मुख्य समाचार :


तृणमूल-लिगको डेड घण्टा बैठकः मदन तामङ हत्याराहरू पक्राउ गरे पहाडमा शान्ति फर्किने सम्बन्धमा कुराकानी

सिलगढी सर्किट हाउसमा उत्तरबङ्गाल उन्नयन मन्त्री गौतम देवले अखिल भारतीय गोर्खालिग नेतृत्वहरूसित डेड घण्टा बैठक गरे।
पहाडमा शान्तिको सूत्र खोज्न अनि गणतान्त्रिक बहालीमाथि बैठकमा बहस चल्यो। गौतम देवसित तृणमूल जिल्ला सचिव सुजित कुण्डु लगायक अन्य तीनजना नेताहरू पनि साथमा थिए भने लिगबाट अध्यक्ष भारती तामङ, महासचिव प्रताप खाती अनि केन्द्रिय सदस्य लक्ष्मण प्रधान र थेबा तामङको उपस्थिति रहेको थियो। गोर्खालिगको पक्षमा भारती तामङले पहाडमा शान्ति र गणतन्त्र बहालीको निम्ति मदन तामङ हत्याकाण्डसित जडित गोर्खा जनमुक्ति मोर्चाका नेताहरू विमल गुरूङ, रोशन गिरी लगायत अन्य केन्द्रिय नेताहरूलाई पक्राउ गर्नुपर्ने कुरा गौतम देवसित राखिन्‌। गौतम देवले मदन तामङ हत्याकाण्डबारे आफूहरूलाई सम्पूर्णरुपले अवगत रहेको जनाए। भारती तामङले सीबीआईले लिगलाई दिएको असुविधाबारे गौतम देवलाई अवगत गराउँदै राज्य सरकारले मदन तामङको हत्या सम्बन्धमा कुनै सहयोग नगरेको कुरा बताइन्‌। तिनले मुख्यमन्त्रीसित रहेको मदन तामङ हत्याकाण्डसित संलग्न मोर्चाका नेताहरूले हत्याको जाल बुन्दा गरेको फोन ट्यापिङको डिजिटल फाइल सीबीआईको हातमा दिने अपील पनि गरिन्‌। गौतम देवले यस सम्बन्धमा कोलकातामा मुख्यमन्त्रीसित 15 जूनको निम्ति बैठक गर्ने बताएका छन्‌। यता 16 जुनको दिन मुख्यमन्त्रीले मोर्चाका नेताहरूलाई कुराकानी गर्न बोलाएकी छन्‌। गौतम देवले लिग नेताहरूलाई 17 जुनको दिन फोन गरेर सम्पूर्ण कुरा बताउने आश्वासन दिएका छन्‌। लिगले गौतम देवलाई पहाडमा मदन तामङ हत्यासित संलग्न भगौडेहरू पुलिससित मिलेको अनि स्वतन्त्ररुपले घुमिरहेको कुरा पनि अवगत गराएको छ। यस सम्बन्धमा प्रताप खातीले बताए, आईसी थानामा बस्छन्‌ अनि उनीहरूको श्रीमती मोर्चाको नारी मोर्चामा कुद्‌छन्‌। ओसीको छोरा विद्यार्थी मोर्चामा खट्‌छन्‌। यस्ता प्रशासनिक अधिकारीहरूबाट न्यायको आशा गर्न सकिन्न। गौतम देवलाई पहाडको दागोपाप प्रशासक अनिल बर्मा, जो युकेबाट आफ्नो स्वास्नीलाई प्रताडना गरेको काण्डबाट खेदाइएको छ, जसले मोर्चा अध्यक्ष विमल गुरूङलाई विकासको योजनाहरू बॉंड्‌न पठाउने, कुनै अधिकारीले होइन पहाडमा विमल गुरूङले सरकारी योजनाका शिलान्यास गर्ने, राशिन बॉंड्‌ने, सरकारी भवनमा जीएलपी राख्ने, जीएलपीलाई सैनिकको पोशाक लगाएर भित्रभित्रै विभिन्न किसिमका ट्रेनिङ दिने अनि यसो गर्नमा प्रशासकले सहयोग गर्ने गरेको कुरा पनि लिगले मन्त्रीलाई बताएको छ। उच्च न्यायलयले मदन तामङ, गिरी र कर्णल रमेश आले लगायत अन्यको बेल रिजेक्ट गरेको भए पनि उनीहरूलाई किन पक्राउ गरिएन? भन्ने प्रश्न पनि गौतम देवसित लिगका नेताहरूले गरेका छन्‌। पहाडका जिल्ला शासक, महकुमा शासक, विभिन्न कार्यालयका अधिकारीहरू, इञ्जिनियरहरूको कारण पहाडमा मोर्चाले व्यापक भ्रष्टचार गरेको पोल पनि लिगले खोलेको छ। यस्ता जम्मै अधिकारीहरूलाई पहाडबाट निकालेर स्वस्थ प्रशासनिक व्यवस्थाको निर्माण गर्नुपर्ने माग पनि लिगले राखेको बताइएको छ। अर्कोतिर मुख्यमन्त्री ममता व्यानर्जीले पहाडमा शान्ति ल्याएको राष्ट्रिय गोषणा गरेपनि पहाड भने दिनोदिन अशान्ति रहेको अनि यसको जड मदन तामङका हत्याराहरू खुल्ला घुम्नुले भएको कुरा गर्दै हत्याको डरले नै मोर्चा विरुद्ध कुनै कुरा जनताले गर्न नसक्ने स्थिति रहेको पनि बताइएको छ। गौतम देवलाई लिगले पहाडमा शान्ति र गणतन्त्र स्थापनाको निम्ति मुख्यमन्त्री ममता व्यानर्जीले सम्पूर्ण राजनैतिक पार्टीहरूसित कुराकानी गर्नुपर्ने अनि यसो नगरेर केवल मोर्चाका नेताहरूसित मात्र कुराकानी गरेकोले जनता मुख्यमन्त्रीसित खुशी नरहेको बताइएको पनि प्रताप खातीले बताएका छन्‌। पहाडमा जुन आन्तरिक अशान्ति र अगणतान्त्रिक परिस्थिति छ, ममता व्यानर्जीले यसमा खुशी नरहेको बताउँदै 15 जूनमा मुख्यमन्त्रीसित भएका कुराहरूबारे बैठक गर्ने अनि बैठकमा लिइएका निर्णय 17 जुनको दिन लिगका नेताहरूलाई बताइने आश्वासन दिइएको पनि बताइएको छ।

0 comments: on "तृणमूल-लिगको डेड घण्टा बैठकः मदन तामङ हत्याराहरू पक्राउ गरे पहाडमा शान्ति फर्किने सम्बन्धमा कुराकानी"