मुख्य समाचार :


निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री कालेबुङमा स्वतन्त्र तिब्बतको जिम्मा युवाहरूको हातमाः लोब्साङ

प्रज्ज्वल छेत्री
कालेबुङ, 22 अक्टोबर।
निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गे आज कालेबुङ आइपुगे। स्थानीय मानेलाखाङ गुम्पामा तिनले कालेबुङमा रहेका कैयौं तिब्बती शरणार्थीहरूसँग भेट गरे। मानेलाखाङ गुम्पाको प्रेक्षागृहमा तिनले कालेबुङका तिब्बती शरणार्थीहरूको भेलालाई सम्बोधन गरे। प्रधानमन्त्री लोब्साङ साङ्गेले तिब्बती शरणार्थीहरूलाई सम्बोधन गर्दै आफू किसान परिवारमा दार्जीलिङको लामाहट्टा नौं माइलमा जन्मेर दार्जीलिङमा नै जन्मी हुर्की त्यहींका स्कूलहरू पढेको बताउँदै शिक्षामाथि जोर दिए। तिनले धर्म गुरू दलाई लामालाई तिब्बत फर्काउने अनि तिब्बतलाई स्वतन्त्र गर्न युवाहरुले लक्ष्य राख्नुपर्ने बताए। स्वतन्त्र तिब्बतको निम्ति युवाहरूमाथि जिम्मेवारी सुम्पिइएको बताउँदै तिनले भने, युवाहरूलाई जुन जिम्मेवारी सुम्पिएको छ, यसलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ। पुर्वजहरूले स्वतन्त्र तिव्वत अनि तिब्बती शरणार्थीहरूको निम्ति जुन कार्य गरिरहेका छन्‌, त्यसलाई नभुलिकन युवाहरूले कार्य गर्नुपर्छ।
तिनलाई कालेबुङ आउनुको उद्देश्यबारे प्रश्न गर्दा तिनले भने, म पढेको दार्जीलिङको सेन्ट्रल स्कूल फर टिबेटनको तीन दिवसीय स्वर्ण जयन्तीको समापन समारोहको अवसरमा अंशग्रहण गर्न आएको थिएँ। मेरो ससुराली पनि कालेबुङको बाघधारा नै हो। कालेबुङ नआएको पनि धेरै समय भएको थियो, यहॉं मेरा धेरै मित्रहरू छन्‌। तिब्बती शरणार्थीहरू छन्‌, उनीहरूसित पनि भेट गर्न आएको थिएँ। तिनले कालेबुङमा अन्य कुनै कार्यक्रम नरहेको बताए पनि फेरि कालेबुङ आउने पनि बताए। तिनी भोलि दिल्ली प्रास्थान गर्नेछन्‌ भने दिल्लीबाट नै धर्मशाला फर्कनेछन्‌। प्रशिद्ध हलिवुड अभिनेता रिचर्ड जीयर शीघ्र नै धर्मशालामा आफूहरूलाई भेट गर्न आउने बताउँदै त्यसपछि तिनको युके अनि युरोप भ्रमणको कार्यक्रम रहेको बताए।

0 comments: on "निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री कालेबुङमा स्वतन्त्र तिब्बतको जिम्मा युवाहरूको हातमाः लोब्साङ"