मुख्य समाचार :


नगरको मैला सबैलाई भालूको कन्पट

मनोज वोगटी
कालेबुङ, 21 अक्टोबर।
दिनभरिमा नगरमा थुप्रिने 35 मेट्रिक टन मैला कहॉं फ्यॉंक्नु? यो प्रश्नको जवाब अहिले न त नगरपालिकासित छ, न त विधायकसित छ, न त नगरवासीसित छ। कसैसित उत्तर नै नभएको यही प्रश्न बोकेर आज उभिएका थिए कालेबुङ नगरपालिकाका कार्यवाहक प्रशासक एलएन शेर्पा। तिनीसित केवल एउटै विकल्प थियो-पुरानै डम्पिङ ग्राउण्डमा अस्थायी मैला फ्यॉंक्न पाए अस्थायी समाधान ठामठिम हुन्छ। तर तिनको यही विकल्पबाट नै शुरू भयो विवाद। आज नगरपालिका कार्यवाहक प्रशासकले यसवर्षसम्म पनि तोकिएको समयभित्र दलमान गाउँमा बनिँदै गरेको डम्पिङ ग्राउण्ड तयार नहुने भएपछि नगरमा थुप्रिरहेको मैला व्यवस्थापनको सूत्र निकाल्न कालेबुङका विभिन्न राजनैतिक सङ्गठन अनि गैरसरकारी सङ्गठनका प्रतिनिधिहरूलाई बैठकमा बोलाएका थिए। रामकृष्ण रङ्गमञ्चमा सीमित प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको विमर्षबीच आधा भन्दा धेर प्रतिनिधिहरूले कार्यवाहक प्रशासकले देखाएको विकल्पलाई नै उचित मान्दै निष्कर्ष निकाल्ने प्रयास गरिएको थियो। तर जब भालूखोपको पुरानो डम्पिङ ग्राउण्ड मुनीका गाउँनिवासीहरूको सुरक्षाको सवाल आयो तब कार्यवाहक प्रशासक अनि तिनका विकल्पलाई समर्थन गर्ने प्रतिनिधिहरूसित अरु विकल्प रहेन। यसैबीच क्रामाकपा नेता जेबी राईले सबैलाई उचित विकल्प सुझाए। त्यो थियो भूमिसुधार विभाग अनि बनविभागसित डम्पिङ गर्ने जमीनबारे शीघ्र नै बैठक गर्ने अनि अस्थायी समाधानको सूत्र निकाल्ने। यही नै बैठकको निष्कर्ष बन्यो।
समस्या कसरी उठ्यो?
नगरदेखि केवल एक किलोमिटर पर रहेको ब्रिटिशकालीन डम्पिङ ग्राउण्डमा नगरपालिकाले मैला फ्यॉंक्ने गरेको थियो। यहॉं मैला फ्यॉंकिञ्जेल नगरपालिकालाई कुनै समस्या थिएन। तर जहॉं मैला फ्यॉंकिन्थ्यो त्यहॉंका मानिसहरूलाई भने ब्रिटिशकालीन डम्पिङ ठूलो समस्या बन्दै आएको थियो। नगरपालिकाले भालूखोपमा मैला फ्यॉंक्ने काम मात्र गर्‍यो, तर डम्पिङको मरम्मति, डम्पिङको कारण क्षेत्रवासीलाई हुने समस्या अनि मैलाबाट निस्कने दुर्गन्धको प्रभाव क्षेत्रवासी र माथिल्तिर रहेको अस्पतालसम्मलाई कस्तो परेको छ भन्ने कुरालाई पत्तै दिइएन। जब 7 सितम्बर 2007 को दिन भालूखोपको ब्रिटिशकालीन डम्पिङको कारण व्यापक पैह्रो गयो, तब डम्पिङ मुनीको गाउँको 28 वटा घरलाई प्रभावित पार्‍यो। घर त भत्कियो नै खेती गरिखाने जमीन पनि पैह्रोले लग्यो। यसै पनि डम्पिङको मैलाबाट आउने दुर्गन्धले