मुख्य समाचार :


कालेबुङ विज्ञान केन्द्रमा उच्च क्षमताशील टेलिस्कोप



पर्यटक एवं विद्यार्थीहरूको आगमनमा वृद्धि
प्रज्ज्वल छेत्री कालेबुङ, 29 अगस्त।
कालेबुङ शहरदेखि 8 किमि. टाड़ामा अवस्थित कालेबुङ विज्ञान केन्द्र हाल विद्यार्थी अनि पर्यटकहरूको निम्ति दिनोदिन आकर्षणको केन्द्र बन्दै गइरहेको छ। राष्ट्रिय विज्ञान संग्रहालय भारत सरकारले निर्माण गरिदिएको यस विज्ञान केन्द्र हाल दागोपाप शिक्षा विभागले देखरेख गरिरहेको छ। उक्त विज्ञान केन्द्र पश्चिम वङ्गाल सरकार पञ्जिकरण ऐन 1961 अन्तर्गत गठन भएको हो। केन्द्रमा हाल विज्ञानसँग सम्बन्धित विद्यार्थीहरूको निम्ति उपयोगी सामाग्रीहरू राखिएको छ। विद्यालयमा विद्यार्थीहरूले पुस्तकको माध्यमबाट मात्र अध्ययन गर्ने मौका पाउँछन्‌ भने कालेबुङ विज्ञान केन्द्रको उद्देश्य विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिएर विज्ञानमाथि अझ धेर जिज्ञासा जगाउनु रहेको छ। साधरण मानिसहरूदेखि लिएर विशेष गरी विद्यार्थीहरूको निम्ति अत्यन्तै उपयोगी अनि उच्च क्षमताशील टेलिस्कोप आजदेखि केन्द्रले उपलब्ध गराएको लगभग 2 लाख रूपिँयाको लागतमा ल्याएको उक्त कम्प्यूटराइज टेलिस्कपको माध्यमबाट ब्रह्माण्डमा भएका ग्रहहरूलाई सहजै देख्न सकिन्छ। कालेबुङ विज्ञान केन्द्रका क्यूरेटर बी.बी. गुरूङले बताएनुसार विद्यार्थीहरूलाई एस्ट्रोनोमीमाथि जिज्ञासा बढ़ाउने उद्देश्यले केन्द्रमा नयॉं तक्निकीद्वरा निर्माण गरिएको टेलिस्कोप ल्याइएको हो।

तिनले अझ जानकारी गराएनुसार यस टेलिस्कोपबाट ब्राह्माण्डमा भएका ग्रहहरूको फोटो अनि भिडियोहरू सहजै लिन सकिन्छ। तिनले आकाशमा ग्रहण लागेको समय एलसीडी अथवा केबलको माध्यमबाट मानिसहरूले घर घरमा बसेर सोझो प्रसारण पनि हेर्नसक्ने जनाए।

यस्ता उच्च क्षमताशील टेलिस्कोप केन्द्रमा उपलब्ध गराइनुमा शिक्षा विभागका सचिव पीटी शेर्पाको महत्त्वपूर्ण योगदान रहेको जनाए। यस बर्ष मात्र केन्द्रले पर्यटकहरूको आकर्षणको निम्ति सम्भवतः उत्तर बङ्गालमा नै पहिलोचोटि जरबीङ बल पनि ल्याएको छ। 14 फीट गोलाई भएको उक्त जरबीङ बलमा दुइजना व्यक्ति सहजै भित्र पसेर मनोरञ्जन लिन सक्नेछन्‌।
हाल केन्द्रमा 31 वर्षसम्मका पर्यकटहरूको आगमानको संख्या धेर रहेकोले पर्यटकहरूलाई बिज्ञानदेखि अलगै केही मनोरञ्जन दिने उद्देश्यले केन्द्रले जरबीङ बल पनि उपलब्ध गराएको क्यूरेटर गुरूङले जनाए। यति मात्र होइन यसै वर्षदेखि केन्द्रले गरीबी रेखादेखि मुनीका विद्यार्थीहरूलाई निःशुल्क कम्प्यूटर शिक्षा पनि प्रदान गर्दै आइरहेको छ। यसबाहेक केन्द्रले विद्यालय अनि अन्य मानिसहरूलाई दैनिक रूपमा मौसम सम्बन्धी जानकारी दिने गर्दछ।

