मुख्य समाचार :


नोभेल्टी परिसरमा मल्टिकप्लेक्स बनाउने योजना 37 परिवारले मोर्चालाई माग्यो तीनदिनको समय


कालेबुङ, 7 नोभेम्बर।
नोभेल्टी परिसरमा रहेको 37 वटा घरहरूलाई तोडेर अत्याधुनिक मल्टिकम्प्लेक्स बनाउने मोर्चाको योजना क्षेत्रबासीहरूको विरोधको कारण अहिलेसम्म पुरा हुन सकेको छैन। नोभेल्टी परिसरमा रहेको मॉं सन्तोषी टोलमा मोर्चाले मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय मोटर स्ट्याण्ड बनाउने योजना बनाएको छ तर  टोलमा रहेको 37 परिवारलाई त्यहॉंबाट अन्यत्र स्थान्तरण गरे मात्र योजना अघि बढ्‌ने छ। मोर्चाको पक्षमा योजना बनाइए पनि स्थानीयहरूले पुर्खाको बास रहेको क्षेत्र योजनाको निम्ति छोड्‌न नसक्ने भएपछि विवाद शुरू भएको थियो। पीडब्ल्युडी विभागले केही परिवारलाई घर हटाउने निर्देश गरेपछि बढेको विवाद मोर्चा  अध्यक्ष विमल गुरूङले पनि साम्य गर्न सकेको थिएनन्‌। क्षेत्रबासीले पुर्खौदेखि बस्दै आइरहेको क्षेत्रमा बिकास नै गर्ने हो भने पनि उनीहरूको भविष्य निश्चित गर्न मात्र होइन उनीहरूलाई जीविकोपार्जन गर्ने अनि बसोबासो गर्ने थलोको पनि ब्यवस्था गरिनुपर्ने देखिएको   थियो। उनीहरूको पुर्खाको पालोमा पनि यसै क्षेत्रमा स्ट्याण्ड बनाउन अघिल्लो प्रशासनले घर हटाउने नोटिश दिँदा प्रशासन र ग्रामबासीबीच मुद्दा नै चलेको जसमा जीत क्षेत्रवासीको भएको  थियो। किन भने मॉं सन्टोषी टोल न त नगरपालिकाको हो न त पीडब्ल्युको नै हो। मोर्चाको प्रस्तावको कारण निर्वासनको परिस्थिति आएकोले मॉं सन्तोषी टोलले यसपल्ट पनि मुद्दा दर्ता गरिसकेको छ। यता गोर्खा जनमुक्ति मोर्चाले भने दुवैपक्षमा कुनै नोक्सान नहुने अनि दुवैको पक्षमा न्याय हुने किसिमको सहमति खोजी रहेको छ। यसैकारण यसबारेमा मोर्चाले बारम्बार नै क्षेत्रवासीसित बैठक गरिरहेको छ। अघिल्लो बैठक निष्कर्षहीन रहेपछि ग्रामबासीले सरसल्लाह गरेर मोर्चालाई निर्णय  दिइने भएको थियो तर दुइचार परिवारको अनुपस्थितिले ग्रामबासीले मोर्चालाई कुनै निर्णय आज दिन सकेन। किनभने मोर्चालाई अघिल्लो बैठकमा ग्रामबासीले आजको दिनमा नै कुनै न कुनै निर्णय दिने बताएको थियो। आज कुनै निर्णय दिन नसकेकोले नै ग्रामबासीले मोर्चालाई निर्णयको निम्ति तीनदिनको समय मागेको छ। बिहिबार क्षेत्रवासीले यसबारे निर्णय दिने बताइएको छ। मोर्चा र ग्रामबासीबीच आज बैठक गरेको थियो जो निष्कर्षहीन रह्यो। यद्यपि बिहिबार मोर्चाले निर्णय सकरात्मक हुने आशा गरेको छ। मोर्चा कालेबुङका सचिव शुभ प्रधानले बताए अनुसार ग्रामवासीलाई मल्टिकम्प्लेक्स बनाइसकिएपछि माथ्लो तलामा स्ट्याण्ड बनाएर तल्लो तलाको पछिल्लोतिर ग्रामवासीलाई पसलको निम्ति स्टल प्रदान गर्ने अनि त्यसको मालिकाना हक दिएपछि मात्र घरहरू तोडिने मोर्चाले ग्रामवासीलाई प्रस्तावना राखेको छ। प्रधानले भने, सोही बिषयमा आज पनि ग्रामवासीसित बैठक भयो। दीर्घमियादी समस्या रहेकोले एक दुइ बैठकले नै यसको निर्णय आउन सक्दैन। आज पनि मोर्चाको पक्षबाट प्रस्तावना राख्ने काम भयो। उनीहरूको निर्णय सकरात्मक आउेन संकेत मिलेको छ। मोर्चा उपाध्यक्ष कल्याण देवान अनुसार गोजमुमोको बिकास गर्ने अभियानमा कसैलाई पनि अन्याय गरिने छैन। बरू उनीहरूलाई मौका, सुविधा र सहुलियत दिन मोर्चा लागीपरेको छ। तिनले भने, कालेबुङका जनताको हितको निम्ति यो कम्प्लेक्स बनाइने छ। यसैबाट क्षेत्रवासीको निम्ति आर्थिक आधार निर्माण गर्ने सोंच पनि मोर्चाको रहेको छ। सहमति हुने कुरा चलिरहेको भए पनि क्षेत्रवासीमा भने निक्कै त्रास फैलिएर गएको छ। उनीहरू अनुसार पुर्खादेखि बसेको घर तोडिनेछ। स्टल केवल पसलको निम्ति दिने हुनसक्छ तर उनीहरूको घर नै तोडिने भएकोले उनीहरुले अहिलेदेखि नै असुरक्षाको भावनाको बोध गरिरहेका छन्‌। टोलका छिमेकी कल्याण संघका अध्यक्ष प्रवीण मोथेले बताए अनुसार निर्णय गर्नअघि धेरै कुरा बुझ्न र जान्न अनिवार्य छ। एक्लैले गर्ने निर्णय नरहेकोले निर्णयमा सम्पूर्ण क्षेत्रवासीको सहमति अनिवार्य छ। मोर्चालाई केही न केही निर्णय सुनाउन नै पर्छ। यसको निम्ति हाम्रो बैठकहरू चलिरहेको छ। कालेबुङको भविष्यको निम्ति नै विकास गर्नु हो भने यहॉं सॉंघुरो ठाउँमा बनाइएको मल्टिकम्प्लेक्स र स्ट्याण्ड पर्याप्त नरहेको अनि भविष्यमा वाहनहरूको संख्या बढ्‌ने अनि यहॉं बनाइएको स्ट्याण्डले नपुग्ने विषयमा उनीहरूले मोर्चालाई पनि अवगत गराइरहेको पनि मोथेले जनाएका छन्‌। क्षेत्रवासीको भविष्यको सवाल अनि मोर्चाको विकासको सपनाबीच बिहिबार आउने निर्णय धेरै महत्वपूर्ण देखिएको त छ नै अर्कोपक्षबाट हेर्नु हो भने बिहिबार पनि निर्णय राम्रो हुन नसक्ने सम्भावना नै बढी देखिएको छ।

0 comments: on "नोभेल्टी परिसरमा मल्टिकप्लेक्स बनाउने योजना 37 परिवारले मोर्चालाई माग्यो तीनदिनको समय"