क्षेत्रलाई वर्षौंदेखि पिरोल्दै आएको थियो अनि त्यहीमाथि डम्पिङको कारण चलेको पैह्रोले क्षेत्रवासी नै असुरक्षित बनेपछि कालेबुङ कृषक कल्याण सङ्गठनको पहलमा 2 अक्टोबरदेखि नगरपालिकालाई मैला फ्यॉंक्न निषेध गर्दै आन्दोलन क्षेत्रवासीले शुरू गर्‍यो। मैला फ्यॉंक्न नपाएपछि नगरपलिका, महकुमा प्रशासन अनि आन्दोलनकारीबीच त्रिपक्षीय बैठक 5 अक्टोबरको दिन डाकियो, जहॉं आन्दोलनकारीहरूलाई प्रशासनले बैकल्पिक डम्पिङ नबनिञ्जेलको निम्ति 6 महिनाको समय मागेपछि आन्दोलन स्थगित गरियो। तर 6 महिना त के 9 महिना पुग्दासमेत पनि वैकल्पिक डम्पिङ नगरपालिकाले बनाउन नसकेपछि फेरि क्षेत्रवासीले आन्दोलन गरे अनि 4 जुलाई 2008देखि मैला फ्यॉंक्न बन्द भयो। त्यसैबेला महकुमा अधिकारीले पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण बोर्डले 2 करोड 49 लाख डम्पिङको निम्ति अनुमोदन गरिएको मीडियालाई बताउँदै सोही रकमबाट डम्पिङ बनाइरहेको स्पष्टिकरण नगरवासीलाई दिएका थिए।
खुट्टिए प्रशासनिक दोषहरू
आज महकुमा प्रशासक एलएन शेर्पा( जो नगरपालिका कार्यवाहक प्रशासक पनि हुन्‌)ले त्यसबेलाका महकुमा शासकले पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण बोर्डले 2 करोड 49 लाख दिएको भनेको कुरा झुट रहेको स्पष्ट पारे। तिनी अनुसार अहिलेको डम्पिङ मोठ 6 करोडको लागतमा बनिरहेको छ, यसमा 2 करोड रुपियॉं खर्च पनि भइसकेको छ तर यत्रो राशि डम्पिङ बनाउनैको निम्ति कतैबाट आएको रुपियॉं होइन। नगरपालिकाकै अन्य योजनाहरूबाट कटौती गरेर डम्पिङ बनाउने कार्य भइरहेको छ। जुन ठाउँमा डम्पिङ बनाउने कार्य भइरहेको छ, त्यो क्षेत्र डम्पिङको निम्ति उचित क्षेत्र नरहेको कुरा स्वीकार्दै शेर्पाले अघिल्लो नगरपालिका प्रशासनले कसरी यो क्षेत्र छनौट गरे आफू आश्चर्यमा रहेको पनि बताए। याद राख्नुपर्ने कुरा के छ भने तिनी अघि गोर्खा जनमुक्ति मोर्चाका नेता नोर्देन लामा अनि बिजय सुन्दास नगरपालिकाका अध्यक्ष अनि उपाध्यक्ष थिए। जसले छनौट गरेको डम्पिङ क्षेत्र नितान्तै असुरक्षित रहेको कुरा आजको बैठकमा क्रामाकपा नेता जेबी राईले राखे। तिनले भने, जुन ठाउँ नै पैह्रेनी छ, यस्तो ठाउँमा 6 करोड खर्च गरेर निर्माण गरेको डम्पिङ पैह्रोको शिकार बनेमा समस्या के हुन्छ? तिनको सुझाव अनुसार भोलिको आपत थाहा पाउँदा पाउँदै करोडौ रुपियॉं खर्च गर्नु उचित होइन बरू अन्य सुरक्षित क्षेत्रमा नै डम्पिङ बनाउनु भविष्यको निम्ति उचित हुनेछ। बैठकमा कार्यवाहक प्रशाक होस्‌, कि विधायक, पूर्व नगरपालिका