मुख्य समाचार :


मोर्चाले छुट्टैराज्यको मुद्दाबाट उठायो हात अब जनता गोर्खाल्याण्ड राज्यको पक्षमा जाने कि जीटीएको?

कालेबुङ, 22 नोभेम्बर।
मायावतीले छुट्टैराज्यको आन्दोलन गरिरहेका छौं भन्नेहरूलाई गतिलो परीक्षामा उतारेको छ। किन भने तिनले देशभरिका छुट्टैराज्य पन्थीहरूलाई आफ्नो मुद्दाको उठान गर्ने ठूलो अवसर निर्माण गरिदिएका छन्‌। विभिन्न राज्यहरूलाई मात्र होइन छुट्टैराज्यको आवाज उठाइरहेको राजनैतिक दलहरूलाई पनि मायावतीले चुनौती दिएकी छन्‌। तर जब छुट्टै राज्य गोर्खाल्याण्डको सन्दर्भ आउँछ तर सबैले गोर्खा जनमुक्ति मोर्चातिर फर्किएर हेर्छ, त्यो मोर्चा जो छुट्टै राज्यको निम्ति केन्द्र र राज्यलाई सहमत गराउन नसकेको कारण नै दागोपाप झैं अर्को व्यवस्थामा हस्ताक्षर गरेर बसेको छ। मोर्चा अध्यक्ष विमल गुरूङले भने, हामी जत्तासुकै झम्टिने होइनौं अनि जीटीएबाट नै छुट्टैराज्यसम्म पुग्न चहान्छौं। तिनले स्पष्ट पारिदिए कि गोजमुमो अहिले नै छुट्टै राज्यको पक्षमा छैन। जसरी गोरामुमोले तीनवटा राज्य गठन हुँदै गर्दा दागोपाप समातेर बसेको थियो, त्यही घटना पहाडमा फेरि दोहोरियो। मोर्चा अहिले जीटीए समातेर बसेको छ। मोर्चाका तीन विधायकहरू अनि मोर्चा कै सांसद जसवन्त सिंहको दायित्वप्रति अहिले ठूलो प्रश्न चिह्न खडा गरेको छ। तर कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री अनुसार राज्य छुट्टैराज्यको पक्षमा छैन अनि तीन विधायकले विधानसभामा छुट्टैराज्यको आवाज उठाउनै सक्तैन। कंग्रसे अधिनस्त रहेको सरकारमा बीजेपीका हेविवेट नेता जसवन्त सिंहको कुरालाई कसैले पत्याउने नदेखेपछि अनि मोर्चाले छुट्टैराज्यको निम्ति अवगत गराउन नसक्ने मात्र होइन मोर्चालाई छुट्टैराज्यको मुद्दा उठाउन नसक्ने परिस्थितिमा राज्य र केन्द्रले पारेपछि मोर्चा अहिले छुट्टैराज्यको मुद्दामा असाहय बनेको छ। सांसदको कुरा खाने नदेखेपछि अनि विधायकहरू राज्यका तृणमूल गुटबन्दीको अघि चुइँ बोल्न नसकेपछि मोर्चा छुट्टैराज्यको कुरा आयो कि तर्किनेे गरेको छ। अहिले देशभरि नै छुट्टैराज्य पन्थीहरूलाई मायावतीले उर्जा प्रदान गरेको छ अनि अहिले आ-आफ्नो राज्यमा पनि दवाब बनाउने अन्य छुट्टैराज्य पन्थीहरूले गरिरहेको बेला मोर्चाले भनिरहेको छ कि मोर्चा अहिले नै छुट्टै राज्य चहॉंदैन।
 तर किन मोर्चा अहिले नै छुट्टैराज्य चहॉंदैन जब कि छुट्टैराज्यको निम्ति राज्य सरकारलाई दवाब दिने परिस्थिति बनेको छ, यसबारे भने मोर्चा मौन छ। सबै कुरालाई विकाससित जोडेर हेर्ने मोर्चाले गोरामुमो कै बाटो अप्नाउँदै अन्तमा विकाससित छुट्टैराज्यको मुद्दा साटेको स्पष्ट भएको छुट्टैराज्य पन्थी राजनैतिक दलहरूले भनिरहेको छ। भागोपले अहिले दिल्लीमा अनि क्रामाकपाले विभिन्न क्षेत्रमा छुट्टैराज्यको निम्ति सहमति बटुल्ने कार्य गरिरहेको बेला ठूलो दल मोर्चा भने विकास, पैसा र चौकी कै कुरा गरिरहेको छ। छुट्टैराज्यको निम्ति अब शीघ्र नै गोजमुमोको विकल्प पार्टी तयार गरिरहेको अनि राष्ट्रियस्तरमा फोरम तयार गरिरहेको बताउने पिपल्स फोरमले मोर्चाले मुद्दा बेचेको कारण नै परिस्थिति रहेको बेला पनि हाक्का हाक्की गोर्खाल्याण्डको विरोध गरिरहेको बताउँदै मोर्चा बेचिएको स्पष्ट रहेको बताएको छ। फारमका महासचिव प्रवीण गुरूङले मायावतीले देशमा छुट्टैराज्यको निम्ति आन्दोलित दल र सङ्गठनहरूलाई गतिलो परिस्थिति बनाइदिएको बताए। तिनले भने, मोर्चा आफैले छुट्टैराज्यको निम्ति देशमा परिस्थिति बनाउन सक्तैन, यसैकारण नै मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई बेचेर विकाससित साटेको हो। तिनले सांसद जसवन्त सिंहले यतिबेला छुट्टै राज्यको कुरा उठाउनु पर्ने अनि तीन विधायकहरूले विधानसभामा राज्य सरकारलाई दवाउ गर्नुपर्ने बताउँदै भने, ममताको अघि मात्र होइन तृणमूलका कुनै एक विधायकको अघि पनि मोर्चाका विधायकहरूले छुट्टैराज्यको कुरा उठाउन सक्दैनन्‌। उनीहरू छुट्टैराज्यको कुरा उठाउन नसकेको कारण नै जीटीएतिर फर्किएका हुन्‌। यता गोर्खालिग नेता प्रताप खातीले मायावतीको कुरालाई राजनैतिक इच्छाशक्तिको एउटा ज्वलन्त उदाहरण बताएका छन्‌।तिनले त सोझै भने,  विमल गुरूङ मदन तामङका काउण्टर नेता थिए। मदन तामङ छुट्टैराज्यको मुद्दामा अडिग रहेको देखेर नै विमललाई जन्माइयो अनि जनतालाई सताउने आन्दोलन गर्दै, संसाधनहरू नष्ट गर्दै, सबैलाई आर्थिक चपेटमा पारेपछि जीटीएमा आएको हो। तिनी अनुसार एकजना काउण्टर नेताको काम घिसिङको चौकी र पावरमा  केही कुरा थपेर पहाडमा राजनैतिक वर्चस्व कायम गर्नु हो। जो अहिले मोर्चाले गरिरहेको छ। यता राजनैतिक सचेतहरू अनुसार छुट्टैराज्यको आन्दोलन पहाडमा होइन दिल्लीमा गरिनुपर्छ। छुट्टैराज्यको निम्ति सांसदहरूलाई सहमतिमा ल्याइनुपर्छ तर त्यही कार्य मोर्चाले गरेन। मोर्चाले आन्दोलनलाई राज्य केन्द्रित मात्र गरेन छुट्टै राज्यसित नै पैसा र विकासको कुरा गरेकोले नै जीटीएमा मोर्चा पुगेको हो, अनि मोर्चाको राजनैतिक इच्छाशक्ति पनि जीटीएसम्म नै थियो। अहिले मोर्चा जीटीए नै समातेर बस्ने बताइरहेको छ तर जनताको आकांक्षा भने छुट्टैराज्य हो। अहिले छुट्टैराज्यको निम्ति आवाज उठाउने परिस्थिति बनिरहेको बेला पहाडका जनता जीटीए नै समातेर बस्ने हो कि छुट्टैराज्यको निम्ति सडकमा ओर्लिने हो, निर्णय जनताको हातमा नै रहेको छ।  

