मुख्य समाचार :


डा.हर्कबहादुर छेत्रीले सुधारे वयान



मनोज वोगटी

कालेबुङ, 13 सितम्बर।
विवादले आकाश छोइसकेपछि आज डा.हर्कबहादुर छेत्रीले आफ्नो वयान सुधारे। तिनले जीटीएको बील विधानसभामा पारित भएको भोलिपल्ट पत्रकारहरूले बारम्बार प्रश्न गर्दा एउटै उत्तर दिँदै भनेका थिए, जीटीएको चुनाउ तराई र डुवर्सको फ्याक्ट फाइण्डिङ कमिटीको रिपोर्ट पुग्न अघि नै हुनेछ। त्यसपछि यो वयानले मोर्चाभित्र नै अन्तरद्वन्द्व चलाएको थियो। तराई र डुवर्सका जनता मोर्चासित निराश बनेका थिए भने तराई डुवर्सका हाइपावर कमिटीका सदस्यहरू पनि अन्योलमा परेका थिए। त्यसपछि अध्यक्ष, महासचिव, स्टडी फोरम, हाइपावर कमिटीका सदस्य अनि विधायकबाट परस्पर विरोधी बयान आएका थिए जसले जनतालाई नै अन्योलमा पारेको थियो। आज डा.हर्कबहादुर छेत्री कोलकाता जान हतारमा थिए। अचानक नगरमा तिनलाई भेटेपछि पत्रकारहरूले तिनलाई तिनको अघिल्लो वयानले उपार्जन गरेको विरोधाभाषपूर्ण परिस्थितिमाथि प्रश्न गर्दा आज अर्कै कुरा बताए। तिनले भने, कहीं पनि लेखेको छैन कि चुनाउ अघि हुन्छ कि त हाइपावर कमिटीको रिपोर्ट पहिले हुन्छ। बीलमा लेखिएको छ कि दुवैको प्रक्रिया समानन्तर हुन्छ। बीलमा लेखिएको छ कि जीटीएको सिमाङ्‌कन र चुनाउको प्रक्रिया एकैसाथ हुन्छ। तिनकै भनाइले पनि अर्को सोंच्नुपर्ने कुरा के देखाएको छ भने हाइपावर कमिटीलाई रिपोर्ट बुझाउने मियाद छ महिना दिएको छ तर चुनाउको मियाद छैन। दुवै एकैसाथ हुनु हो भने चुनाउको प्रक्रिया पनि छ महिना चल्ने छ तर कुनै पनि चुनाउको प्रक्रिया हुन छ महिना समय लाग्दैन। डा. छेत्रीले जीटीए क्षेत्रको सीमाङ्‌कन तय नभइ चुनाउ सम्भव नरहेको पनि बताउँदै जीटीएको मात्र होइन पञ्चायत क्षेत्रको सीमाङ्‌कनमा पनि समय लाग्ने बताएका छन्‌। आज तिनले स्वीकार गरेका छन्‌ कि सीमाङ्‌कनको जम्मै प्रक्रिया तयार भइसकेपछि मात्र चुनाउ हुनेछ। तिनले बताए अनुसार तराई र डुवर्सको सीमाङ्‌कनको रिपोर्ट पुगेपछि मात्र 45 वटा समष्टीको निर्माण हुनेछ। जहॉं जीटीएको चुनाउ हुनेछ।

