मुख्य समाचार :


नगरपालिकामा असाहय विपक्ष

मनोज वोगटी
कालेबुङ, 8 नोभेम्बर।
सधैँ झैं यसपल्ट पनि नगरपालिका चुनाउ विपक्षको निम्ति चुनौति बन्यो। फेरि पनि छुट्टैराज्यको सवालसित जोडेर विपक्षका दलहरूले नगरपालिका चुनाउमा नउठ्‌ने संकेत दिइरहेको छ। छुट्टैराज्यको निम्ति एकमत रहने सबै विपक्षसित तर जनमत छैन। विधानसभा चुनाउले स्पष्ट पारिसकेको छ कि कुन दल कति पानीमा छ। केवल एउटै दल क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको मात्र पोल खोलिन सकेन बॉंकी सबै दलहरू जो जो चुनाउ लड्यो, छर्लङ्ग बन्यो कि उसित कति जनता साथमा छन्‌। क्रामाकपा चुनाउ लडेन अनि भन्यो कि विधानसभा चुनाउ सबैभएर गोर्खाल्याण्डको निम्ति लडौं। एक्लाएक्लै लड्‌नु चौकी र पैसाको राजनीति हो। यहॉंसम्म त ठीकै छ तर क्रामाकपाले नगरपालिका चुनाउ पनि लड्‌न सकेन। वास्तवमा क्रामाकपालाई आफ्नो कार्यबलमाथि विश्वास छैन यसैकारण नै कुनै पनि चुनाउको बेला छुट्टैराज्यको सवाल बोकेर नलड्‌ने शंखघोष गर्छ। घुरेन नबॉंधी घडेरीको कल्पना गर्नेहरू यसै पनि महामुर्ख हुन्‌, क्रामाकपाको दिशा यसै उक्तितिर लम्किरहेको राजनैतिक सचेतहरू ठान्छन्‌। मुख्यगरी चुनाउको सवालमा क्रामाकपाको आत्मविश्वास कमजोर देखिएको छ।
 विधानसभा चुनाउमा क्रामाकपाले भोट नहाल्ने भयो तर गोर्खा जनमुक्ति मोर्चाले रेकर्डमतले बिजय प्राप्त गर्‍यो। सबै मतहरूलाई जोड्‌दा स्पष्ट थियो कि नहालिएका मतहरू कति उब्रिए। ती उब्रिएका मतहरूमा नै क्रामाकपाको 'होल्ड' नाप्ने कार्य हिसाब जान्नेहरूले गरेको देखिएको छ। यसपल्ट पनि नगरपालिका चुनाउमा क्रामाकपा अनि अन्य ससाना दलहरू जोसित सङ्गठन छ तर कार्यकर्ताहरु छैनन्‌, नलड्‌ने भएको छ। गोर्खालीगले पनि चुनाउ लड्‌न नसक्ने संकेत नै प्रायः दिइसकेको छ तरै पनि लीगले 14 नोभेम्बरको दिन निर्णय गर्ने भएको छ। थाहा लागे अनुसार एक जना उम्मेद्वारले  नामाङ्‌कनपत्र भर्दा दसजना साक्षीहरू साथमा चाहिन्छ। गोर्खा जनमुक्ति मोर्चापक्षबाट विपक्षसित भोट हाल्ने जनता त होइन विपक्षसित नामाङ्‌कन भर्दा चाहिने त्यही दस जना साक्षीसमेत नभएको कुरा आइरहेको छ। मोर्चा पक्षबाट थाहा लागे अनुसार विपक्ष भनेको केवल नगरमा दुइएक जना कार्यकर्ताकोरूपमा छन्‌। जसको मीडिया छैन भने कुनै अस्तित्व नै छैन। मीडियाले उनीहरूको कुरालाई प्राथमिकता दिने भएकोले नै उनीहरू समाचार पत्र अनि लोकल क्याबलहरूबाट  बोल्न पाइरहेका छन्‌। मोर्चाका कार्यकर्ताहरू अनुसार विपक्षले आफू हुनुको परिचय त्यसबेला दिनुपर्छ जब चुनाउ आउँछ अनि त्यसमा प्रतिस्पर्धा उत्पन्न गर्नुपर्छ। जब यसो गर्ने बेला आउँछ विपक्षको