मुख्य समाचार :


डम्पिङबारे बैठक निस्किएन कुनै विकल्प

कालेबुङ, 3 नोभेम्बर।
कालेबुङ नगरको मैलामा सबैको खेला भइरहेको छ तर कसैसित पनि मैला व्यवस्थापनको विकल्प छैन। घुमाइ फिराई कि त पुरानै भालूखोपको डम्पिङमा मैला फ्यॉंक्न पर्ने अनि टिस्टा नदीमा फ्यॉंक्न नहुने कुरा वरिपरि नै सङ्गसंस्थाहरू घुमिरहेका छन्‌। न त प्रशासनले, न त नगरपालिकाले न त विधायक न त सांसदले नै कालेबुङको मैला व्यवस्थापनको ठीक समाधान निकाल्न सकिरहेका छन्‌ न त बङ्गालका कुनै पनि मन्त्रीले कालेबुङको मैलालाई सम्बोधन नै गरिरहेका छन्‌।
केही दिन अघि नगर प्रशासनले सङ्घसंस्थाहरूलाई बोलाएर गरेको बैठकमा पुरानै भालूखोपको डम्पिङमा मैला फ्यॉंक्ने  चर्चा चलेको थियो तर त्यहॉं रहेको ज्यानमालको सुरक्षाको प्रश्न अघि  आएपछि बन विभागसित जमीन मागेर एकवर्षको निम्ति अस्थायीरुपले मैला फ्यॉंक्ने प्रवन्ध मिलाउनु पर्ने निष्कर्षसित बैठक समापन भएको थियो। बैठकमा निकालिएको निष्कर्ष अनुसार नगरपालिका प्रशासनले बनविभागसित बैठक गरेर समाधानको सूत्र निकाल्नुपर्ने थियो।  बनविभागसित बैठक गरेर फेरि सबै सङ्गठनहरूलाई बैठकमा बोलाइने  भएको थियो। यता आज सोही समस्यालाई लिएर कालेबुङ संरक्षण समिति अनि गोर्खा दुःख निवारक सम्मेलनले संरक्षण समिति अधिनस्त सामाजिक सङ्गठनहरूलाई लिएर बैठक गर्‍यो। जसमा टिस्टाका प्रतिनिधिहरूलाई पनि निम्तो गरिएको थियो। बैठकमा पीआर प्रधान, प्रफुल्ल राव, उदय कुमाई, सोनम टी भोटिया, आरएल त्रिखत्री तथा अन्यको उपस्थिति रहेको थियो। वैठकमा दुइवटा प्रस्तावहरू रहेको थियो, जसमा पहिलो टिस्टामा मैला फ्यॉंक्न नहुने अनि दोस्रो भालूखोपमा नै मैला फ्यॉंक्न त्यहॉंका सङ्घसंस्थाहरूसित सहमति बनाउनुपर्ने। एक घण्टाभन्दा धेर चलेको बैठकमा निष्कर्षकोरुपमा बन विभागको कुनै पनि जमीन मागेर अस्थायीरुपमा मैला फ्यॉंक्न पर्ने अनि भालूखोपका सङ्घसंस्थाहरूलाई बुझाउन महकुमा प्रशासनले बैठकमा बोलाएर उपाय निकाल्ने प्रस्ताव लिइएको छ। प्रस्तावलाई  नगरपालिका प्रशासन समक्ष पठाइने भएको छ।
 अर्कोतिर महकुमा प्रशासन, विधायक अनि केही सङ्गसंस्थाहरूले भालूखोपमा नै मैला फ्यॉंक्न पर्ने सोंच मनमा खिलेर राखेको देखिएको छ। यसैकारण नै कुरा घुमाइ फिराई भालूखोपमा नै पुर्‍याइने गरेको घटना धेरै पल्ट देखापरिसकेको छ। यता भालूखोपमा एक वर्ष त के एकै महिना पनि मैला फ्यॉंक्न सम्भव छैन किन भने  त्यहॉं मैला केवल दुर्गन्धको कारणले मात्र होइन अव्यवस्थितरुपले मैला फ्यॉंक्ने गरेकोले मैलाको थाक पैह्रोमा रुपान्तरित हुँदा डम्पिङ मुनीका 45 वटा घरलाई क्षति पुर्‍याएकोले मैला फ्यॉंक्न क्षेत्रवासीले बन्द गरिदिएको थियो। यसै पनि सुप्रिम कोर्टले नगरछेउमा खुलारुपले मैला फ्यॉंक्न बन्द गरिदिएको छ। यसरी मैला फ्यॉंक्नेलाई कानून कार्वाही हुनेछ। धेरैवर्षको संघर्षपछि बन्द गरिएको मैला फेरि क्षेत्रवासीले फ्यॉंक्न दिने कतैबाट पनि सम्भावना छैन। विस्तारै भालूखोपमा मैला फ्यॉंक्ने र नफ्यॉंक्ने कुरामा राजनीतिकरण हुने सम्भावना पनि व्यापक बनेको छ। क्षेत्रवासी भने कुनै पनि परिस्थितिमा मैला फ्यॉंक्ने कार्य भए मुद्दा दर्ता गर्न बाध्य हुने विचारमा अडिग रहेको देखिएको छ। भालूखोपमा मैला फ्यॉंक्दा जुन समस्या देखापर्ने देखिएको छ त्यसलाई ध्यानमा राखेर नगर प्रशासनले नगरपालिका कै खाली ठाउँ कि त बन विभागसित सम्झौता गरेर मैला फ्यॉंक्ने कार्य गर्न नै उचित रहेको पनि देखिएको छ भनेे  अर्कोतिर दिनमा 35 टन निस्कने  मैलालाई एकैदिनमा रिसाइकल गर्ने प्रणालीको विकास गरेर समस्या समाधान गर्न सकिने पनि धेरैको मत रहेको छ।

0 comments: on "डम्पिङबारे बैठक निस्किएन कुनै विकल्प"