत्रीको यो वयान मीडियामा आउने वित्तिकै मोर्चालाई राष्ट्रियस्तरमा सहयोग गर्दै आइरहेका मोर्चा कै सङ्गठनहरूलाई ठूलो धक्का लाग्यो| तत्कालै'हामीलाई केवल उनीहरूको स्वार्थको निम्ति प्रयोग गरिएको रहेछ' भन्ने सम्बन्धमा  हरियाणा मोर्चा अध्यक्षले केन्द्रिय नेताको वयानलाई राखेर शाखामा छलफल गरे| मोर्चा केन्द्रिय नेतृत्वलाई डा. छेत्रीको वयानले दार्जीलिङ बाहिरका गोर्खाहरूलाई मर्माहत तुल्याएको अनि यस्तो वयान मुद्दा विरोधी हो भन्ने बुझेर विद्रोह गर्ने वित्तिकै मोर्चा महासचिव रोशन गिरीले हरियाणा मोर्चा अध्यक्ष किरण बीकेलाई दलबाट निस्कासित गरे| यो कुरालाई आज किरण बीकेले स्पष्ट पारेका छन्| दार्जीलिङ अनि तराई डुवर्सको भ्रमणमा आएका किरण बीकेले आज एक पत्रकार सम्मेलन राख्दै मोर्चाले छुट्टै राज्यको नाममा आन्दोलनलाई क्षेत्रीयकरण गरेपछि राष्ट्रियस्तरबाट गोर्खाहरूको समर्थन गुमाइसकेको पनि स्पष्ट पारेका छन्| जो बोल्न सक्दैनन् अनि जसले राष्ट्रिय मुद्दाको सवाललाई विथोल्न सक्ने मोर्चाको केन्द्रिय समितिको कुनै पनि वयानले दार्जीलिङ बाहिरका गोर्खाहरूलाई पार्ने प्रभावको विरोध गर्न सक्दैनन्, उसैलाई मात्र मोर्चाले माया गरेर पार्टीमा राखेको मात्र होइन जो पनि मुद्दाको हितमा बोल्छ उसलाई दल निकाला गर्ने प्रवृति मोर्चामा रहेको कुरा पनि किरण बीकेले खुलाएका छन्| मोर्चाले राष्ट्रिय आन्दोलन भनेकैले  दिल्लीबाट आफूहरूले मोर्चालाई देशभरि स्थापित गर्ने कार्य गरेको भए पनि मोर्चाले आन्दोलनको निचोडलाई क्षेत्रीय समाधानसित जोडेर देशभरिका गोर्खाहरूको आस्थामाथि कुठराघात गरेको अनि किन यस्तो गरियो भनेर प्रश्‍न गर्नेहरूलाई पार्टीबाट निकालिएको बताउँदै बीकले भने, पार्टी विरोधी हुनु ठूलो कुरा होइन तर मुद्दा भन्दा ठूलो पार्टी होइन| हामीले मुद्दाको पक्षमा पार्टीमा सवाल उठाएका थियौं| किन मुद्दालाई मात्र होइन देशभरि छरिएका शाखाहरूको विश्‍वासमाथि कुठराघाट हुने वयान केन्द्रिय समितिबाट आइरहेको छ भन्नेबारे सचेत भएर कुरा उठाएका थियौं| तर त्यो पार्टी कस्तो पार्टी हो जसले आन्दोलनलाई संकुचित मात्र गरेन, देशभरिका गोर्खाहरूको आकांक्षासित पनि खेलवाड गर्छ| तिनले अझ भने, मोर्चाले जीटीए थापुन् वा नथापुन्, हामीलाई केही भन्नु छैन| तर थाप्छ भने मोर्चाले आफ्नो आन्दोलनलाई क्षेत्रीय आन्दोलन थियो भनेर राष्ट्रियसतरमा घोषणा गर्नुपर्छ| मोर्चाले आन्दोलनलाई क्षेत्रीय रहेको घोषणा गरेमा देशभरिका गोर्खाहरूलाई केही भन्नु रहने छैनन् तर जबसम्म राष्ट्रिय आन्दोलन भन्छ तबसम्म देशभरिका गोर्खाहरूले मोर्चाको हरेक निर्णयमा हस्तक्षेप गर्ने छ| तिनी अनुसार शुरूमा नै मोर्चाले गरेको आन्दोलन क्षेत्रीय हो भन्नु पर्थ्यो तर राष्ट्रिय भन्यो| राष्ट्रिय भनेर आन्दोलनलाई क्षेत्रीय समाधानसित जोडेर टुङ्गायो| यस्तो हुनु देशभरिका गोर्खाहरूसित विश्‍वासघात गर्नु हो| राष्ट्रिय मुद्दालाई क्षेत्रीयकरण गर्नु नै देशभरिका गोर्खाहरूको निम्ति धोका हो| तिनले भने, मोर्चासित कुनै पनि योजना छैन| छुट्टै राज्य