मुख्य समाचार :


मनोजलाई एक्सलेन्स इन जर्नलिज्म

कालेबुङ, 18 नोभेम्बर।
पकेट मनिको निम्ति गाउँमा ढुङ्गा फुटाउने मान्छेलाई पारिवारको आर्थिक समस्याले छोप्दै लग्यो। आफूभित्रको कलालाई भित्र नै दबाएर परिवारको निम्ति कमाउनुपर्ने जिम्मावारीले जेठो छोरोलाई नै छोप्छ, त्यस्तै भयो तिनलाई पनि। गाउँमा नै गाडीमा झुण्डिएर गाडी चलाउन सिके। त्यसपछि तिनी ड्राइभर भए। आज तिनै ड्राइभरले खिचेको फोटो भुटानका रानीले छनौट गरेर भुटानको डाकटिकट बनाइएको छ। आज तिनै ड्राइभरलाई कालेबुङ प्रेस क्लबले एक्सेलेन्सी इन जर्नलिज्मले सम्मान गर्‍यो। ती सम्मानित पत्रकार हुन्‌ कालेबुङ प्रेस क्लबदेवारा प्रसारित दैनन्दिनी च्यानलका भिडियो पत्रकार अनि तक्निकी सम्पादन मनोज राई। मनोज राई जो 18 सेप्टेम्बरको दिनको आएको भुइँचालोपछि आफूसित भएको एउटै हतियार भिडियो क्यामेरा लिएर  पीडितहरुको दुःख बुझ्न गाउँ पसे।
 संरक्षण र प्रवन्धनको उत्तरदायित्व बोकेकाहरूले जब आफ्नो संवेदनशीलता हराउँछ तब दुःखमा परेकाहरूको पीरमर्का दोब्बर हुन्छ। भुइँचालोको भयावह स्थितिपछि लाचार र असाहय बनेका प्रशासन र जनप्रतिनिधिहरू जब एकअर्कालाई उत्तरदायित्व बोकाउँदै बसिरहन्छ तब नै पत्रकारिताले आफ्नो उद्देश्य र धर्म पक्रिन्छ अनि पक्रिनुपर्छ। यही धर्मलाई निभाउन तिनी पनि निक्सिए कालेबुङ महकुमाको अत्यन्त दुर्गम स्थान शंखे र मन्दिर गाउँतिर। अनि देखाइदिए शहरमुखी सभ्यता र शहरकेन्द्रित विकासलाई गाउँको विकराल रुप। तिनले गरेको यी कै कार्यको सराहना गर्दै प्रोस क्लबले तिनलाई यसवर्षको एक्सलेन्स इन जर्नलिज्मले सम्मान गर्‍यो।
तिनलाई विश्षिट अतिथि राष्ट्रिय पत्रकार अरूण कुमारको बाहुलीबाट स्मृति चिह्न अनि प्रशस्तिपत्र प्रदान गरियो।
मनोजले भुइँचालो पीडितहरूलाई राहत पुर्‍याउनको निम्ति ठूलो भुमिका निभाएका थिए। एउटा सरकारले गर्नुपर्ने काम एकजना पत्रकारले  आफ्नो कॉंधमा लिँदै जुन साहस, धर्य र मानवीय गुणले उनलाई अग्रसर गरायो, उनको यही साहसिक र मानवीय कार्यको निम्ति प्रेस क्लब अफ कालेबुङले तिनलाई  एक्सेलेन्सी इन जर्नलिज्म-2011 ले सम्मान गरिरहेको छ-प्रेस कल्बका अध्यक्ष अरुण रसाइलीले भने। महाकालडॉंडा भालूखोप निवासी बीबी राई अनि पम्फा राईकी जेठो छोरा हुन्‌ मनोज। तिनी एक रोजगारहीन परिवारका स्वरोजगारी छोरो हुन्‌। आज राम्रो क्यामेराम्यान-सित नै निर्भिक र जिम्मेवार पत्रकारकोरुपमा चिनिएका छन्‌।
 एक ड्राइभर मान्छेले जीवनमा  सामाजिक दायित्व बोकेर कसरी सफलताको फड्‌को मार्नुपर्छ- मनोजले उदाहरण दिएको छ। बाजेले किनिदिएको यासिका क्यामेराबाट फोटो पत्रकारिता अनि भिडियो पत्रकारिताको भुइँ पक्रिएका मनोज केटीभीपछि अहिले दैनन्दिनी च्यानलका भिडियो पत्रकार हुन्‌।
 तिनले चलचित्र अनि म्युजिक भिडियोमा पनि क्यामेराम्यानको रुपमा काम गरिसकेका छन्‌। डम्फु-तिनले क्यामेरा चलाएको पहिलो म्युजिक भीडीयो थियो। सागर किरणले प्रशान्त तामाङलाई जिताउन निकालेको सबके दिलोंके धडकन, नमोे बुद्धाय भजन, रहर लाग्यो है एल्बमहरु आउँछन्‌ तिनको नामसित जोडिएर।  याक्सुम ड्राइङ्ग, सिक्किमबाट निकालिएको यो एल्बम सिक्किमको इतिहास र संस्कृतिसित सम्बन्धित ऐतिहासिक एल्बम हो। यही एल्बममा मनोज राईले खिचेको भिडियोबाट निकालिएको सांस्कृतिक तस्बीरलाई भुटानको रानीको छनौटमा भुटानको डाक टिकट बनाइएको छ।
यस्ता धेरै एल्बमहरूमा मात्र होइन टेली चलचित्र जस्तै प्रिय मन, तिम्रो बासित पैसा छैन ,सायद, ज्योति बिनाको उज्यालोमा पनि तिनले काम गरेका छन्‌।
चर्चित चलचित्र निर्देशक अमर सराइली, शशि सुनाम अनि नेपालका चर्चित कोरियोग्रफर कमल राईसित पनि मनोजले काम गरिसकेका छन्‌। शंखे अनि मन्दिर गाउँका भुइँचालो पीडितहरूबारे तिनले बनाएको वित्तचित्रबाट प्रभावित बनेर होप फ्यामेली ट्रष्ट अनि विदेशी एक संस्थाले चार परिवारको घर निर्माण गर्ने कार्य गरिरहेको छ। अब पत्रकारितालाई गाउँतिर लगिनुपर्छ-मनोज राई भन्छन्‌। सबैथोक शहरमुखी बनेकोले ग्रामीणवासी किनारामा पर्दैछन्‌। उनीहरूको समस्या र दुःखहरूलाई शहरका पत्रकारहरूले सम्बोधन गर्न सक्नुपर्छ। मेरो प्रयास सही रहेको कुरा प्रेस क्लबद्वारा सम्मानित हुँदा मलाई अनुभव भएको छ-तिनले अझ भने। मनोज राई 24 घण्टा बङ्गला च्यानलका कालेबुङ संवाददाता पनि हुन्‌ भने समय दैनिकसित पनि तिनको संलग्नता रहेको छ।

0 comments: on "मनोजलाई एक्सलेन्स इन जर्नलिज्म"