मुख्य समाचार :


मोर्चाभित्र द्वन्द्व?


मनोज वोगटी
कालेबुङ, 13 सितम्बर।
गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशनको बील पास गर्दै सरकारको ट्रेजरी बेञ्चमा बसेर जीटीएको पक्षमा आधा घण्टाभन्दा धेरै टिप्पणी गर्ने मोर्चाका विधायक डा.हर्कबहादुर छेत्री कालेबुङ फर्किने वित्तिकै दुइवटा महत्वपूर्ण कुरा पत्रकारहरूलाई सुनाए। एउटा थियो जीटीएमा संरक्षित बन विभाग समावेश नभएको कुरा अनि अर्को थियो जीटीएमा तराई डुवर्सको सीमाङ्‌कनको रिपोर्ट पुग्न अघि नै जीटीएको चुनाउ हुने। डा. छेत्रीको यस वयानले तराई डुवर्सलाई मात्र हल्लाएन पहाडलाई पनि हल्लायो। जीटीएको चुनाउको कुरा दार्जीलिङको तीनवटा महकुमामा हुने कुरा सम्झौता पत्रमा उल्लेखित छ। जीटीए मुनी रहने त्रिस्तरीय पञ्चायतको चुनाउको निम्ति चारवटा महकुमा रहनुपर्ने भए पनि यो चुनाउसमेत तीनवटा महकुमा अथवा दागोपाप क्षेत्रलाई लिएर गरिने कुरा पनि सम्झौता पत्रमा उल्लेखित छ। यता चुनाउ र तराई-डुवर्सको सीमाङ्‌कनको प्रक्रिया समानन्तर रहने जस्तो अन्योलपरक कुरा पनि लेखिएको छ। डा. छेत्रीले सीमाङ्‌कन र जीटीएको चुनाउ मामिलामा सबैलाई स्पष्ट गर्दै विवादित मन्तव्य दिए पनि क्रमैले मोर्चा अध्यक्ष अनि महासचिवको फरक टिप्पणीले अझ अन्योलपरक स्थितिको उपार्जन गरेको थियो। यस विवाद सम्बन्धमा कालेबुङको एक च्यानलसित कुराकानी गर्दै डा.हर्कबहादुर छेत्रीले भनेका छन्‌, यता जीटीएको चुनाउको प्रक्रिया हुँदै गर्छ अनि उता सीमाङ्‌कनको निम्ति हाइपावर कमिटीले आफ्नो प्रक्रिया जारी राख्छ। तर तिनले तराई र डुवर्सको सीमाना स्पष्ट भइसकेपछि अनि मोर्चाले दाबी गरेको सबै मौजाको समावेशपछि मात्र चुनाउ हुने कुरै गरेनन्‌। तिनको वयानले मोर्चाले दाबी गरेको सबै मौजा जीटीएमा नपस्ने संकेत गरेका छन्‌ भने यसले उत्पन्न गर्ने विवादलाई चुनाउको माहौल र यसको कारण लगाइने कोड अफ कन्डक्टको परिस्थितिले प्रतिक्रिया र विवादलाई ढाकछोप गर्ने परिस्थिति उत्पन्न हुन सक्नेसम्मको शंका उत्पन्न गरेको छ। