मुख्य समाचार :


को हुने नगरपालिकाको अध्यक्ष?

कालेबुङ, 6 नोभेम्बर।
दार्जीलिङ पहाडको चारैवटा नगरपालिकाको चुनाउ हुन अघि नै नगरपालिकाको अध्यक्षको पद्मा को बस्ने भन्ने मात्र होइन नगरपालिका बोर्ड कुन पार्टीले गठन गर्ने भन्नेबारे अहिले विभिन्न अडकलबाजी चलिरहेको छ। अहिलेसम्म कुनै पनि विपक्षमा रहेका दलहरूको अडान चुनाउलाई लिएर स्पष्ट छैन। यता मोर्चा भने नगरपालिकामा सत्ता जमाउन आफ्नो रणनीति निर्माणमा लागिसकेको छ अनि दार्जीलिङ जिल्लामा गोर्खा जनमुक्ति मोर्चा नै बहुमतमा रहेको दल रहेको छ। नगरपालिका सत्तामा पनि मोर्चाकै राज हुन सक्ने पनि प्रवल सम्भावना देखिएको छ।
 किन भने विधानसभा चुनाउमा विपक्षहरूको  दलीयशक्ति स्पष्ट भइसकेको छ भने मोर्चाले पनि आफ्नो शक्तिप्रदर्शन गरिसकेको छ। विधानसभा चुनाउमा विपक्षपार्टीहरू नराम्रो घतले हारेको थियो भने मोर्चाले रेकर्डमतले विजय हासिल गरेको थियो। ठीक अहिले पनि सोही राजनैतिक परिस्थिति पहाडमा आएको छ। विधानसभाको चुनाउको बेला पनि अन्तिमसम्म नै विपक्षले चुनाउ लड्‌ने नलड्‌ने घोषणा गर्न सकेको थिएन। अन्तमा चुनाउ लड्‌ने घोषणा गर्दै शुरूबाट नै कसिलो रणनीति बुनिसकेको मोर्चाको विरोधमा आफ्नो प्रदर्शनी गर्न विपक्षले सकेको थिएन भने अहिले पनि सोही इतिहास दोहोरिने प्रवल सम्भावना छ। एकातिर विपक्षले आपस्तमा बैठक गरेर संयुक्त उम्मेद्वार खडा गर्ने संकेत दिइरहेको छ भने यसमा पनि मन मुटाउ नै हुने देखिएको छ।
 विपक्ष दलहरूमा  कति दल यस्तो छ जसले चुनाउमा भाग लिएको छैन अनि कति दलमा केवल नेता मात्र रहेको छ। यस्तो अवस्थामा सीट आरक्षणलाई नै लिएर विपक्षभित्र मनमुटाउ हुनसक्ने प्रशस्त सम्भावना देखिएको छ। यद्धपि विपक्षहरूमा संयुक्त उम्मेद्वारको सहमति भएमा प्रभावकारी पहल हुने देखिए पनि यस्तो नभएको खण्डमा मोर्चाले नै भारी मतमा चारैवटा विधानसभा क्षेत्रमा आफ्नो बिजय निश्चित गर्ने स्पष्ट छ। जुन दलले धेरै वार्डमा जित हासिल गर्छ बोर्ड उसैको रहेको स्पष्ट छ। यता कालेबुङ नगरपालिकाको कुरा गर्दा कुनदलले बोर्ड गठन गर्छ भन्ने कुरा त परै जाउन्‌ यहॉं को अध्यक्ष बन्नेछ भन्ने समेतको अडकलबाजी शुरू भइसकेको छ। जसमा अग्र पङि्‌क्तमा लिँदैछ मोर्चा स्टडी फोरमका सदस्य पूर्व आइएएस एल. बी परियार। किनभने एल. बी. परियार यसपल्ट 22 नम्बर समष्ट्रिबाट चुनाव लड्‌ने भएका छन्‌।
 मोर्चा महकुमा समितिका सचिव शुभ प्रधानले बताएअनुसार मोर्चा अध्यक्ष स्वंयले नै 22 नम्बर वार्डको सिट परियारको निम्ति आरक्षित गरिदिएका छन्‌। एकातिर मोर्चा नै पहाडमा शक्तिशाली दलको रूपमा रहेको छ अनि त्यसै पनि पूर्व आइएएस परियार जस्ता व्यक्ति मोर्चाको टिकटमा चनाउ लड्‌नु भनेको लगभग तिनको जीत निश्चित हो भन्दा हुन्छ। अनि तिनी नै नगरपालिका अध्यक्ष बन्छन्‌  भन्ने सम्भावना व्यक्त गरिँदैछ किनभने मोर्चा स्डटी फोरमका सदस्य डा. आरबी भुजलले आशय पनि त्यस्तै रहेको छ।
 तिनी भन्छन्‌, कालेबुङमा नगरपालिकाको वोर्ड यस्तो गठन होस्‌, जसमा अध्यक्ष यस्ता व्यक्ति होस्‌ जसलाई हेरेर बाहिरकाहरूले पनि उदाहरणको रूपमा लिन सकून। यसैले नगरापालिका चुनाउअधि नै नगरपालिका बोर्ड अध्यक्षको निम्ति एल. बी. परियार नै सम्भावित व्यक्ति हुनसक्ने अनुमान कालेबुङ नगरमा लगाइन थालेको छ। बङ्गाल राज्यको पञ्चायत सचिवसम्म रहेका प्रतिभावान व्यक्तित्व अहिले आएर नगरपालिका चुनाउ लड्‌ने अनुमान लगाइएको छ अनि जितेर अध्यक्ष नै बनेपनि महकुमा अधिकारीको निर्देश पूर्व आइएसले कार्य गर्नु निक्कै अचम्मको घटना हुन जाने शिक्षाविद्हरू बताउँछन्‌।

0 comments: on "को हुने नगरपालिकाको अध्यक्ष?"