मुख्य समाचार :


महाविद्यालयपक्षलाई कठघरामा उभ्याउने सुन्दासकोे चेतावनी

कालेबुङ, 7 नोभेम्बर।
कालेबुङ महाविद्यालयमा लाब्रेरी भवनको निम्ति गत वर्षको नोभेम्बरमा नै आएको 45 लाख रूपिँयाको टेण्डर आजसम्म नभएकोमा गार्जीयन फोरम फर एडुकेशनको पक्षबाट सहल्लाहकार तारा सुन्दासले आपत्ती जनाएका छन्‌। तिनीअनुसार माकपा सरकारले गत वर्षको नोभेम्बर महिनामा नै लाब्रेरी भवन निर्माणको निम्ति महाविद्यालयलाई 45 लाख रूपिँया प्रदान गरिसकेको छ। महाविद्यालयले आएको राशिलाई आफ्नो एकाउण्टमा पनि सारिसकेको छ। कालेबुङ महाविद्यालयमा लाइबे्ररीको निम्ति सरकारले 90 लाख रूपिँया अनुमोदन गरेको र पहिलो चरणको कार्यको निम्ति 45 लाख रूपिँया दिएको भएपनि वर्षदिन बितिसक्दा पनि टेण्डर समेत नहुनुमा महाविद्यालयपक्षमाथि नै सुन्दासले शंका गरेका छन्‌। महाविद्यालयका दुइचारजना टेण्डर नगराउने पक्षमा रहेको आरोप लगाउँदै तिनले भने, यो कसैले ल्याएको पैसा होइन पहाडको शिक्षालाई उन्नत बनाउ सरकारले दिएको पैसा हो। वर्षदिनसम्म 45 लाखको व्याज खॉंदै काम शुरू गर्न त परैको कुरा टेण्डर पनि नगर्नु के हो? तिनले प्रश्न तेर्साए। तिनले महाविद्यालयपक्ष टेण्डर नै नगरी भित्रभित्रै काम गर्ने पक्षमा रहेको आरोप लगाउँदै भने, 11 नोभेम्बरको दिन शिक्षा मन्त्री कालेबुङ आउने सम्भावना छ। त्यसबेला मन्त्रीको हातबाट लाइब्रेरी भवनको शिलान्यास गरेर महाविद्यालयपक्ष टेण्डर नगराउने पक्षमा छ। यदि महाविद्यालयले  सरकारबाट आएको पैसालाई टेण्डर नगरीकन काम शूरू गरे महाविद्यालय सञ्चालन समितिलाई नै कठघरामा उभ्याउने तिनले चेतावनी दिए। सभापति अनि सचिवविरूद्ध नै कोर्टमा मुद्दा दर्ता गर्ने तिनले चेतावनी दिएका छन्‌। महाविद्यालयपक्षले भवनमा रङ्ग पोत्न सम्ममात्र सक्षम भएको विल्डिङ कमिटी देखाएर टेण्डर नगरी काम शूरू गर्ने योजना बनाएकोले यस्तो गरे उचित नहुने  जनाए। उच्च शिक्षामा परिवर्तन ल्याउन बङ्गाल सरकारले उच्च शिक्षा विषयक कमिटी गठन गरेको भएपनि कमिटिले पहाडको शिक्षा प्रणालीमाथि कुनै ध्यान नै नदिएको आरोप लागाए। गत 9 नोभेम्बरमा कमिटिले सिलगडीको महाविद्यालयहरूमा गएर निरीक्षण गरेको भएपनि दार्जीलिङ पहाडको महाविद्यालयहरूमा भने पाइला नटेकेको बताउँदै सुन्दासले आपत्ती जनाए। दार्जीलिङ पहाडमा रहेको विद्यालय भवनहरू अवस्था दिनोदिन सोंचनीय बन्दै गइरहेको बताउँदै कमिटीले पहाडको शिक्षा प्रणालीमाथि पनि जोड दिनुपर्ने बताए। कालेबुङ महाविद्यालयको यसपल्टको परीक्षा परिणामप्रति पनि तिनले असन्तोष व्यक्त गर्दै यसप्रति महाविद्यालयपक्षको उदासीनताप्रति पनि प्रश्न उठाए। 

0 comments: on "महाविद्यालयपक्षलाई कठघरामा उभ्याउने सुन्दासकोे चेतावनी"