मुख्य समाचार :


राफ्टिङ चलाएर गुजारा गर्ने 200 परिवारको भविष्य अन्धकारमा

मनोज वोगटी
कालेबुङ, 3 नोभेम्बर।
 टिस्टा नदीमा राफ्टिङ चलाएर जीविकोपार्जन गर्ने 200 परिवारको भविष्यमाथि कालो बादल छाउन थालेको छ। उनीहरूको भविष्यमा मात्र होइन नदीपर्यटन अथवा राफ्ट टुरिज्मनै संकटमा पर्ने देखिएको छ। टिस्टा नदीमा भइरहेको लगभग तीनसयवटा परियोजनाको कारण नदीको पानी सुक्दै गइरहेकोले टिस्टाको राफ्टिङ पर्यटनमाथि छाएको संकटले अब जोर पक्रिने अनि राफ्टिङ नै बन्द हुने स्थितिमा पुगेको छ। पानीको स्रोत सुकेकोले अबको 6 महिनाभित्र राफ्टिङ बन्द हुने अवस्थामा पुगेको छ। टिस्टा नदीमा चलिरहेको राफ्टिङ यस क्षेत्रको पर्यटन धरोहर रहेको छ भने आम्दानीको राम्रो आधार पनि रहेको छ। तर अब टिस्टा नदीमा सायदै कुनै पनि पर्यटकहरूले केही दिनपछि राफ्टिङको आनन्द लिँदै पहाडको चिसो पानीमा रमाइलो गर्न नपाउने देखिएको छ।
 देश विदेशका पर्यटकहरू अब टिस्टा नदीको पानीमा राफ्टिङमा चढेर आनन्द उठाउँदै रमाउने दिनहरू घट्‌दै गइरहेको छ भने अर्कोतिर राफ्टिङ चलाएर गुजारा गर्नेहरूको भविष्य पनि अनिश्चित बन्दै गइरहेको छ। राफ्टिङ बन्द भए टिस्टामा पर्यटकहरूले आननन्द उठाउन त पाउँदैनन्‌ नै राफ्टिङ चलाएर जीवन चलाउनेहरूको चुला पनि नजल्ने सम्भावना बढेर गएको छ। विशेष टिस्टा नदीको विभिन्न स्थानहरूमा एनएचपीसीले ड्यामहरू बनाएको कारण यस्तो संकट उत्पन्न भएको हो।  विभिन्न स्थानहरूमा एनएसपीसीले टिस्टा नदीमा जलविद्युत परियोजना बनाउन थालेपछि अहिले हिउँदको दिनहरूमा टिस्टा नदी जलविहीन हुने अवस्थामा पुगेको छ। सँधै उर्लेर बग्ने टिस्टा अहिले सुकेर खोल्सा जस्तै बग्दै गइरहेको जसको कारण टिस्टाको पर्यटन व्यवसायमा निर्भर राफ्टिङको भविष्यमाथि नै  प्रश्न चिन्ह खडा भएको छ। एकातिर राफ्टिङ व्यवसायमाथि सङ्‌कट उत्पन्न भइरहेको छ भने अर्कोतर्फ राफ्टिङ चलाएर जीवन धान्ने लगभग दुइसयभन्दा अधिक परिवारहरू पनि यसबाट प्रभावित हुने सम्भावना बढेर गएको छ। एकातिर गोजमुमोले पहाडमा पर्यटन व्यवसायमाथि जोड दिएको छ भने अर्कोतिर सन्‌ 1996 देखि टिस्टा नदीमा शुरू भएको रिभर राफ्टिङ भने सङ्‌कटको घेरोमा पर्न गएको छ। टिस्टा नदीमा राफ्टिङ व्यवसायमाथि सङ्‌कटको बादल छाइरहेको विषयमाथि टिस्टा रङ्गीत रिभर राफ्टिङ अनर्स एसोसिएसनका सचिव सुरज छेत्रीले एनएचपीसीले  राफ्टिङद्वारा जीविकोपार्जन गर्ने परिवारहरूको भविष्य नै निश्चित गर्नुपर्ने बताएका छन्‌। तिनले भने, एनएचपीसीलाई यसबारेमा धेरै ज्ञापन चढाइएको छ तर अहिलेसम्म कुनै पनि पदक्षेप भएको छैन। राफ्टिङबाट जीविकोपार्जन गर्नेहरूलाई एनएचपीसीले रोजगार उपलब्ध गर्न अनिवार्य छ।
 दार्जीलिङ पहाडमा राफ्टिङको एकमात्र केन्द्रबिन्दु वा पर्यटनस्थल बनेको टिस्टा नदीमा राफ्टिङ बन्द हुनुमा क्षेत्रबासीले अहिले सौझै एनएसपीसीलाई दोषारोपण गरेका छन्‌। मल्लीदेखि शुरू हुने रिभर राफ्टिङले पहिले सुबुकसम्मको लामो यात्रा तय गर्थ्यो। तर अहिले एनएचपीसीले 27 माइल र कालिझोडामा समेत जलविद्युत परियोजना बनाएको कारण 29 माइलसम्म मात्र राफ्टिङ खेल्न सम्भव भएको छ। उक्त छोटो दुरीसम्म चलिरहेको रिभर राफ्टिङ पनि अब चॉंडौै बन्द हुने अवस्थामा पुगेको छ। किनभने निर्माणाधीन एनएचपीसीका परियोजनाहरू पूर्ण भएपछि नदीमा पानीको मात्रा घटेर जानेछ। जसको कारण राफ्टिङ चलाउने कुनै सम्भावना रहनेछैन। यदि उक्त राफ्टिङ बन्द भए राफ्टिङसित सम्बन्धित परिवारहरू मर्कामा त पर्छन नै यता होटल व्यवसाय टुर एण्ड ट्राभल्स आदिमा पनि प्रभाव पर्ने देखिएको छ।

0 comments: on "राफ्टिङ चलाएर गुजारा गर्ने 200 परिवारको भविष्य अन्धकारमा"