मायावतीको निर्णयले उर्जा प्रदान गरको छ-भागोप

कालेबुङ, 22 नोभेम्बर।
उत्तर प्रदेशलाई चारवटा राज्यमा विभाजन गर्ने प्रस्तावलाई मायावती सरकारले विधानसमाभा पारित गरिदिएपछि गोर्खाल्याण्ड पन्थीहरूमा पनि नयॉं आशा र उत्साह जागेर आएको भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय कार्यकारी अध्यक्ष एनोस दास प्रधानले बताएका छन्‌। मयावतीको यस दह्रिलो कदमलाई स्वागतयोग्य बताउँदै तिनले भने, झण्डै झण्डै गोर्खाल्याण्डको आवाज मरेको बेलामा, अब गोर्खाल्याण्ड चॉंहिँदैन, गोर्खाहरूको समस्या सँधैभरिको निम्ति सुल्झियो भन्ने अवधारणा भारत सरकारमा पुगिसकेको समय मायावती सरकारले लिएको निर्णयले छुट्टै राज्य माग्नेेहरूको निम्ति उर्जा अनि प्रेरणा प्रदान गरेको छ। ममताले गोर्खाहरूको निम्ति छुट्टै राज्य नमागोस्‌ भनेर निकालेको जीटीएको फर्मूला अन्य  छुट्टै राज्य माग्नेहरूलाई पनि देखाएर 'सन्तुष्ट बन' भनिरहेको समय नयॉं राज्य बनिने जुन सम्भाब्यता मायवती सरकारले देखायो त्यसले गोर्खाल्याण्ड, विदर्भ, तेलेङ्गना आदिको माग भारतीय राजनीतिमा फेरि दह्रिलो गरेर चम्कन्छ भन्ने आशा बढेर गएकोे प्रधानले बताए। यद्यपि अहिले दार्जीलिङ पहाडमा शक्तिशाली रहेको दल गोर्खा जनमुक्ति मोर्चाले भने अलग राज्यको निम्ति होइन तर जीटीए गठनमाथि ध्यान केन्द्रित रहेको बताएपछि प्रधानले यो मोर्चाको नितान्त व्यक्तिगत राजनैतिक वाध्यता हुनसक्ने बताए। तिनले भने, मोर्चाको गठन गोर्खाल्याण्डकै निम्ति भनेर भएको हो। गोर्खाल्याण्डकै निम्ति विधानसभा चुनाउ पनि लडेको हो। तर मोर्चाले अहिल नैे गोर्खाल्याण्ड गठन हुन सक्तैन, गोर्खाल्याण्ड धेरै टाडो छ, जीटीए नै सम्हाल्नुपर्छ भन्नु उनीहरूको राजनैतिक वाध्यता हुनसक्छ। तिनले भारतीय गोर्खा परिसङ्घको कार्यक्रमबारे बताउँदै भने, जीटीएले गोर्खाल्याण्डको आवाज मधुरो पारिदिएको बेला जम्मै राजनैतिक दलहरूलाई लिएर गोर्खाल्याण्डको आन्दोलन चर्काउने जमर्को कसेका छौं। सडकमा मात्र होइन संसदमा पनि गोर्खाल्याण्ड मागको औचित्य बुझाउने कार्य गरिरहेको छौं। तिनी अनुसार भारतीय गोर्खा परिसङ्घले फेरि 28 नोभेम्बरको दिन सबै राजनैतिक दलहरूलाई लिएर बैठक गर्नेछ। अखिल भारतीय गोर्खालीग, क्रामाकपा अनि गोरानिमोलाई लिएर 7 देखि 15 दिसम्बरसम्म संसदको शीतकालीन समयअवधी सबै राष्ट्रिय राजनैतिक दलहरूलाई भेटेर गोर्खाल्याण्ड मागको औचित्य बुझाउने भागोपको कार्यक्रम रहेको पनि तिनले बताए।   

