मुख्य समाचार :


कालेबुङमा सॉंस्कृति केन्द्र हुनुपर्छ - हर्कबहादुर छेत्री


कालेबुङ,27 अगस्त ः
कालेबुङको विधायक बनेपछि डा.हर्कबहादुर छेत्रीले आज पहिलोपल्ट साहित्यिक कार्यक्रम बसिबियॉंलोेमा उपस्थिति दिए। बसिबियॉंलो कालेबुङको निम्ति फोक्सो हो किन भने बसिबियॉंलोले कालेबुङका सर्जकहरूलाई कठिन समयमा पनि सास फेर्ने मौका दिएको छ। दुइजना मान्छे भेला हुँदा पनि वक्रदृष्टिले हेरिने समयमा, सिर्जना र कलाको सम्मान नभएको समयमा पनि यो मञ्चले स्थानीय साहित्यिक र कलाकारहरूलाई उन्मुक्त स्थान दिएर आफ्नो मनको भँड़ास पोख्ने अवसर दिने गरेको थियो। बसिबियॉंलो -लाई केवल समयकटनीको रुपमा होइन तर गम्भीर रुपमा समाजले ग्रहण गर्नुपर्ने समय आएको छ। बसिबियॉंलो -मा आज आउने सिकारुहरूले तिख्रिँदै गएर भोलिको दिनमा सम्पूर्ण नेपालीभाषी संसारको प्रतिनिधिको रुपमा उभिन सक्ने क्षमता विकास गर्न सक्छन्‌। मान्छे मरेर गएपछि उसको सम्पत्तीको गन्ती हुँदैन तर उसले के काम गरेर गयो त्यसको सम्झना हुन्छ। कुनै पनि स्थान, समाज र जातिको सभ्यताको नापजोख गर्ने काम त्यहॉंको साहित्य र सिर्जना हेरेर गरिन्छ। यसैले बसिबियॉंलो -ले आज कुनै मान्यताबिना, कुनै सरकारी सहयोग बिना, कुनै पञ्जीकरण बिना साहित्य र सिर्जनाको क्षेत्रमा जुन काम गरेर गइरहेको छ त्यो अन्य साहित्यिक सङ्‌गठनहरूका निम्ति अनुकरणीय रहेको छ।
कालेबुङ विधानसभा समष्टिबाट चुनिएपछि प्रथमपल्ट यहॉंको साहित्यिक कार्यक्रममा आफ्नो उपस्थिति दिँदै स्थानीय विधायक डा. हर्कबहादुर छेत्रीले उक्त मन्तव्य पोखे। स्वयम्‌ पनि समालोचक र कवि रहेका विधायक डा. छेत्रीले नेपाली साहित्यका कृतिहरूको अनुवाद अन्य भाषामा हुनुपर्ने विषयमा चलेको चर्चामाथि आफ्नो मन्तव्य पोख्दै अनुवादकहरूमा लक्ष्यित भाषाको आवश्यक ज्ञान हुनुपर्ने वाञ्छनीयतामाथि बल दिए अनि नेपाली साहित्यको स्तरीय रचनालाई मात्रै अनुवाद गर्ने प्रयास गरिनुपर्ने उनले बताए। यसो हुँदा अन्य भाषामा नेपाली भाषाको सर्वोत्कृष्ट कृतिहरू रुपान्तरित हुने अनि त्यसले सम्पूर्ण नेपाली साहित्यको असरदार छवि अन्य अनेपाली समाजमा प्रस्तुत गर्ने उनले बताए। हालमा आफू राजनैतिक कार्यकर्ताको रुपमा व्यस्त रहेको कारण यस प्रकारका कार्यक्रममा उपस्थित हुन नसकिरहेकोमा खेद प्रकट गर्दै उनले बसिबियॉंलो -मा भने मौका मिलेको खण्डमा समय दिने गरेको उनले बताए अनि यस कार्यक्रमको सामाजिक महत्ताबारे प्रकाश पारे।