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले च्यानलसित कुराकानी गर्दै एउटा कुरालाई निक्कै प्राथमिकतासित उठान गरेका छन्‌, तिनले भने अनुसार मोर्चाले गर्न सक्ने सबै प्रक्रिया गरिसकेको छ। अब डुवर्सवासीले नै जीटीएमा पस्ने नपस्ने कुराको निर्णय गर्नुपर्छ। तिनले भने,अरू कुरामा नअल्झिएर डुवर्सवासीले जीटीएमा अन्तरभुक्त हुनको निम्ति आफ्नो पक्षबाट अहिलेदेखि नै दवाबी कार्यक्रमहरू गर्न पर्छ। तराई र डुवर्सको निम्ति कमिटी बनाइएको छ, यो कमिटीलाई रिझाउने काम तराई र डुवर्सको हो। डा. छेत्रीले तराई र डुवर्सको रिपोर्ट पुग्न अघि नै चुनाउ हुने कुरा गरेर भविष्यसम्मको निम्ति गतिलै विवाद जन्माएका छन्‌। वास्तवमा नै यस्तै भयो र दाबी गरेको मौजा जीटीएमा पसेन भने त्यस उता तराई-डुवर्स र पहाडबीच द्वन्द्व शुरू हुनेछ। मोर्चाले हाइपावर कमिटीमा तराई र डुवर्स कै प्रतिनिधिहरू राखिदिएका छन्‌। कमिटीले जनताले चाहेको र मोर्चाले दाबी गरेको सबै मौजा जीटीएमा हाल्न सकेन भने दोष ती प्रतिनिधिहरूको नै मानिनेछ। डा. छेत्रीले जुन आउनेवाला असुविधालाई ध्यानमा राखेर सॉंचो कुरा राखिदिएका छन्‌, यसको विवाद अझ पनि सेलाएको छैन। यता जीटीएको बील पारित गरेर आउनेे डा.हर्कबहादुर छेत्रीले दिएको वयानलाई तराईको स्टडी फोरम सदस्य पी. अर्जुनले नीजि मन्तव्य बताएका छन्‌। तर डा.छेत्रीले दिएको मन्तव्यलाई कसैले पनि नीजि मन्तव्य मानेका छैनन्‌। यता मोर्चा अध्यक्ष विमल गुरूङले पनि चुनाउ हुने कुरा गर्दागर्दै विवाद आए पछि तराई र डुवर्सको अन्तरभुक्ति नभइ चुनाउ नहुने कुरा गरेपछि विवाद अडिएको छ। अध्यक्षले मोर्चाले दाबी गरेको सबै मौजा समावेश भएपछि मात्र चुनाउ हुने भनेर गरेको कुरालाई विश्वास गरिएको छ। डा. छेत्रीको वयानको लगत्तै मोर्चा महासचिव रोशन गिरीले सरकारलाई तराई र डुवर्सको अन्तरभुक्ति भएर मात्र चुनाउ गराउने सम्बन्धमा अपील गरिने बताएर फेरि अर्को विवाद खडा गरिदिएका थिए। एउटै मोर्चा शिविरबाट महत्वपूर्ण विषयमाथि फरक फरक मत अघि आउनु शंकाको कुरा त छँदै छ, अर्कोतिर मोर्चाभित्र पनि द्वन्द्वले आकार लिइरहेको कुरालाई पनि संकेत गरेको छ।