विकास र जीटीएको रूल एकैसाथ
प्रज्ज्वल छेत्री
कालेबुङ, 13 सितम्बर।
कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले अहिले जीटीएको रुल तयार भइरहेको जनाएका छन्‌। यति हुँदाहुँदै पनि पहाडको विकास प्रक्रियालाई स्थगित गरिएको छैन। रुल पनि बनिरहेको अनि विकास परियोजनाहरू पनि तयार भइरहेको तिनले जनाएका छन्‌। भर्खर नै मोर्चा महासचिव रोशन गिरी जीटीएको रिव्यु बैठकमा बसेको जहॉं पारित गरिएका विषयहरू कानूनकोरूपमा रुपान्तर हुने बताउँदै तिनले भने, यता जीटीएको रुल बनाउने प्रक्रिया चलिरहेको अवस्थामा केन्द्रद्वारा प्रदान गरिएको 200 करोडलाई पनि विकासकार्यमा खर्च गर्न विकास परियोजनाहरूको निर्माण गर्ने काम भइरहेको छ। डा. छेत्री गृह विभागको स्ट्याण्डिङ कमिटी,पव्लिक एस्टिमेट कमिटी अनि जम्मै कमिटीहरूको निम्ति बनाइएको फङ्‌कसनिङ कमिटीको पनि सदस्य रहेकोले कमिटीको बैठकमा बस्नेछन्‌। बैठक पछि उनीहरूको टोली दमदम जेल पुग्ने छन्‌। तिनले जनाए अनुसार सरकार परिवर्तनपछि दमदम जेलका कैदीहरूको सुविधा असुविधा हेरिने छ अनि त्यसको निचोडलाई लिएर विधानसभामा बहस गरिने छ। तिनले यताका जेलहरूमा पनि कमिटीको भ्रमण हुने पनि जनाएका छन्‌।

कानूनको रिव्यु हुनुपर्छ
छत्र सुब्बालाई विश्राम दिनुपर्छ-डा छेत्री
कालेबुङ, 13 सितम्बर।
जीएलओ नेता छत्र सुब्बालाई जसरी 10 वर्ष जेलमा सडाएर राखियो यसलाई हेर्दा कानूनपालिकामाथि पनि रिव्यु हुनुपर्ने अनिवार्य रहेको विचार विधायक डा.हर्कबहादुर छेत्रीले प्रकट गरेका छन्‌। तिनले भने, मैले त सोंचेको थिएँ कि छत्र सुब्बालाई माध्यम बनाएर छत्र जस्ता देशमा यसरी नै राखिएकाहरूको निम्ति छत्र सब्बा आई ओपनरकोरुपमा राख्न सकिन्छ। जसरी छत्र सुब्बलाई 10 वर्ष राखियो यो उचित थिएन। तिनले अझ भने, कसैलाई पनि गैरकानूनीरूपले यति वर्षसम्म राख्न सकिन्न। तर बङ्गालमा राखियो। यसकारण कानूनमाथि पनि रिव्यु-को अनिवार्यता देखापरेको छ। तिनले छत्र सुब्बाको उन्मुक्तिलाई सरकार परिवर्तन कै उपज बताए। तिनले भने, यसमा कसैले पनि श्रेय लिन सक्दैन। कसैको कोशिषले छत्र सुब्बाको रिहाई भएको होइन। सरकार परिवर्तन भएकोले तिनी मुक्त बनेका हुन्‌। तिनले ममता व्यानर्जीले गठन गरेको राजनैतिक बन्दीलाई मुक्त गर्ने कार्यक्रम कै एक अङ्गस्वरूप छत्र सुब्बाहरूको उन्मुक्ति भएको पनि बताए। तर छत्र सुब्बाले यस कुराको ठाडो विरोध गरेका छन्‌। तिनले सरकार परिवर्तनको कारणले होइन न्यायपालिकाको इज्जत राख्न न्याधीसले आफ्नो इज्जत बचाउन दोषहीनलाई जेलमा राख्न नसक्ने भएपछि अनि आफूहरूले दोषहीन दण्ड पुरा भोगेकोले नै रिहाई गरेको बताएका छन्‌। डा. छेत्रीलेे छत्र सुब्बासित आफ्नो दलको सिद्धान्त नै नमिल्ने अनि मोर्चा ससश्त्र आन्दोलनमा विस्वास नराख्ने दल रहेको बताउँदै भने, छत्र सुब्बासित आफ्नो आन्दोलन गर्ने माध्यम नै मिल्दैन। गोर्खाल्याण्ड प्राप्तिको निम्ति अलग्गै आन्दोलन गर्न सकिन्छ। तिनले आन्दोलन गर्न कुनै पार्टीको झण्डा समात्न अनिवार्य नरहेको पनि बताए। कुनै पनि व्यक्ति जो एक दशक भन्दा धेर बन्दी जीवन बिताइसकेका छन्‌ उनको मानसिक र शारिरिक अवस्था अत्यन्त कमजोर हुने बताउँदै तिनले भने, छत्र सुब्बालाई पर्याप्त मात्रामा विश्रामको खॉंचो छ। व्यक्तिगत स्वार्थको निम्ति सुब्बाको राजनैतक प्रयोग हुनु हुँदैन।