सञ्चालकहरू होस्‌ कि पार्टीका नेताहरू, मीडियाका प्रतिनिधिहरू होस्‌ कि गैरसरकारी सङ्गठनका प्रतिनिधिहरू सबैले के चाल पाए भने एलएन शेर्पा कार्यवाहक हुन अघि जसले पनि नगरपालिका सञ्चालन गरे उनीहरूले नै हजारौ प्रशासनिक असुविधाहरूको उपार्जन गरेका हुन्‌, जसलाई कताबाट सच्याउनु पर्ने हो एलएन शेर्पाले भेउ नै पाएका छैनन्‌। तिनले बारम्बार नै भने, डम्पिङको समस्या नगरपालिकाको होइन। नगरवासीको हो। समस्या देखाएर मात्र हुँदैन, समाधानको बाटो पनि देखाउनु पर्‍यो। तिनले टिस्टा नदीको नाम नलिई आफूहरू त्यहॉं मैला फ्यॉंक्न बाध्य बनेको पनि बताइरहेका थिए। तिनले त्यसैबीच पत्रकारहरूलाई तोकेर टिस्टामा नगरको मैला फ्यॉंकेको समाचार छापिदिएको गुनासो पनि गरे। तिनी अनुसार पत्रकारहरूले नगरपालिकाको बाध्यतालाई नबुझी टिस्टामा कालेबुङ नगरको मैला फ्यॉंकेको समाचार छाप्नु कालेबुङ नगर कै बद्नाम गराउनु हो। यसको जवाब क्रामाकपा नेता जेबी राईसित थियो।
टिस्टामा मैला फ्यॉंकेको कुरा राष्ट्रिय मीडियामा जानुपर्छ
बैठकमा सबैलाई जेबी राईले भने, पत्रकारहरूले टिस्टामा मैला फ्यॉंकेको समाचार छाप्दा मनदुख गर्नु अनुचित विचार हो। बरू टिस्टामा नगरपालिकाले मैला फ्यॉंक्न ुपरेको समाचार राष्ट्रिय मीडियाले लेख्नुपर्छ। यसो भएमा मात्र राज्य सरकार अनि केन्द्रले कालेबुङको नगरपालिकाको बाध्यता बुझ्नसक्छ अनि यसको निम्ति योजना आवन्टन गर्न सक्छ। मैला बडारेर कार्पेटमुनी लुकाउनु हुँदैन। यता भालूखोपमा मैला फ्यॉंक्न बन्द भएपछि अनेक ठाउँतिर मैला पुर्‍याएर थाकेको नगरपालिकाले अन्तमा अहिले टिस्टामा नै नगरको मैला फ्यॉंकिरहेको छ। टिस्टामा मैला फ्यॉंक्न नगरपालिका प्रशासन चहॉंदैन। तर नगरपालिकासित कुनै विकल्प पनि छैन। अन्तमा असाहय बनेपछि आज नगरको मैला कहॉं व्यवस्थापन गर्नुपर्ने हो भन्ने कुरामा सुझाव माग्न नै नगरप्रशासनले आजको बैठक बोलाएको थियो। टिस्टामा मैला फ्यॉंकिरहेको कुरा मीडियाले लेख्न थालेपछि नगर प्रशासनलाई अप्ठ्यारो बढ्यो। कानूनीरुपमा टिस्टामा नगरपालिकाले मैला फ्यॉंक्न उचित होइन। यो कुरा नगरपालिकालाई पनि थाहा छ तर उसो भए मैला कहॉं फ्यॉंक्नु त? आज नगरपालिका प्रशासकले यही प्रश्न बारम्बार दोहोर्‍याए। जसको जवाब ठीकसित कसैसित थिएन। शेर्पा अनुसार नगरपालिकासित नगरको मैला फ्यॉंक्नको निम्ति कहीँ पनि ठाउँ नै छैन। यसको एउटैमात्र उपाय छ कि डम्पिङ नबनिञ्जेलसम्म भालूखोपको पुरानै डम्पिङमा अस्थायीरुपले मैला फ्यॉंकिनुपर्छ।
पुरानै डम्पिङमा विरोध