बाटोबिनाको हाट
कालेबुङ, 13 सितम्बर।
बृटिशकालीन हाट त लाग्यो तर बाटो नै छैन। यस्तो अवस्था देखिएको कागेमा। 1968 मा दार्जीलिङ जिम्माभरि नै भीषण पैह्रो गएको थियो। त्यसै बेला कागेको बुधबारेमा विशालरूपले लाग्ने हाटलाई पैह्रोले तहस नहस पारेपछि हाट बन्द भएको थियो। हाट बन्द भएपछि स्थानीय कृषक अनि व्यापारीहरूलाई जुन संकट आएको थियो त्यसलाई केही हद भरथेग पेदोङ अलगढा अनि कालेबुङ हाटले गरिदिएको थियो। बुधबारेमा बेचिने सामानहरू यी बजारहरूमा ल्याएर पनि स्थानीय कृषकहरूले गुजारा गरिरहेका थिए। बुधबारको दिन हाट लाग्ने भएकैले बुधबारे नाम बसेको बुधबारे हाट आहिले आइतबारे हाटमा रुपान्तर भएको छ। आइतबारमा हाट त लाग्यो तर व्यापारीहरू त्यहॉं पुग्न अघि एकपल्ट सबै कुरालाई माया मार्नुपर्ने अनि जुवा नै खेल्नुपर्ने स्थिति छ। पेदोङदेखि कागेसम्मको 18 किलोमिटरको बाटोलाई व्यवस्थित नगरिए यहॉं लागेको हाट त सुक्ने नै छ हाट लागेपछि स्थानीय कृषकहरूले सजाएको सपना पनि तुहिने छ। यहॉं अहिले जुन बाटो छ, त्यो गाडी हिँड्‌नेे होइन खच्चड हिँड्‌ने स्तरको रहेको छ। स्थानीय बिरबल शर्माले भने, यस्तै बाटोमा अहिलेसम्म यातायात गरियो। कति दुर्घटना भयो त्यसको हिसाब छैन। कसले बनाइदिने, विभागमा गयो पैसा नै छैन भन्छ। अब भने जीटीएबाट बनिने हो कि भन्ने आशा गरिएको छ। कागे मात्र होइन रबेक, बेन्दा, गेरोक, लिङसेखा,सैले जस्ता सुदुवर्ती बस्तीहरू पनि यही बाटो भएर जान्छ। कुनै खोलाको किनार झैं देखिने बाटोमा मुश्किलले फोरह्विल गाडीहरू चल्छ, यसैमा चढेर कागेका विद्यार्थीहरू पेदोङ, अलगढा अनि कालेबुङ स्कूल धाउँछन्‌। विद्यार्थी किशोर राईले भने, महिनामा दस दिन चॉंही स्कूल गइन्छ, गाडी बाटैमा बिग्रिएपछि कसको के लाग्छ? एक कृषकले पनि थपे, हामी त गोडीमा नै डोको पनि बोकेर आउँछौं, गाडी बिग्रियो भने डोकोमा नै समान चुइँचुइँ बोक्छौं। बिरबर शर्माले बताए अनुसार यो बाटोलाई पीच सडकमा रुपान्तर नगरेसम्म कागेको दुःख सधैँलाई हुनेछ। पेदोङदेखि मुक्ति पुलसम्मको बाटो केईडीले उहिल्यै कहिले बनाइदिएको हो तर मरम्मति छैन। अहिले ढुङ्गेघारी भएको छ। यस्तै ढुङ्गेघारीमा गाडी कुदाइन्छ। एक चालकले भने, यस्तोबाटोमा वाहन चलाउन आदत नै भइसक्यो। पीचमा पुग्दा त गाडी चलाएको जस्तो नै लाग्दैन। बिरबल शर्माले भने अनुसार बाटो बनिएमा यहॉंका विरामीहरूको निम्ति ठूलो कल्याण हुने छ, किन भने बाटो राम्रो नभएकोले नै धेरैले नै अकालमा ज्यान गुमाउनुपर्छ। यता स्टडी फोरमका सदस्य डा.आरबी भूजेलले बताए अनुसार यो क्षेत्रलाई पर्यटनस्थलको रूपमा विकास्न सकिए, यस क्षेत्रको निम्ति आर्थिक आधारमा निर्माण हुनेछ। यस्ता पर्यटनस्थलहरू प्रसस्तै छन्‌ तर यी सबैलाई व्यवस्थित गर्नको निम्ति बाटो नै अनिवार्य रहेको छ। बीरबल शर्माले दागोपापका अभियन्ताहरूको खेलाइँचीले नै बनिएको एकैवर्षमा बाटो बिग्रिएकोले कागेले दुःख पाएको बताए। कागेमा शुरू भएको हाटबाट धेरैले नै आम्दानीको बाटो खोज्न थालेका त छन्‌ तर उनीहरूलाई एउटै असुविधा छ बाटोको। यसपल्टको व्यवस्थाले बाटो त बनाउँला तर पुरानै किसिमको काम गराई हो भने बाटो भएको नभएको केही अर्थ रहने छैन-एक शिक्षकले भने।