अन्ना हजारे झैं अनिश्चितकालीन अनशन गर्नेछु-भरत गान्धी

कालेबुङ, 13 सितम्बर।
बङ्गाल सरकारका मुख्यमन्त्री अघि अब चुनौति लिएर उभ्ने भएका छन्‌ दिल्लीका भरत गान्धी। भोटर्स पार्टी इन्टरनेश्नलका प्रवर्तक भरत गान्धी कालेबुङमा राजनीति सुधारो सम्मेलनको निम्ति दिल्लीबाट आएका थिए। जबसम्म ममता व्यानर्जीले बङ्गालको विधानसभामा भोटरशीपको मुद्दालाई सम्बोधन गर्दै अथवा बील पारित गर्दैन तबसम्म भरत गान्धीले कालेबुङबाट बङ्गाल सरकारलाई दबाव बनाउन अन्न हजारेले झैं अनशन गर्ने कार्यक्रमको घोषणा गरेका छन्‌। तिनले भने, भारत राजनैतिकरूपले त स्वाधीन भयो तर आर्थिकरूपले अझ शोषित छ। भारत आफै गरीब छैन तर गरीबीको खेती गरिएको छ। भारतलाई आर्थिकरूपले स्वाधिन गर्नको निम्ति हरेक भोटर्सलाई भोटरशीप प्रदान गर्नुपर्छ। यसको विधेयकलाई संसदले चर्चामा ल्याउनुपर्छ। तिनले 2006 देखि संसदमा भोटरशीपको विधेयक चर्चाहीन रहेको जनाउँदै भ्रष्टचारी पार्टी र पार्टीका अध्यक्षहरूले यसलाई कहिल्यै चर्चामा नल्याएको बताए। देशव्यापी अभियान चलाएर तिनले सरकारलाई हरेक भोटसर्र्लाई भोटरसीप दिलाउने आन्दोलन शुरू गरेको पनि जनाए। तिनकै पार्टीका कार्यकर्ताहरूले कालेबुङमा आज राजनीति सुधारो सम्मेलनको आयोजना गरेका थिए। जसलाई सम्बोधन गर्दै तिनले भने, आज जसरी मेरो अवधारणालाई सबैले आफ्नो अवधारणा बनाएर समर्थन गर्दै आन्दोलनको निम्ति अघि आउनु भयो यसलाई अझ बढाएर लैजानु भए म कालेबुङमा पॉंचौं महिनामा फेरि आउने छु अनि अन्ना हजारेले झैं बङ्गाल सरकारलाई दवाब दिन अनशन गर्नेछु। तिनले अब आउने मासिक भेलाको दिन मुख्यमन्त्री ममता व्यानर्जीलाई हरेक भोटरलाई भोटभत्ता दिनुपर्ने सम्बन्धमा ज्ञापन चढाउने बताए। त्यसपछि अर्को महिना दार्जीलिङका सांसद जसवन्त सिंहलाई ज्ञापन चढाउने, अर्को महिना एक दिने धर्ना गर्ने अनि अर्को महिना सप्ताहव्यापी धर्ना गर्ने बताउँदै पॉंचौं महिना पुगेपछि दिल्लीबाट आएर आफू अन्ना हजारेले झैं अनिश्चितकालीन धर्ना गर्ने बताए। तिनले सरकारले जसरी विभिन्न योजनाहरू विभिन्न माध्यमबाट तृणमूलस्तरसम्म पुर्‍याउने योजनाहरू गरिरहेको छ सबैलाई बन्द गरेर सोझै उनीहरूलाई रुपियॉं नै प्रदान गर्नुपर्ने बताउँदै स्कलर गर्नेलाई स्कलरशीप दिए जस्तै भोट गर्नेलाई भोटरशीप दिइनुपर्ने बताए। तिनले देशको 'गुलामी'को निम्ति भोटरशीप राम्रो 'इलाज' रहेको बताउँदै तिनीसित देशलाई आर्थिक स्वाधिन गर्न धेरैवटा दर्शन र