आगामी नोभेम्बर महिनामा सम्पन्न हुने दुइ दिनव्यापी राष्ट्रिय स्तरको बसिबियॉंलो कार्यक्रममा आफूले यथासक्य सहयोग पुर्‍याउने प्रतिश्रुति दिँदै विधायक छेत्रीले कालेबुङमा एउटा सांस्कृतिक केन्द्रको आवश्यकता रहेको अनुभव पोखे। यस दिशामा बसिबियॉंलो परिवारलाई आवश्यक प्रस्ताव प्रस्तुत गर्ने सुझाउ राख्दै डा. छेत्रीले कुनै पनि सभ्य अनि शिक्षित ठाउँमा एउटा सांस्कृतिक केन्द्रको स्थापना हुने गरेको बताए। उनले कालेबुङमा पनि साहित्यप्रेमी, कलाकार, सर्जकहरूलाई दैनन्दिनीको अस्तव्यस्ततादेखि आराम र विश्राम लिनका लागि अनि मनमिल्नेहरूसित बसेर बातचित गर्नका लागि एउटा भेटघाटको थलो हुनुपर्ने आवश्यकता अनुभव गर्दै डा. छेत्रीले यस कार्यका लागि उनले आफ्नो तर्फबाट विधायकको नातामा सहयोग पुर्‍याउने वचनबद्धता दोहोर्‍याए।
आज यहॉंको महकुमा पुस्तकालयमा आगामी बसिबियॉंलो-को शतकीय प्रकरणको प्रारुप तयार गर्नका लागि डाकिएको महत्त्वपूर्ण सभामा वरिष्ठ शिक्षाविद् बी. आर. छेत्रीले आफ्नो मन्तव्य पोख्दै नेपाली भाषाको व्यावहारिक परिस्थितिमाथि चर्चा गरे। यसरी नै पत्रकार रुद्र कार्की, प्राध्यापक सञ्जय विष्ट, हर्क परियार, शिबु छेत्री आदिले पनि अनुवाद साहित्यमाथि आफ्नो विचार प्रकट गरे।
कार्यक्रमको पहिलो चरणमा बसिबियॉंलो -का सदस्य तथा युवा साहित्यकार हीरा छेत्रीले भर्खरै शान्तिनिकेतन अनि कलकत्तामा आफूले सहभागिता जनाएको विश्वकवि रवीन्द्रनाथ ठाकुरको जन्मोत्सवको कार्यक्रमका अनुभवहरू पोखे। उनले आफूलाई उक्त कार्यक्रममा प्रस्तुत गर्ने रचनाका अनुवादकद्वय हिन्दीका मुकेश ठाकुर अनि अङ्‌ग्रेजीका अनुप मोक्तानप्रति कृतज्ञता प्रकट गर्दै सम्मान जनाए।
आजको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीमती सानुमती राई, ज्ञान सुतार, टी. एन. सुवेदी आदि लयागत युवा साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, लगातार आयोजना भएर आइरहेको मासिक वैचारिक गोष्ठी बसिबियॉंलो -ले कालेबुङमा 100 -औं प्रकरण पूर्ण गरिसकेको छ। यसै उपलक्ष्यमा आगामी 5 अनि 6 नोभेम्बरका दिन राष्ट्रिय स्तरमा बसिबियॉंलो कार्यक्रम सञ्चालन गर्नका लागि एउटा समितिको गठन गरिएको छ। बहुभाषीय रूपमा सम्पन्न हुने तय गरिएको उक्त दुइ दिवसीय कार्यक्रममा भारतका अन्य भाषाका लेखक-कविहरूलाई पनि निमन्त्रणा गरेर नेपाली साहित्यसित परिचित गराइने मूल ध्येय राखिएको जानकारी शतकीय प्रकरणका मूल संयोजक शमसेर अलीले दिएका छन्‌।

0 comments: on "कालेबुङमा सॉंस्कृति केन्द्र हुनुपर्छ - हर्कबहादुर छेत्री"