प्राप्त गर्नुको निम्ति अघिल्ला जम्मै आन्दोलनको समीक्षा गरिनुपर्छ| समीक्षाले भावी रणनीति तयार पार्ने सूत्र दिन्छ| अघिल्ला जम्मै भूलहरूले, छुट्टै राज्य अहिलेम्म हुन नसक्नुको जम्मै कारणहरूले छुट्टै राज्यको अथवा देशभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा अनि चिह्नारीको सवाललाई तर्कसङ्गत बनाउँछ| प्राप्तिको रणनीति दिन्छ| मोर्चालाई यही सुझाव हामीले दिएका हौं तर हामीलाई नै निष्कासित गरियो| यसैबाट बुझिन्छ मोर्चाको खास नियत| बीकेले अझ स्पष्टसित भने, समस्या दुइथरी छन्| राष्ट्रिय र क्षेत्रीय| दुवै समस्यालाई छुट्याएर रणनीति तयार पार्नुपर्छ| आन्दोलन भनेको क्षेत्रीय समस्या होइन| छुट्टै राज्यको मुद्दा वास्तवमा नै समस्या होइन| यो मुद्दा समाधान हो| समाधानको मार्गमा के के समस्याहरू छन्, त्यो केलाउने योजना र नीति पार्टीमा हुनुपर्छ| यही कुरा मोर्चामा छैन| गोर्खाल्याण्ड टास्क फोर्स अनि क्रामाकपाले गरेको दिल्ली कार्यक्रम समय सापेक्ष रहेको बताउँदै तिनले भने, जुनै पनि सङ्गठनले समस्यालाई केलाउनुपर्छ| तय गर्नुपर्छ राष्ट्रिय शक्ति क्षेत्रीय समस्याको निम्ति खर्च गर्ने कि राष्ट्रिय समस्याको निम्ति| यहॉं क्षेत्रीय समाधानको निम्ति राष्ट्रिय शक्तिको दुरुपयोग भइरहेको छ| बिना समीक्षा कुनै पनि आन्दोलनको निचोड आउने छैन| तिनले मोर्चाले दिएको धोकाको कारण देशभरिका गोर्खाहरू तर्सिएको बताउँदै अब कुनै पनि सङ्गठनले राष्ट्रियस्तरमा आन्दोलन गर्दा अन्य राज्यका गोर्खाहरूको आकांक्षा सोधेर अनि उनीहरूको मतऐक्यता लिएर नै आन्दोलन गर्नुपर्ने पनि बीकेले बताएका छन्| तिनले भने, मोर्चाले कहिले पनि अन्य राज्यका गोर्खाहरूलाई सोध्ने कार्य गरेन कि उनीहरू के चहान्छन्| देशका कुनै पनि गोर्खा अन्धोभक्त हुन सक्दैनन्| अबका युवाहरू शिक्षित छन् अनि शिक्षित कार्यव्यवहार नभएका कुनै पनि आन्दोलन इमान्दार हुन सक्दैन| तिनले मुख्यमन्त्री ममता व्यनर्जीले 'अब गोर्खाहरूको समस्याको समाधान जीटीएले गर्‍यो' भनेर राष्ट्रियस्तरमा नै घोषणा गर्दा मोर्चाका नेताहरू मौन रहेको बताउँदै भने, होइन, गोर्खाहरूको समस्याको समाधान भइसकेको छैन| जीटीए त क्षेत्रीय समाधान हो| गोर्खाल्याण्डको आन्दोलन सकिएको छैन भनेर बोल्नुपर्ने थियो| बुद्धिमानी कुरा गर्छु भनेर घोषणा गर्नेहरूले पहाडको तीनकुनामा बोलेर हुँदैन बोल्नु पर्ने ठाउँमा बोल्नुपर्थ्यो| यसैले बुझियो मोर्चाको राष्ट्रिय भनिएको आन्दोलन क्षेत्रीय समाधानले समाप्त गर्‍यो| यसलाई देशभरिका गोेर्खाहरूले ऐतिहासिक धोका मानेको छ| युवामोर्चाले गरिरहेको आन्दोलनप्रति टिप्पणी गर्दै तिनले भने, कुनै कार्य योजना विना नै आन्दोलनको घोषणा गर्नु फेरि पनि जनतालाई ठग्नु हो| आन्दोलन कसरी गर्नुपर्छ, आन्दोलन के को निम्ति गर्नुपर्छ, किन गर्नुपर्छ, आन्दोलन गर्नको निम्ति कस्ता शक्ति र नीतिहरूको अनिवार्यता छ भन्ने कुरा नै तय नगरी आन्दोलन गर्छौं भन्नु शिक्षित युवाहरूको निम्ति बुद्दिसम्मत कुरा होइन|

चिया अनि पर्यटन उत्सवमा
लालूपाते हेर्न पैसा?