जीएलपीको निम्ति राज्यले बलियो प्रोजेक्ट तयार पारेको दाबी
कालेबुङ, 13 सितम्बर।
हाल मोर्चा महचसिव रोशन गिरी जीटीए रिभ्यू कमिटिको बैठकको निम्ति कोलकतामा नै छन्‌। हिजो बैठकमा गिरीले गोर्खाहरूलाई पनि भारतको सेना, अर्धसैनिक बल अनि पुलिसमा भर्ना गर्नको निम्ति प्रावधान हुनुपर्ने कुरा उठाएका थिए। त्यसै अवधी जीटीए अन्तरगत जीएलपीहरूले पाउनपर्ने सहूलियत अनि रोजगार सम्बन्धि बङ्गालको केन्द्रिय गृहसचिव समर घोषसित बैठक गरेको साथै राज्यले पनि जीएलपीको भविष्यलाई गम्भिरतापूर्वक लिँदै मोर्चाको सुझाउ अनुरूप केन्द्रलाई चॉंड़ै बलियो प्रोजेक्ट तयार पारेर पठाउने जीएलपी प्रमुख कर्णल आलेले आज बताए। गोर्खाल्याण्डको आन्दोलनकाल अवधी मोर्चाले स्वंयसेवकको रूपमा गठन गरेको जीएलपीलाई जीटीए अन्तर्गत मोर्चा अनि राज्यले हाल गम्भिरतापूर्वक लिइरहेको बताउँदै कर्णल आलेले भने, जीएलपीलाई लिएर हामीले गम्भिरतापूर्वक सोंचिरहेका छौं। जीटीए कार्यान्वयन नै जीएलपी नानीहरूले पनि पर्खिरहेका छन्‌। उक्त विषयमा रोशन गिरीले समर घोषसँग भेट गरेपछि राज्यले जीएलपीको निम्ति बलियो प्रोजेक्ट तयार पारेर पठाउने भएको छ। जीटीएमा जीएलपीहरूको निम्ति रहेका प्रावधानहरू सम्बन्धमा तिनले भने, ममताले अघिबाटै 15000 जीएलपीहरूलाई राज्य पुलिस अनि अर्धसैनिक बलमा प्राथमिकता दिने बताइसकेकी छन्‌। शारीरिक असक्षम अनि योग्यताको आधारमा रहल जीएलपीहरूलाई जीटीए अन्तरगत ग्रुप सी. अनि ग्रुप डी को पोस्टहरूमा नियुक्त गरिनेछ। जीटीएमा जतिपनि प्रावधानहरू आउँछ त्यसमा जीएलपीहरूलाई पनि शैक्षिक योग्यताको आधारमा प्राथमिकता दिइनेछ। तिनले जीएलपीका जवानहरू पनि विमल गुरूङमाथि आशा राखेर बसेको बताउँदै गुरूङले उनीहरूलाई व्यवस्थित गर्ने आशा प्रकट गरे। आलेले जीटीए अन्तर्गत थुप्रै लघु उद्योगहरूको निर्माण गरिने अनि यसैमा पनि जीएलपीहरूलाई प्रमुखता दिने पनि तिनले बताए। जीएलपीलाई लघु उद्योगहरूमा रोजगार उपलब्ध गराउने कुरामा सरकारले पनि सहमति दिइसकेको पनि तिनले जनाए। तिनले अघि पन्ध्र हजार जीएलपीले भर्ना लिएको भए पनि अहिले धेरैले जीएलपी छोडेको अनि घर गएको सम्बन्धमा बताउँदै जीएलपीहरू बाध्यताको कारण घर फर्किएको तर अहिले जीटीए भएपछि धेरैले नै फर्किँनको निम्ति आवेदन गरिरहेको बताए। तिनले आवेदन गर्ने जीएलपीहरूलाई अहिले क्याम्पमा भने नराखेको तर उनीहरूको निम्ति पनि केही सोंचिएको तिनले थपे। जीएलपीको गठन गरिएको गोर्खाल्याण्ड आन्दोलनको निम्ति थियो तर मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई अहिलेको परिस्थितिमा स्थगित गर्दै जीटीएमा सम्झौता गरेपछि अनि जीटीएमा नै जीएलपीलाई रोजगार उपलब्ध गराएर व्यवस्थित गरिएपछि फेरि पनि मोर्चाले गर्ने भनिएको गोर्खाल्याण्डको आन्दोलनमा के जीएलपीको गठन हुन्छ त भन्ने प्रश्न गर्दा तिनले त्यसबेलाको परिस्थिति अनुसार केन्द्र कमिटीले नै निर्णय गर्ने बताउँदै भने, यो पोलिसी मेटर हो,यसको योजना र नीतिमाथि मोर्चाको केन्द्रिय समितिले जुन आदेश दिन्छ, हामी त्यसैलाई शिरोपर गर्नेछौं। अहिले गोर्खाल्याण्डको निम्ति गठन गरिएको जीएलपीलाई मोर्चाले अहिले सामाजिक कार्यमा व्यस्त राखेको छ। मोर्चाले जीटीए थाप्ने भए पनि नै जीएलपी जवानहरूको लक्ष्य र उद्देश्यमा लचिलोपन ल्याइएपछि जवानहरू हरेश खाएर घर फर्कन थालिसकेका थिए तर जीटीए ग्रहण गरेपछि रोजगारको आशाले उनीहरू क्याम्प फर्कन थालेका छन्‌। यता कर्णल आलेले पनिजीएलपीको भूमिका अहिलेको परिस्थितिमा परिवर्तित रहेको बताएका छन्‌। तिनले अहिले जीएलपीलाई सिक्किम-बङ्गालको सीमाना क्षेत्रमा तैनाथ गरिएको अनि सामाजिक कार्यतिर खटाइएको बताउँदै भने, हामीलेे सामाजिक सङ्गठन, स्कूलहरूमा पनि भनेका छौं, जहॉं पनि सामाजिक कार्य गर्न पर्ने कुरा आउँछ त्यसबेला जीएलपीलाई बोलाए उनीहरूलेे सेवा उपलब्ध गर्नेछन्‌।


