मुख्य समाचार :


चुनाउअधि नै मोर्चाको विजय उत्सव निर्विरोध निर्वाचित उम्मेदवारहरूलाई नगर पार्षदको प्रमाण पत्र वितरण


कालेबुङ, 19 नोभेम्बर।
11 दिसम्बरमा हुने नगरपालिका चुनाउमा कालेबुङमा रहेको 23 वटा नगरपालिका समष्टिमा मोर्चाविरूद्ध कुनै पनि दल अथवा निर्दलीय प्रार्थीहरू खडा नभएपछि चुनाउ अघि नै मोर्चा उम्मेदवारहरूको निर्विरोध जीत सुनिश्चित बन्यो।  निरिविरोध मोर्चाका उम्मेदवारहरूलाई महकुमा अधिकारी एलएन शेर्पाले   नगरपालिका परिषदको प्रमाण पत्र वितरण गरे। 22 नम्बर वार्डका उम्मेदवार एलबी परियार आज अनुपस्थित रहेपनि रहल अन्यहरूलेे चुनाउ हुनअघि नै नगर परिषदको प्रमाण पत्र लिए। कालेबुङ नगरपालिकामा मोर्चासँग कसैले पनि प्रतिद्विन्दिता नगर्ने भएपछि मोर्चाले नगरपालिका वोर्ड गठन गर्ने निश्चित रहेकोले परिषदको टिकट थापेपछि मोर्चाले आज नै विजय उत्सव पालन गर्‍यो।
मोर्चा उम्मेदवारहरूले आज महकुमा अधिकारीको हातबाट  नगर परिषदको प्रमाण पत्र लिएपछि मोर्चा समर्थक अनि नगर पार्षदहरूले खुशियालीस्वरूप नगरमा जुलूस निकाल्यो भने डम्बरचोकमा एक सभा पनि गर्‍यो। मोर्चा महकुमा समिति अध्यक्ष सरिता राईको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले  कालेबुङ नगरको सर्वाङ्गिन विकासको निम्ति अहिलेको नगर पार्षदहरूमा धेरै जिम्मेवारी रहेको बताए।  तिनले भने, हामीले नगर पार्षदहरूलाई धेरै जिम्मेवारी सुम्पिएका छौं। अब उनीहरूले धेरभन्दा धेर समय जनताको सेवामा खर्च गर्नुपर्छ। कालेबुङ नगरमा धेरै समस्या रहेको छ। पानीको समस्या छ, डम्पिङको समस्या छ। एलबी परियारजस्ता दक्ष व्यक्तित्व यसपल्ट नगरपालिामा छन्‌। नगरको सर्वाङ्गिन विकासको निम्ति  पार्षदहरूले सही रूपमा कार्य गरेर देखाउनुपर्छ।
 नगर भनेको घरको सिटिङ रूम रहेकोले त्यसको स्याहार सुसार गर्न जरुरी रहेको बताउँदै नगरलाई हेरेर नै नगरमा कस्ता मानिसहरू बस्छन्‌ भन्ने बाहिरकाहरूले अडकल लगाउने बताए। सरकारलाई मोर्चाले राम्रोसँग चिनिसकेकोले सानोभन्दा सानो कुरा माग्नपरे पनि बाझ्न नपर्ने स्थिति आउने नगर पार्षदहरूलाई तिनले बताए।   पर्यकटहरूले अबको दुइतीन वर्षभित्रमा कालेबुङको अनुहार परिवर्तन भएको देख्ने पनि तिनले प्रतिवद्धता जाहेर गरे। अहिले कालेबुङमा बाटो, पानी, बस्ने व्यवस्था अनि टुरिस्ट स्पोटहरूले धेर नभएकोले पर्यटकहरूको आगमनमा वृद्धि हुननसकेको बताउँदै पर्यटकहरूलाई यी सुविधाहरू प्रदान गर्न अहिले मोर्चा लागिपरेको तिनले बताए। अर्कोतिर, मोर्चा महकुमा समितिका सचिव शुभ प्रधानले अग्रजहरूले गरेको भूललाई सच्चयाएर पार्षदहरूले कार्य गर्नुपर्ने सभामा बताए। मोर्चा स्टडी फोरमका सदस्य एवं मोर्चा कालेबुङ नगरपालिका चुनाउ समितिका अध्यक्ष आरबी भूजेलले जनताको सहयोग, विपक्षीदलहरूको मौन समर्थन अनि आन्दोलन अवधी मोर्चाले घर दैलोमा गएर लिएको समर्थनकै कारण नगरपालिका चुनाउमा मोर्चाको निर्विरोध जीत हुनसकेको बताए। आगामी चुनाउहरूमा पनि मोर्चाले नै निर्विरोध जीत हासिल  गर्ने विश्वास प्रकट गरे।

0 comments: on "चुनाउअधि नै मोर्चाको विजय उत्सव निर्विरोध निर्वाचित उम्मेदवारहरूलाई नगर पार्षदको प्रमाण पत्र वितरण"