मनोज वोगटी
कालेबुङ, २६ दिसम्बर|
कालेबुङमा भइरहेको चिया अनि पर्यटन उत्सव पैसा असुल्ने उत्सव बनेको छ| आज यस्तो घटना देखियो जसले सचेतहरूलाई अचम्मै गरी विस्मातमा पारिदिएको छ| किन भने घरघरको आँगनतिर ढकमक्कै फुलिरहेको लालूपाते फूल  हेर्न उत्सव समितिले पैसा तोकेको छ| घटना कस्तो देखियो भने उत्सव आयोजना पक्षबाट जनमुक्ति पार्कको गेटमा पुष्प प्रदर्शनी लेखेको बोर्ड टॉंगेको छ तर प्रदर्शनीमा भने कुनै पनि फूल राखिएको छैन तर पार्कमा पस्नको निम्ति प्रतिव्यक्ति पॉंच रुपियॉं तिर्नु पर्छ| पर्यटन उत्सवको लोगो रहेको पॉंच रुपियॉंको टिकट काटेर पार्कभित्र पस्नेले पार्कमा प्रत्येकवर्ष फुल्दै आइरहेको त्यही लालूपाते बाहेक केही देख्ने छैनन्| सधैँ देखिरहेको पार्कको लालूपाते हेर्नको निम्ति पॉंच रुपियॉं? दागोपापको पार्क्स एण्ड गार्डन विभागले उहिल्यैदेखि लत्याउँदै आइरहेको अनि नगरका वरिष्ट नागरिकहरूको प्रतिदिनको निःशुल्क सेवाको कारण अहिलेसम्म व्यवस्थित रहेको जनमुक्ति पार्कलाई न त जनमुक्ति जोडिएको पार्टीले नै छड्के आँखाले हेर्‍यो न त निकायले नै देख्यो तर उत्सवको नाममा फूल विनाको फूल प्रदर्शनी-को बोर्ड झुण्डाएर पैसा असुल्ने राम्रो मौका भने उत्सव गर्ने विभागले राम्रैगरी देखेको छ| सोझा फूलप्रेमीहरूलाई ठग्ने कार्य त गरेको नै छ उत्सवको वहानामा अरुबेेला पत्तो नदिने निकाय र व्यक्तिहरूले पैसा असुल्ने भॉंडोकोरुपमा पनि राम्रै गरी प्रयोगमा ल्याएको देखिएको छ|  हर्टिकल्चर सोसाइटीले निःशुल्करुपले अहिले पार्कमा फूलहरू रोपिदिएको छ, त्यसैलाई देखाएर उत्सव कमिटीले जनतालाई ठगिरहेको छ| सॉंच्चैमा फूलहरूको प्रदर्शनी गरिएको भए पनि ठगेको होइन भन्न सकिन्थ्यो तर बोर्डमा प्रदर्शनी लेखेर, कुनै प्रदर्शनीबिना, केवल लालूपाते देखाएर प्रतिव्यक्ति पॉंच रुपियॉं उठाउनु उदेकको घटना भएको छ| सूत्रले बताए अनुसार सात लाख रुपियॉंको लागतमा उत्सव चलिरहेको छ| जसबाट फूल प्रदर्शनीमा पनि खर्च गरिनुपर्ने मात्र होइन पार्कलाई रमणीय पनि बनाइनुपर्ने हो| झालाकझिलिक गर्ने विजुली जोडेको बाहेक कुनै पनि कार्य पार्कमा गरिएको छैन| सात लाखबाट गरिएको उत्सवको वहानामा जनताबाट पैसा ठग्ने कार्य विभागले नै गरिरहेको छ| मोर्चाका कालेबुङ सचिव समेत लागेर भइरहेको उत्सवमा देखिएको यस्तो देखादेखि ठग्ने कार्यबारे प्रश्‍न गर्दा शुभ प्रधानले पार्कलाई व्यवस्थित गर्नको निम्ति खर्च चाहिने भएकोले टिकट राखिएको बताए| तिनले जे बताए पनि फूल विनैको प्रदर्शनीको नाममा पैसा असुल्ने कार्य भने युक्तिसङ्गत देखिएन| अर्कोतिर यसै उत्सवको नाममा हजारौं रुपियॉं उठाइने कार्य भइरहेको पनि संकेत पाइएको छ| त्यसको पनि विस्तारै खुलासा हुनसक्ने पनि संकेत पाइएको छ|