पुरानै डम्पिङमा मैला फ्यॉंक्नुका धेरैवटा कारणहरू शेर्पाले देखाए किन भने नगरपालिकासित ठाउँ नै छैन। जतै मैला लगे पनि त्यतै विरोध हुन्छ। धेरैले धेरैप्रकारका सुझाव राखे पनि कुनै पनि सुझाव अस्थायी समाधानकोरूपमा उपयुक्त रहेन। नगरपालिकासित धेरैवटा खाली ठाउँहरू छन्‌, तर त्यो जमीन हडपेर मानिसहरू बसेका छन्‌। जसलाई उठाउन नगरप्रशासन असक्षम छ। त्यहॉं मैला लगे विरोध हुन्छ। अरू जम्मैतिर मैला लॉंदा विरोध हुने जनाउँदै फेरि बैठकमा धेरैले पुरानै डम्पिङमा मैला फ्यॉंक्न नगरपालिका प्रशासकलाई सुझाइरहेका थिए। सुझाउनेहरूमा माकपा नेता तारा सुन्दास, दुःख निवारक सम्मेलनका अध्यक्ष उदय कुमाई, सचिव आरएल त्रिखत्री, क्रामाकपा नेता जेबी राई अनि कालेबुङका अध्यक्ष डा.हर्कबहादुर छेत्री तथा अन्य। उनीहरुले भालूखोपमा मैला डम्पिङ गर्ने त भनिरहेका थिए तर त्यहॉं हुने विरोधलाई भने आँखा ओझल गरिरहेका थिए। अन्यत्र मैला फ्यॉंक्दा विरोध भएकोले मैला फ्यॉंक्न नसक्ने बाध्यता देखाउने प्रशासक होस्‌, कि विधायक अथवा बैठकमा भालूखोपमा मैला फ्यॉंक्नुपर्ने पक्षमा रहेका सङ्घसङ्गठनका प्रतिनिधिहरू उनीहरूले लिइरहेको निर्णयले भालूखोपबासीको विरोधको कल्पना गरिेरहेका थिएनन्‌। किन भने भालूखोपवासीको अथक आन्दोलनपछि नै डम्पिङ गर्न निषेध गर्न सक्षम बनेका थिए। त्यहॉंदेखि नै क्षेत्रवासीले शान्तिको सास फेरिरहेका छन्‌। कालेबुङ कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले भालूखोपको डम्पिङ मुनी पर्चापट्टाधारी जनवास रहेको अनि त्यहॉं डम्पिङ गरेर जुन पैह्रोको आपत खप्न परिरेका थिए अहिले त्यहीँ मैला फ्यॉंक्न उनीहरूको हीतमा नहुने कुरा सबैलाई छर्लङ्ग पारेपछि अन्तमा सबैले देखेको भालूखोपमा मैला फ्यॉंक्ने कुरामा सहमति बन्न सकेन।
विकल्प बनविभाग
समस्या चर्किएपछि अनि कुनै पनि उपाय नरहेपछि कालेबुङ नगरपालिकाले भूमिसुधार विभाग अनि बनविभागसित यस सम्बन्धमा कुरा गर्ने एलएन शेर्पाले जनाए। यता विधायक डा.हर्कबहादुर छेत्रीले यस सम्बन्धमा बन मन्त्रीसमेतमा कुरा राख्ने उपाय निकाले। तिनले भने, हामीले बनविभागलाई धेरै कुरामा सहयोग गरेका छौं, एकपल्ट उनीहरूलाई पनि योे समस्याको समाधान निकाल्न सहयोग मागौं। यसको निम्ति नगरपालिका प्रशासक एलएन शेर्पाले शीघ्र नै बनविभाग, भमिसुधार विभाग अनि राजनैतिक, गैरसरकारी सङ्गठनका प्रतिनिधिहरूलाई लिएर बैठक गर्ने निर्णय लिए। तबसम्मको निम्ति मैला भने टिस्टामा नै फ्यॉंकिने भयो।

0 comments: on "नगरको मैला सबैलाई भालूको कन्पट"