नीति रहेको जनाए। अहिलेसम्म 32 वटा किताब लेखेर जनतालाई आफ्नो अधिकारको निम्ति लड्‌न एकत्रित गरिरहेको बताउँदै दार्जीलिङ र सिक्किममा पनि आफ्ना सङ्गठनहरू विस्तार भइरहेको जनाए। तिनले भने, अब यहॉंका मानिसहरूले जो कोही पनि चुनाउ उठ्‌छ भने उनीहरूलाई भोटरशीपको कुरा गरे समर्थन गर्नु नत्र भोट नै नदिनु। जसले पनि भोटरशीपको विरोध गर्छ उ जनताका प्रतिनिधि होइनन्‌। तिनको भोटरशीपको योजना र नीतिलाई विश्वको 107 देशहरू समेतले सहमति दिइसकेको बताउँदै तिनले अझ थपे, ममता व्यानर्जीलाई भोटरशीपको प्रावधान राज्यमा लागू गर्न दार्जीलिङबासीले चाप दिनुपर्छ। हामीले सबैलाई एकसाथ भोटरशीपको प्रावधान हुनुपर्छ भन्दैनौं। शुरूमा बीपीएल महिलाहरूलाई यो प्रावधान दिइयोस्‌। त्यसपछि आम महिलालाई दिँदा हुन्छ। त्यसरी नै पहिले बीपीएल पुरूषलाई दिनुपर्छ अनि अन्य पुरूषलाई यो प्रावधान दिइयोस्‌। तिनले जनाए अनुसार जसले पनि भोट हाल्छ उसलाई एटीएमको मार्फत देशको कोष जो उनीहरूको निम्ति प्रदान गरिन्छ, त्यसबाट सोझै भत्ता प्रदान गरिनुपर्छ। तिनले धेरै वर्ष अघिको आंकडाबारे बोल्दै प्रत्येक महिना 1,750 रुपियॉं काम नै नगरी भोट भत्ता दिनुपर्छ। यसो गरे देश आर्थिकरूपले स्वाधिन हुनेछ। तिनले देशका सबै राज्यहरूले भोटरशीपको प्रावधानबारे विधानसभाले विधेयक ल्याउनुपर्ने अनि केन्द्र सरकारलाई दवाब दिनुपर्ने बताए। तिनीसित नै आएका गुजरातका एसएस यादवले पनि देशलाई कर्पोरेट्‌स,लिडर्स अनि व्युरोक्राट्‌सले आफ्नो अधिनमा राखेको अनि आम नागरिकमाथि शोषण गरेको बताउँदै सरकारले गरीबकोपक्षमा कुनै पनि नीति नबनाएको ठोकुवा पनि गरे। तिनले भने, जति पनि गरीबी हटाउने योजनाहरू बनाइएको छ त्यो आम नागरिकलाई गुलामी बनाउने योजनाहरू हुन्‌। सॉंच्ची नै देशका नागरिकहरूलाई गरीब हुनबाट बचाउने हो भने उनीहरूलाई भोटरशीप दिइनुपर्छ। तिनले दाबी गरे अनुसार प्रत्येक परिवारका सदस्यले पॉंच हजार भन्दा धेर राशि मासिकरूपले निःशुल्क पाउन सक्ने बताए। तिनले भने, 137 जना सांसदले भोटरशीपको बीलमाथि हस्ताक्षर गरिसकेका छन्‌ तर कंग्रेस सरकारले यसलाई बहसमा ल्याएको छैन। बहसमा नल्याउनु भनेको भ्र्रष्टचारलाई समर्थन गर्नु हो। देशको कुनाकुनाबाट अब भोटरहरू जाग्नुपर्छ अनि आफ्नो अधिकार देशलाई माग्नुपर्छ। यसै कार्यक्रममा कानपुरका एके बोद्ध अनि सिक्किमका नकुलदास राईको पनि उपस्थिति थियो।


0 comments: on "डा.हर्कबहादुर छेत्रीले सुधारे वयान"