घिसिङ र मोर्चामा केही फरक छैन-क्रामाकपा
कालेबुङ, 22 नोभेम्बर।
मयावती सरकारको पहललाई क्रान्तिकारी माक्सवादी कम्यूनिष्ट पार्टीले पनि स्वागतयोग्य बताएको छ।
 क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राईले भने, सानो राज्यद्वारा नै त्यस इलाकामा रहेका मानिसहरूको सर्वाङ्गिन विकास हुनसक्छ भन्ने कुरा अहिले राष्ट्रिय पार्टीहरूले पनि बुझिसकेको छ। त्यही नै सत्य पनि हो। बङ्गालमा बामपन्थी शासनको समयमा होस्‌ अथवा अहिले तृणमूल सरकारको समयमा जातीय वर्चस्व कायम राख्न अनि भोटको राजनीतिलाई प्रधानता दिएर सिङ्गो, खॉंटी भारतीय नागरिकहरूलाई गणतान्त्रिक र संवैधानिक अधिकारदेखि वञ्चित गराउने षडयन्त्र भइरहेको छ।बङ्गालले पनि जातीय र सत्तालोलुप नभइकन छुट्टै राज्य गोर्खाल्याण्ड मागको सही निर्क्योल गरेर समर्थन गर्नु नै देशको हितमा र राजनैतिक पार्टीको जनताप्रतिको कटिवद्धता र विकासको निम्ति सही निर्णय हुने बताएका छन्‌। अहिले मोर्चाले पार्टीगत स्वार्थ मात्र हेरिरहेको बताउँदै तिनले भने, जीटीएमा हस्ताक्षर गरेपछि उनीहरूले आफ्नो दुर्बलता र कमजोरीहरू लुकाउने प्रयास गरिरहेको छ। सम्झौतापछि पनि मोर्चाले हाम्रो लक्ष्य गोर्खाल्याण्ड नै हो भनिरहेपनि अहिले उत्तर प्रदेशलाई विभाजन गरेर चारवटा राज्य बनिने मायावतीले विधानसभामा प्रस्ताव पारित गर्दासमेत मोर्चाले हामी जीटीएकै पक्षमा छौं भनिरहेको राईले बताए।
 तिनले सुवास घिसिङ र गोजमुमोमा केही फरक नरहेको बताउँदै भने, अघि तीनवटा राज्य गठन हुँदा गोरामुमो नेता सुवास घिसिङ बोलेनन। गोर्खाल्याण्ड आफै हुन्छ भन्ने विचारधारा पोखेर दागोपाप नै चलाइरहे।  भारतभित्र तीनवटा छुट्टै राज्य गठन हुँदा जसरी सुसाव घिसिङ मौन बसेका थिए अहिले मोर्चाले पनि त्यही दिशा निर्देष गरिरहेको तिनले बताए। छुट्टै राज्य गठन भए देशको अखण्डताको प्रश्न उठाउने अनि देश नै दुर्बल हुन्छ भन्ने राजनैतिक पार्टीहरूलाई पनि मायावती निर्णयले तर्कविहिन बनाइदिएकोे तिनले बताए।

0 comments: on "मोर्चाले छुट्टैराज्यको मुद्दाबाट उठायो हात अब जनता गोर्खाल्याण्ड राज्यको पक्षमा जाने कि जीटीएको?"