मुख्य समाचार :


समस्याको घारीमा चुनाउ नगर बचाउको दायित्व नगरवासीमामा

कालेबुङ, 3 नोभेम्बर।
कहिले नयॉं बोर्ड आउने र मुक्ति पाऊ भइरहेको छ, केही दिन अधि डम्पिङको समस्यालाई लिएर रामकृष्ण रङ्गमञ्चमा डाकिएको बैठकमा अहिले कालेबुङ नगरपालिकाका कार्यवाहक प्रशासक रहेका महकुमा अधिकारी एलएन शेर्पाले यसो भनिरहेका थिए। तिनले यसो भन्नुको कारण थियो नगरपालिकाभित्र रहेका लाखौं समाधानहीन समस्याहरू।  एउटा त थियो डम्पिङ, जुन समस्या गोरामुमोका पार्षदहरू खेदाएर बसेका गोजमुमोका पार्षद र नगराध्यक्षहरूले निम्त्याएका थिए। पश्चिम बङ्गाल पोल्युसन कन्ट्रोल बोर्डबाट पैसा आएको अनि शीघ्र नै डम्पिङ बनाउने भन्दै भालूखोपका आन्दोलनकारीहरूसित सम्झौता गर्ने गोजमुमोका तिनै नगराध्यक्षहरू थिए। उनीहरूले डम्पिङ त बनाएनन्‌ नै बोर्डबाट पैसा आएको कुरा पनि झुटो निस्कियो। वास्तवमा झुट बोलेर तत्कालीन समस्या टार्ने जुक्ति गरिएको यसपालाका कार्यवाहक प्रशासकबाट खुलिएको थियो। कुनै पनि राजनैतिक दलहरूले नगरपालिकाको पदको लोभ यतिविग्न गरेको इतिहास छ कि नगरपालिकामा पस्नको निम्ति दसवटा पार्टी फेर्न पनि नेताहरू तयार हुने गरेका छन्‌। अहिले नगरको सुन्दरीकरणको कुरा चलिरहेको छ। जीटीएबाट मल्टिकम्प्लेक्स बनाउने अनि उच्च तक्निकीय स्ट्याण्ड बनाउने योजना पनि चलिरहेको छ। तर नोभेल्टी सिनेमाघर नजिक हेरिएको जमीनमा विवाद छ। जुन जमिनबाट उच्छेद गर्न स्थानीयहरूलाई नोटिश दिइयो, त्यो जमीन न त नगरपालिकाको हो न त पीडब्ल्युडीको। जमीन हो बनविभागको तर नगरपालिकाले त्यहॉंका घरहरू उच्छेद गर्ने बताइरहेको छ अनि यसमा राजनैतिक दवाब हाबी बन्दै गइरहेको छ। सोही नजिक रामाशङ्‌करको घर हटाइयो तर तिनलाई विकल्पमा केही दिएन।
अघिबाट नै राजनैतिक दलका नेताहरू जो नगरपालिका चलाउँछन्‌ उनीहरूले नगरमा अवैद्धरुपले घर बनाउने अनुमति दिने गरेको पनि खुलिन थालेको छ। 10 माइलमा सात तले घर उठाइएको छ अनि त्यसलाई भत्काउने नोटिश पनि दिइएको छ तर अहिलेसम्म भत्काइएको छैन। नगरमा रहेका मोठ 9 वटा नगरको मैला जम्मा गर्ने ट्याङ्‌कीहरूमाथि अहिले घर बनाइएको छ अनि त्यसको अनुमति पनि उसरी नै नगरपालिका चलाउने नेताहरूले प्रदान गरेको खुल्दै गइरहेको छ। नगरमा यस्ता अवैद्धरुपले घर बनाउने, पसल थाप्ने अनि सरकारी सम्पति नष्ट गर्दै त्यहॉं बिल्डिङहरू उठाउने जति पनि कार्य भएको छ त्यो पनि राजनैतिक दलहरूले नगरपालिका चलाउँदा नै भएको देखापरेको छ। यस्तोमा अहिले फेरि नगरपालिका चुनाउको निम्ति राजनैतिक दलहरुले नगरपालिकामा राल चुहाउन शुरू गरेको छ।
 सचेतहरू अनुसार कुनै पनि राजनैतिक दलले चुनाउ लड्‌नुभन्दा सचेत र शिक्षितहरूले नै चुनाउ लडेर आफ्नो नगरको हीतको कार्य गर्नुपर्छ। राजनैतिक दलमा यस्ता नेताहरू छन्‌, जसलाई तिनले पार्टीमा खटेको वा तिनको परिश्रमको आधारमा टिकट दिनुपर्ने स्थिति बनिरहन्छ। तिनी यसकारण उठ्‌छन्‌ कि नगरपालिका तिनकोे निम्ति पैसा कमाउने मिशिन हो। अघिल्ला नेताहरूले नगरपालिकाबाट प्रशस्तै पैसा कमाएकोले त्यसको सिको गर्न नगरपालिका चुनाउमा उठ्‌न पार्टीभित्र लडाईँ हुने गरेको छ।
 यसपल्ट अन्य राजनैतिक दलहरूले नगरपालिका चुनाउको निम्ति उस्तो उत्साह देखाएको छैन तर गोजमुमोभित्र आन्तरिक मामिला निक्कै गर्मिन शुरू भइसकेको छ। टिकटको निम्ति आन्तरिक झमेला र द्वन्द्व पनि शुरू भइसकेको छ। कतिपय यस्ता नेताहरू चुनाउ लड्‌न चहान्छन्‌ जसलाई नगरपालिका प्रशासनको ज्ञान छैन अनि पार्टीमा खटेकोले पैसा कमाउन चहान्छन्‌। यसपल्टको चुनाउमा कालेबुङका जनताले यस्ता कुराहरूलाई ध्यानमा राखेर नै नगरको हित हुने निर्णय गर्नुपर्ने यसकारण देखिएको छ किन भने यसपल्ट कालेबुङ कार्यावाहक प्रशासक एलएन शेर्पाले नगर सुन्दरीकरणको निम्ति धेरैवटा योजनाहरू शुरू गरिसकेका छन्‌, जसलाई निरन्तरता दिन सकियोस्‌। पैसा कमाउन र घर-गाडी किन्ने नेताहरूलाई नै नगरपालिका सुम्पिने हो भने कालेबुङ नगरपालिकाभित्र देखापरेका समस्याहरूको पहाड कुनै दिन सगरमाथाभन्दा पनि अग्लो भएर जाने पक्का छ।

0 comments: on "समस्याको घारीमा चुनाउ नगर बचाउको दायित्व नगरवासीमामा"