साहित्य अकादमी पुरस्कारको निम्ति पुस्तकहरूको ग्राउण्ड लिष्ट तयारीमा
संस्थाहरूको कुनै भूमिका नरहेको खुसाला


कालेबुङ, २६ दिसम्बर|
दुइ जुरी डा.घनश्याम नेपाल अनि डा.राजेन्द्र भण्डारीले जुन साहस देखाएर अकादमी नेपाली भाषा परामर्श समितिभित्र लविङ खेलको उद्घाटन गरिदिएको छ, त्यसको विवादले सेलाउने नाम लिएको छैन| परामर्श समितिले विस्तारै शक्ति प्रदर्शन शुरू गरेको छ भने अधिकांश साहित्यकारहरू भने राम्रो कुराको थालनी भएको अनि यसले पुरस्कारको निम्ति पुस्तक चयनमा भइरहेको लिवङखेल र साहित्यिक भ्र्रष्टचारलाई रोक्दै भ्रष्टचारी र लविङको परम्परा स्थापित गरेर नेपाली साहित्यको बद्नाम गर्नेहरू विरुद्ध संयुक्त आवाज उठ्न पर्ने कुरा चलिरहेको छ| पुरस्कारको चयन प्रणालीमा अकादमीद्वारा मान्यताप्राप्त ६ वटा संस्थाहरूको पनि भूमिका रहेको कुरा परामर्श समिति अनि साहित्यकारहरुले बताइरहेको छ तर आज कालेबुङ नेपाली साहित्य अध्ययन समितिले भने वास्तविकता अर्कै रहेको कुरा खुलाएको छ| अगमसिंह गिरी कार्यक्रममा समितिका सचिव बीबी शर्माले भने, उत्कृष्ट पुस्तक छनौटको निम्ति अहिले ६ वटा अकादमीबाट मान्यता प्राप्त साहित्यिक संस्थाहरूको पनि भूमिका रहेको कुरा सुनिँदै आइरहेको छ| नेपाली साहित्य अध्ययन समिति पनि अकादमीद्वारा मान्यता प्राप्त संस्था हो| यसकारण यसको स्पष्टिकरण दिन अनिवार्य छ| वास्तवमा धेरैवर्षदेखि यी संस्थाहरूलाई पुस्तक चयन गर्ने प्रक्रियाबाट बाहिर राखिएको छ| पहिले संस्थाहरूले राम्रो पुस्तक सिफारिस गर्नुपर्थ्यो तर अहिले त्यस्तो छैन| धेरै वर्ष भयो संस्थाहरूलाई यस्तो दायित्व दिइएको छैन| यसपल्ट पनि कुनै पनि संस्थाको सहभागिता पुस्तक छनौटमा थिएन| यो सिस्टम बन्द गरिएको छ| तिनले अझ भने, विवाद नहुनु पर्थ्यो| विवाद हुनु दुःखको कुरा हो| तर विवादको कारण चयन पद्धति ठीक नहुनु हो कि भन्ने शंका उठ्नसक्छ| नेपाली साहित्य अध्ययन समितिले यसैकारण पुस्तक चयन पद्धति परिवर्तन हुनुपर्ने माग गर्दै आइरहेको हो| अब यो विवादपछि अकादमीले पुस्तक छनौट पद्धतिमा परिवर्तन ल्याउँछ कि भन्ने लागेको छ|
 


0 comments: on "देशभरका गोर्खाहरूबाट मोर्चाले विश्‍वास गुमाएको दाबी मोर्चाले गरेको आन्दोलन, क्षेत्रीय हो भनेर घोषणा गर्नुपर्छ-किरण बीके....चिया अनि पर्यटन उत्सवमा लालूपाते हेर्न पैसा?...साहित्य अकादमी पुरस्कारको निम्ति पुस्तकहरूको ग्राउण्ड लिष्ट तयारीमा संस्थाहरूको कुनै भूमिका नरहेको खुसाला"