अब केन्द्रको नयॉं योजनाहरूमध्ये डीजीटल प्लानिटेरियम अनि थ्रीडी थिएटर पनि उपलब्ध गराउने योजना रहेको छ। डीजीटल प्लानिटेरियमको निम्ति केही समय लाग्न सक्ने भए पनि थ्रीडी थिएटर चॉंड़ै निर्माण हुनसक्ने केन्द्रका क्यूरेटर गुरूङले बताएका छन्‌। केन्द्रमा विज्ञानसँग सम्बन्धित अत्याधुनिक अनि महत्त्वपूर्ण सामग्रीहरू प्रदर्शनीमा राखिएको छ। केन्द्रले दैनिक रूपमा केमिकल सो अनि तारामण्डल सम्बन्धि कार्यक्रम गर्दछ। पश्चिम बङ्गालमा भएको सातवटा विज्ञान केन्द्रहरूमध्ये कालेबुङ विज्ञान केन्द्र पहाड़को एकमात्र केन्द्र हो। अन्य छः वटा केन्द्रहरू सोझै केन्द्र सरकारको देखरेखमा चल्ने गर्दछ भने कालेबुङ विज्ञान केन्द्र दापोपप शिक्षा विभाग अन्तर्गत पर्दछ।

तर अचम्भ लाग्दो विषय के छ भने बङ्गालमा भएको अन्य छः वटा केन्द्रहरूलाई केन्द्र सरकारले हेर्ने भएकोले त्यस केन्द्रहरूका कर्मचारीहरूलाई स्थायी रूपमा नियुक्त गरिएको छ। तर सरकारको पहाड़प्रतिको उदासिनताको कारण कालेबुङ विज्ञान केन्द्रका सबै कर्मचारीहरूले स्थापना कालदेखि नै अस्थायी रूपमा कार्य गर्दै आइरहेका छन्‌। यी कर्मचारीहरूमध्ये पनि 6 जना कर्मचारीहरू त झनै बोर्ड परीक्षा पास गरी सरकारी क्राइटेरियाको आधारमा नियुक्त भएपनि उनीहरूलाई आजसम्म स्थायी गरिएको छैन।

यद्यपि केन्द्रमा अहिले वार्षिक रिपोर्टको आधारमा हरदर दैनिक रूपमा दुइ सयभन्दा अधिक पर्यटकहरू आउने गर्छन्‌। केन्द्रमा अस्थायी कर्मचारीकै रूपमा क्यूटेरको पदभार सम्हालिरहेका बी.बी. गुरूङले जनाएनुसार केन्द्रको वास्तविक उद्देश्य पर्यटक बोलाएर राजस्व संग्रह गर्नु नरहेको तर पहाड़का विद्यार्थीहरूलाई विज्ञानप्रति प्रोत्साहित गर्न बनाइएको हो। यद्यपि, विज्ञान केन्द्रको कारणले विद्यार्थीहरूलाई हुने लाभसँगै पर्यटकको आगमन भने दिनोदिन बढ़िरहेको जनाए, जो पहाड़वासीको निम्ति महत्त्वपूर्ण विषय हो। कालेबुङ विज्ञान केन्द्रको अहिलेसम्म नभएको लोगो अब चाड़ै हुने बताउँदै गुरूङले लोगो डिजाइन गरी मानिसहरूले चाड़ै नै केन्द्रलाई बुझाउने अनि सर्वोत्कृष्ट लोगोलाई केन्द्रले चयन गरी सम्बन्धित व्यक्तिलाई नगद राशीसहित सम्मान जनाइने बताए। कालेबुङमा रहेको बिज्ञान केन्द्रमा विज्ञानसँग सम्बन्धित धेरै सामाग्रीहरू उपलब्ध रहेकोले पहाड़का विद्यार्थीहरूले उक्त केन्द्रबाट धेरै लाभ उठाउन सक्नेछन।्‌ केन्द्रको सही संरक्षण अनि सम्बर्धन भए पहाड़मा पर्यटकहरूको आगमन अझ धेरै बढ़ेर जानसक्ने सम्भावना रहेको छ।


0 comments: on "कालेबुङ विज्ञान केन्द्रमा उच्च क्षमताशील टेलिस्कोप"