मुख्य समाचार :


चीन सरकारको अत्याचारको विरूद्धमा तिब्बतीहरू सडकमा

कालेबुङ, 6 नोभेम्बर।
चीन सरकारले तिब्बतीहरूमाथि गरेको अन्याय अनि अत्याचारको विरूद्धमा आज कालेबुङका सयौं तिब्बतीहरू सडममा ओर्लिए। दावा जोङ्गा छोलिङ मोनास्ट्रीमा  चीन सरकारले चीन भाषा पढाउन बन्द गरेपछि नै 3 नोभेम्बरमा 32 वर्षीया लमिनी पाल्देन छोस्याङले आफ्नै शरीरमा  पेट्रोल खनाएर आत्मादाह गरेकी थिइन्‌।
 तिब्बती भाषा पठन पाठन बन्द मात्र होइन लमिनीहरूलाई पूजा गर्नबाट पनि रोक लाउन थालेपछि नै चीन सरकारको अत्याचार सहन गर्न नसकेर नै आत्मादाहको क्रम शुरू भएपछि चीन सरकारको विरूद्धमा अहिले भारतमा रहिआएका तिब्बतीहरूको विरोध अझ बढ्‌दै गइरहेकोे छ। दावा जोङ्गा छोलिङ मोनास्ट्रीमा तिब्बतीहरूमाथि भइरहेको अत्याचारको विरूद्धमा आज कालेबुङका तिब्बती सुदायहरूले विक्षोभ प्रदर्शन गरे। हात-हातमा चीन सरकारको विरूद्धमा लेखिएका विभिन्न प्लाकार्डहरू बोकेर व्यापक नाराबाजी गर्दै प्रदर्शनकारीहरूले शहर परिक्रमा गरे।
 स्थानीय मानीलाखाङ गुम्बाबाट शुरू भएको तिब्बतीहरूको जुलूसले शहर परिक्रमा गरेपछि डम्बरचोकमा आइपुगेर व्यापक नाराबाजी गर्दै विक्षोभ प्रदर्शन गरे।
 चीन सरकारले गरेको अन्याय अनि अत्याचारको विरूद्धमा टिब्बेटीयन वेलफेयर एसोसिएसन अनि आरटीवाईसीले निकालेको आजको जुलूसमा दुइ सयभन्दा अधिक तिब्बतीहरू सडकमा ओर्लिएका थिए। दावा जोङ्गा छोलिङ मोनास्ट्रीमा तिब्बतीहरूमाथि भइरहेको अत्याचारलाई झट्ट बन्द गर्नुपर्छ भन्दै टिब्बेटियन वेलफेयर एसोसिएसनका अध्यक्ष केल्साङ छोकीले भनिन्‌, चीन सरकारले तिब्बतीहरूमाथि गरेको अत्याचार हामी सहन गर्न सक्तैनौं। अत्याचारले सीमा नाघ्यो। हामीलाई मानवअधिकार चाहिन्छ। छोलिङ मोनास्ट्रीमा अहिले आर्मीहरूले कब्जा गरिसकेको छ। लामा लमिनीहरूलाई पूजा-पाठ गर्न दिँदैन।
 यसैले अहिले चीन सरकारको अन्याय अनि अत्याचार सहन गर्न नसकेर तिब्बतीहरूले आत्माहत्या गर्दैछन्‌। यसैको विरूद्धमा नै आज कालेबुङका तिब्बतीहरू सडकमा ओर्लिएको बताउँदै अन्तराष्ट्रिय समितिले पनि तिब्बतीहरूलाई सहयोग पुर्‍याउनुपर्ने बताइन्‌।  

0 comments: on "चीन सरकारको अत्याचारको विरूद्धमा तिब्बतीहरू सडकमा"