मुख्य समाचार :


राज्यपालको कालेबुङ भ्रमणः फेरि आश्वासन

मनोज वोगटी
कालेबुङ, 22 अक्टोबर।
राज्यपाल एमके नारायनन आज दोस्रोपल्ट भुइँचालो पीडितहरूको निरीक्षण गर्न कालेबुङ आइपुगे। कालेबुङको भुइँचालो प्रभावित क्षेत्रको पहिलो भ्र्रमणमा तिनले केवल म्याकफार्लेन चर्च अनि ट्रेजरी भवनको निरीक्षण गरी महकुमा कार्यालयबाट नै भुइँचालाले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।
दोस्रोपल्ट कालेबुङ आएका राज्यपाल नारायनन्ले अघिल्लोपल्ट भ्रमण नगरेका क्षेत्रहरूको भ्रमण गरे। सर्किट हाउसमा बसेका राज्यपालले क्षतिग्रस्त दुर्पिन गुम्पाको निरीक्षण गरे। त्यसपछि तिनी सोझै भालूखोप झरे। जहॉं भुइँचालोको कारण विस्थापित बनेका लमिनी गाउँ अनि चाम्रा गोदामका पीडितहरूसित चम्पामाया स्कूलमा राखिएको राहत शविरमा नै भेटघाट गरे। भुइँचालोले चर्काएको लेप्रोसी डॉंडाले पैह्रो निम्ताउने डरले शिविरमा बसेका पीडितहरूले क्षेत्रको भूसर्वेक्षण हुनुपर्ने अपील जिल्लापाल र महकुमा शासकलाई गरेको भए पनि आधिकारिकरुपले यसबारे कुनै पहल हुन नसकेको गुनासो पीडितहरूले राज्यपाललाई राखे। क्षेत्र नै व्यापकरूपले चर्किएकोले जबसम्म भूसर्वेक्षण हुँदैन तबसम्म आफूहरू शिविरमा नै बस्नुपर्ने बाध्यता आइपरेको पीडितहरूले बताएपछि राज्यपालसित साथमा रहेका जिल्लापाल सौमित्र मोहन अनि महकुमा अधिकारी एलएन शेर्पालाई शीघ्र्र नै भुसर्वेक्षण गराउने निर्देश दिए।
यसैबीच कालेबुङ कृषक कल्याण सङ्गठनको पक्षमा विष्णु छेत्रीले भालूखोप चर्किएकोले असुरक्षित रहेकोबेला यहॉं डम्पिङ गर्ने भनेर चलिरहेको कुराहरूबारे अवगत गराउँदै शीघ्र नै बनविभागसित मैला फ्यॉंक्नको निम्ति जमीनबारे कुराकानी गरिदिने अपील गर्दै ज्ञापन चढाए। छेत्रीले जिल्लाभरिका कृषकहरूको खेती गरिखाने जमीन भुइँचालोको कारण नष्ट भएकोले उनीहरूलाई क्षतिपूर्ति हुनुपर्ने माग गर्नै ज्ञापन चढाए। राज्यपालले भालूखोपपछि कन्या उच्चत्तर माध्यमिक विध्यालय अनि एसयुएमआईको पनि निरीक्षण गरे। यसपछि राज्यपाल नारायनन्ले पत्रकारहरूसित कुराकानी गर्दै पहाडको भुइँचालोले पुर्‍याएको क्षतिबारे केन्द्र सरकारलाई अवगत गराइसकेको बताउँदै चॉंढै नै केन्द्र सरकारले अतिरिक्त राहत राशि प्रदान गर्न सक्ने बताए। भुइँचालोले विस्थापित बनाएकाहरूको पुनर्वास अनि क्षतिग्रस्त भवनहरूको मरम्मतिको निम्ति केही समय लाग्ने भए पनि पूर्ण अनि आंशिक क्षति पुगेका घरहरूलाई पनि राहत राशि प्रदान गर्ने कार्य भइरहेको बताए। भालूखोपबासीले माग गरिरहेको भुसर्वेक्षणको सम्बन्धमा आफूले सर्वेक्षणको निम्ति कमिटीलाई निर्देश दिइसकेको बताए। राज्यपाल नारायनन्ले आफूले अहिले भुइँचालो प्रभावित क्षेत्रहरूको निरीक्षण गरिरहेको अनि समाधानको सूत्र निकाल्नेबारे सोंचिरहेको बताए। तिनले अब शीघ्र नै पहाडमा सूधार आउनसक्ने सम्भावना व्यक्त गरे।

0 comments: on "राज्यपालको कालेबुङ भ्रमणः फेरि आश्वासन"