छत्रेलाई जीएलपीको स्वागत

कालेबुङ, 13 सितम्बर।
गोरामुमोको जीभीसीलाई जीएलओ बनाएर गोर्खाल्याण्डको निम्ति लड्‌ने छत्र सुब्बा 10 वर्षपछि दोषमुक्त बनेर घर आएपछि गोर्खाल्याण्डको निम्ति नै गठन गरिएको गोजमुमोको जीएलपीले स्वागत जनाएको छ। गोर्खाल्याण्डको खॉंटी योद्धा बताउँदै छत्र सुब्बालाई केवल स्वागत मात्र जीएलपीले जनाएको छैन पाइप पारेर कुनै एक दिन सम्वर्द्धना समेत जनाउने भएको छ। आज भुतपूर्व सैनिक मोर्चाका अध्यक्ष अनि जीएलपी प्रमुख कर्णल रमेश आलेले भने, छत्र सुब्बा पनि एक जना भूतपूर्व सैनिक हुन्‌। हामी धेरै खुशी छौं किन भने भूतपूर्व सैनिक अन्ना हजारेले झै छत्र सुब्बाले पनि सम्पूर्ण गोर्खाहरूको निम्ति आन्दोलन गरेका छन्‌। हामी एक दमै खुशी छौं किन लिनले सॉंचोरुपले गोर्खाल्याण्को निम्कि लडेका हुन्‌ष केन्द्रिय कमिटीसित नै जीएलपीले तिनलाई सम्मान जनाउने छन्‌। तिनको रिहाईमा जीएलपीले शुभकामना व्यक्त गरेको छ।



राज्यस्तरीय कराते प्रतियोगिता हुने

कालेबुङ, 13 सितम्बर।
गोर्खा हिल्स कराते एण्ड किक बक्सिङ एसोसिएसनले आगामी 19 र 20 सितम्बरको दिन तेस्रो राज्य स्तरीय कराते प्रतियोगिता आयोजना गर्ने भएको छ। पत्रकारहरूलाई जानकारी गराउँदै एसोसिएसनका प्रमुख संरक्षक आनन्द प्रधानले स्थानीय रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुने दुइ दिवसीय राज्य स्तरीय कराते प्रतियोगितामा विभिन्न राज्यहरूबाट प्रतियोगीहरूले अंशग्रहण गर्ने बताएका छन्‌। तिनले बताए अनुसार आन्दोलन चलिरहेकोले एसोसिएसनले खेलहरूको आयोजना गरिएन तर अहिले शान्ति फर्किएपछि विभिन्न खेलहरू एसोसिएसनले शुरू गरेको छ। तिनले बताए अनुसार सिलगढी, उत्तर प्रदेश, सिक्किम, दिल्ली आदिका खेलाडीहरूले खेलमा अंशग्रहण गर्ने भएको छ। प्रशिक्षक राकेश बसुरले कराते प्रतियोगिता आयोजना गर्नुको उद्देश्य खोल्दै भने, पहाडका युवक युवतीहरू दुर्व्यसनको शिकार भइरहेका छन्‌। उनीहरूलाई सही दिशा निर्देश गर्न अनि शारिरिक अनि मानसिकरूपमा उनीहरूलाई सक्षम बनाउन नै यो खेलको आयोजना गरिएको हो। तिनले कालेबुङमा भइरहेको राज्यस्तरीय प्रतियोगिताले पहाडका खेलाडीहरूलाई प्रेरणा मिल्ने पनि बताए।