सातो नै हराउँछ। गाउँगाउँ, नगरनगर वार्डवार्ड नै मोर्चाका कार्यकर्ताहरू रहेकोले अब विपक्षको टिकटमा को उठ्‌ने भन्ने सावल उत्पन्न भइरहेको जान्नमा आएको छ। कोही पनि दुश्मनी लिन चहॉंदैनन्‌। विपक्षसित मान्छे छैन अनि जो जो पनि उनीहरूको पक्षमा छन्‌, उनीहरू छिमेकीमा रहेको मोर्चाका कार्यकर्ताहरूसित दुश्मनी लिन चहॉंदैनन्‌। यसो हुँदा विपक्षलाई उम्मेद्वार खडा गर्न असुविधा भइरहेको देखिएको छ। एउटा नगरपालिकाको निम्ति जनतालाई सहमत गराउन नसक्ने दलहरूले छुट्टैराज्यको कुरा गरेकोले नै अहिलेसम्म ती दलहरूले जनतालाई आफ्नो पक्षमा तान्न नसकेको हो कि भन्ने कुरा राजनैतिक सचेतकहरूले बारम्बार गर्ने गरेका छन्‌।
 अहिले प्रश्न गणतन्त्रको पनि गरिएको छ तर गणतन्त्र स्थापनाको निम्ति प्रशासनिक क्षमतामा भने आउन सक्दैनन्‌। जनतालाई विपक्षका दलहरूले न त कुनै पनि मुद्दामा स्पष्टसित बुझाउन सकिरहेका छन्‌ न त उनीहरू आफै नै पनि मुद्दाहरूमा स्पष्ट रहेका छन्‌। विपक्षलाई केवल मोर्चाले गरेको कार्यक्रममाथि टिप्पणी गर्नु मात्र नै आफ्नो धर्म लाग्ने गरेको पनि निक्कै सुनिने कुराहरू रहेका छन्‌। जसले कुनै पनि काम गर्न सक्दैनन्‌ उनीहरूले नै अरुले गरेको काममाथि टिप्पणी गर्ने गरेकोले नै गोर्खा जनमुक्ति मोर्चाले ती दलहरूलाई दलकोरुपमा गन्ने नगरेको पनि स्पष्ट हुन्छ। भर्खर भागोपले छुट्टैराज्यको निम्ति दलीय एकताको पहल गर्‍यो। यो पहल हुने सुनेर मोर्चाले ती दलहरूलाई उल्टै शुभकामना दियो। यस्तो देखियो कि मोर्चालाई थाहा छ कि विपक्षका जति नै दलहरू एक भए पनि मोर्चालाई कुनै पनि प्रभाव पार्न सक्दैन। विपक्षले जति पनि चहलपहल गर्छ त्यो मोर्चासितको रिस्‌ र पूर्वाग्रहले नै गर्छ।
 मोर्चाले यस्तो ठान्नु पनि स्वाभाविक देखिएको छ किन भने ती दलहरूले जुन कार्यव्यवहार देखाइरहेका छन्‌, त्यसलाई हेर्दा लाग्दैन कि विपक्षले पहाडमा विपक्षको भूमिका पालन गर्छ। जनताले विश्वास गर्ने लायकको अहिलेसम्म विपक्षका दलहरू कुनै पनि कार्यक्रम बनाउन सकेन। यद्धपि ती दलहरूले हुङ्‌कार भने अहिलेसम्म नै जारी राखेको छ। यसपल्ट नगरपालिका चुनाउमा अंशग्रहण नगरेर फेरि पनि मोर्चालाई नगरपालिकामा बलियो गराउने काम त विपक्षले गरि नै रहेको छ, सधैँभरि मोर्चाको विरोधमा बोलेर दलको अस्तित्व बँचाउने कमजोर कुटनीति पनि गरिरहेको देखिएको छ। नगरपालिका चुनाउलाई लिएर देखिएको विपक्षको असाहयपनले भविष्यका मुद्दा उठानहरूको भविष्य आँक्न सकिने त स्पष्ट नै छ, ती दलहरूले अब अर्कै विपक्ष शक्तिको विकल्पको वातावरण बनाइरहेको पनि देखिएको छ।

0 comments: on "नगरपालिकामा असाहय विपक्ष"