आइपीओको कारण वेरोजगार समस्यामा
सुन्दासको आपत्ति

कालेबुङ, 13 सितम्बर।
कालेबुङ डाकघरमा आईपीओ (इण्डियन पोष्टल अर्डर) सकिँदा विभिन्न पदहरूको निम्ति आवेदन गर्न वेराजगारहरूलाई असुविधा भइरहेको बताउँदै माकपा नेता तारा सुन्दास स्पष्टिकरण खोज्दै डाक घर पुगेका थिए। अहिले एसएससी परीक्षाको निम्ति साधारणवर्गले आइपीओ भर्नै पर्ने भए पनि उनीहरूले कालेबुङको डाकघरबाट आईपीओ पाएनन्‌ भन्ने सुन्दासको भनाइ छ। पोष्टमास्टर अशोक देवानको भेटघाटमा पनि सुन्दासले त्यही कुरा अवगत गराए। सुन्दासले भने, यो समस्या आजको मात्र होइन। यस अघि पनि आईपीओ भर्न नपाएर धेरै बेरोजगारहरू रोजगारको अवसर पाउनबाट चुकेका छन्‌। हिजो मात्र पनि आईपीओ सकिएपछि धेरै वेरोजगारहरू अलमल्ल परेका थिए। उनीहरूलाई कालेबुङको डाकघरबाट अन्यत्र डाकघरहरूतिर पठाएको तर कहीँ पनि आईपीओ नपाएको पनि तारा सुन्दासले बताए। आवेदनकर्ताहरूलाई आईपीओ आज नदिए पनि भोलि दिन्छु भन्ने ग्यारेन्टी किन दिन सक्दैन भन्ने प्रश्न उठाउँदै तिनले चार महिनादेखि यही समस्या बारम्बार दोहोरिरहेको जनाए। तिनेले डाक घरको कारणले नै पहाडका वेरोजगारहरू रोजगारको अवसरबाट वञ्चित हुनु नपरोस्‌ भन्दै यस्ता कुरामा डाकघर प्रवन्धन पक्षले ध्यान दिनुपर्ने पनि बताए। तिनले कालेबुङ दार्जीलिङ डाकमेल बन्द भएको सम्बन्धमा पनि पोष्टमास्टरबाट स्पष्टिकरण मागे। चार महिनासम्म डाक बोक्ने मेल नै नचलेको अनि यहॉंको मेल सिलगढी भएर जाने भएकोले कालेबुङमा जुन समस्या उत्पन्न भइरहेको छ, यसलाई लिएर पनि सुन्दासले प्रवन्धनपक्षलाई समाधान सूत्र निकाल्ने अपील गरे। पोष्टमास्टर देवानले आइपीओ डाकघरमा उपलब्ध रहेको अनि हिजो पनि रहेको जनाउँदै वेरोजगारहरूले बाहिर कसैलाई सोधेर मात्र फर्किएको हुन सक्ने अनि आफूलाई सोधेको भए उपलब्ध गराउने कुरा बताए। तिनले भने, अहिले डाकघरमा आईपीओ उपलब्ध छ. कसैले पनि लिन सक्ने छन्‌। तिनले क्षमताभरको आईपीओ उपलब्ध हुने अनि कोहीबेला सकिएको खण्डमा नजिकको डाकघरबाट लिने बताउँदै कमै समय मात्र डाकघरमा आईपीओ सकिने कुरा पनि गरे। यता डाकमेल सम्बन्धमा तिनले टेण्टरको प्रक्रिया शीघ्र नै हुने अनि यो समस्यालाई समाधान गरिने बताएका छन्‌।

बाइक चोर पक्राउ

कालेबुङ, 13 सितम्बर।
कालेबुङ ट्राफिक पुलिसले हिजो सॉंझ दुइजना बाइक चोरहरूलाई पक्राउ गरेको छ। नम्बरप्लेट नरहेको अनि कागजपत्र समेत नरहेको दुइवटा बाइक लिएर फिक्कल नेपालबका बासिन्दा अनि सिलगढीको एक आईआईएमका विद्यार्थी छोगेल तामङ अनि दोङ बस्ती पेशोकका सुवाङ्‌कर तामङ सॉंझमा कालेबुङ आइपुगेका थिए। कालेबुङ ट्राफिक पुलिससे उनीहरूलाई कालेबुङको मुखमा नै पक्रिए। सोधखोजको अवधी दुइवटै बाइक चोरीको रहेको पत्तो पाएपछि दुवैलाई थानामा हुले। थाना सूत्रले जनाए अनुसार उनीहरू कालेबुङमा बाइक बेच्ने विचारले आएका थिए।

0 comments: on "मोर्चाभित्र द्वन्द्व?"