मुख्य समाचार :


डुवर्स त टाडाको कुरा जीटीएले सिलगढी पनि जानीजानी छोड्‌दैछ-मोक्तान



मनोज वोगटी
कालेबुङ,27 अगस्त।
केन्द्र सरकार, राज्य सरकार अनि मोर्चाबीच हस्ताक्षर गरिएको गोर्खाल्याण्ड टेरिटोरी एड्‌मिनिष्ट्रेशन यसपल्टको ग्रीष्मकालीन सत्रमा बीलकोरूपमा नआएकोले मोर्चाको टाउको दुखाई भइरहेको छ। अर्कोतिर सत्रको अन्तिम घडीमा यो बील आउन सक्ने लख पनि मोर्चा शिविरबाट काटिएको छ। गोर्खाल्याण्डको मागलाई नपन्साई विकासको निम्ति हस्ताक्षर गरिएको जीटीएमा सीमाङ्‌कनको कुरा धेरै विवादमा आएको थियो। यसको निम्ति केन्द्र, राज्य, मोर्चा अनि डुवर्सका प्रतिनिधिहरू रहेको उच्चक्षमतासीन कमिटीको पनि गठन भइसकेको छ तर काम भने गरेको छैन। यता मोर्चाले गोर्खाल्याण्डको निम्ति सीमाङ्‌कनको कुरामा जोर दिइरहेको छ भने अर्कोतिर सुवास घिसिङले छोडेको दार्जीलिङको सिलगढी महकुमालाईलाई यसपल्ट पनि हात काटेर नै छोडिरहेको छ। भागोपको टास्क फोर्सका अध्यक्ष आर मोक्तानले बताए अनुसार आखिरमा गोरामुमोले जस्तै गोजमुमोले पनि सिलगढी छोडिरहेको छ। 70 को दशकमा दार्जीलिङमा स्थापित जिल्ला परिषद चारवटा महकुमालाई लिएर सञ्चालित हुनेगर्थ्यो तर सुवास घिसिङले गोर्खाल्याण्डको कुरा गर्दै दागोपाप थापेपछि सिलगढीलाई छोडेका थिए। दागोपापबाट बाहिर रहेको सिलगढीमा महकुमा परिषद सञ्चालन भइरहेको छ। दागोपाप खारेज भएपछि दार्जीलिङ जिल्लाले आफ्नो पुरानो स्वरूप पाउनुपर्ने हो तर दागोपापको साटोमा गोजमुमोले ल्याएको जीटीएमा पनि सिलगढी नपस्ने भयो। मोक्तान अनुसार जीटीएमा त्रिस्तरीय ग्राम पञ्चायतको अधिकार दिइएको छ। तर त्रिस्तरीय पञ्चायत दागोपापको तीन महकुमा नै सञ्चालन हुने स्पष्ट छ। किन भने सम्झौतापत्रमा जीटीए क्षेत्रमा मात्र त्रिस्तरीय पञ्चायतको चुनाउ हुने उल्लेख गरिएको छ। जीटीए भनेको दगोपाप को क्षेत्रमा स्थापित अर्को व्यवस्था होे। संविधान अनुसार दागोपाप क्षेत्रमा त्रिस्तरीय ग्राम पञ्चायत सम्भव छैन, दागोपाप भनेको केवल तीनवटा महकुमा हो अनि त्रिस्तरीय ग्राम पञ्चायतको निम्ति चारवटा महकुमा सिलगढी, दार्जीलिङ, कालेबुङ अनि खरसाङ रहेको पुरै जिल्ला चाहिन्छ। मोक्तानले भने, त्रिस्तरीय ग्राम पञ्चायत भने जिल्ला परिषदको कुरा हो। जिल्ला परिषदको गठन केवल तीनवटा महकुमालाई लिएर गठन गरिँदैन। यसको निम्ति दार्जीलिङ पूर्ण जिल्ला हुनुपर्छ। सिलगढी पनि दार्जीलिङको महकुमा हो। दार्जीलिङ भनेको पार्सियल्ली एक्सक्लुडेड एरिया हो। 13 अप्रेल 1954 मा एब्जर्ब एरिया एक्ट ल्याएर पश्चिम बङ्गालमा दार्जीलिङ जिल्लालाई एब्जर्ब गरिएको हो मर्ज गरिएको होइन। एब्जर्ब र मर्ज भिन्ना भिन्नै कुरा हो। यसकारण छुट्टैराज्य गठन गर्नको निम्ति पूर्ण दार्जीलिङ जिल्लाको आवश्यकता पर्छ। छुट्टैराज्यको सवालले बङ्गाल विभाजनलाई इङ्गित गर्दैन। बङ्गालबाट मुक्तिको कुरा गर्छ। बङ्गालबाट दार्जीलिङ जिल्लालाई डिएब्जर्ब गरिनुपर्छ।
तिनले यसो नभई अनि अघिबाट नै गोर्खाल्याण्डको मानचित्रबाट सिलगढीलाई बाहिर राखिएको हुँदा हुँदै पनि जुन जीटीएको हस्ताक्षर भयो यो यसकारण ऐतिहासिक भूल बनेको पनि स्पष्ट पारे। तिनले भने, यसो त अघिबाट नै दार्जीलिङ-जलपाईगुडी डेभलोपमेन्ट कर्पोरेशन गठन गर्नुपर्ने तर सिलगढी- जलपाईगुढी डेभलोपमेन्ट कर्पोरेशन गठन गरिएको छ। अघिबाट नै सिलगढी ज महकुमासित जिल्ला जोडेर कर्पोरेशन गठन गर्नु अनि दार्जीलिङ जिल्लालाई छोड्‌नु सिलगडी अघोषित जिल्ला हो भनेक सन्देश दिनु रहेको अनि यस्तो अवस्थामा पनि मोर्चाले सिलगडीलाई अनदेखा गर्दै अनि राज्य सरकारले पनि कानून समेतलाई अनदेखा गरेर तीनवटा महकुमामा त्रिस्तरीय चुनाउको कुरामा हस्ताक्षर गर्नु गोर्खाल्याण्डको सवालमा ठूलो षडयन्त्र हो। जीटीएबाट पनि सिलगढीलाई छोड्‌नु भनेको गोर्खाल्याण्डको निम्ति गलत कदम चलाउनु रहेको भन्दै तिनले चार महकुमामा नै त्रिस्तरीय पञ्चायतको कुरा हुनुपर्ने कुरामा जोड दिएका छन्‌।

आगनबाडी कर्मी सभा सम्पन्न
कालेबुङ,27 अगस्त।
स्थानीय मानेलाखा गुम्बामा आज जनमुक्ति आगनबाड़ी कर्मी-सहकर्मीको तेस्रो वार्षिक सभा सम्पन्न भयो। आसीडीएस यूनिट 1 को आयोजनामा सम्पन्न सभामा आइडीएस यूनिट एक अनि दुइका कर्मी सहकर्मीहरूको उपस्थिति रहेको थियो। सभामा मुख्य अतिथिको रूपमा जनमुक्ति कर्मचारी सङ्गठन महकुमा सिमितिका सभापती खड्क विक्रम सुब्बा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा कर्मचारी सङ्गनका पदाधीकारीहरू अनुप लामा अनि हेमचन्द्र सुब्बा रहेका थिए। आजको सभा चम्पा प्रधानको सभानेत्रीत्वमा सम्पन्न भएको थियो। सभामा जनमुक्ति आगनवाड़ी कर्मी सहकर्मीहरूकोे वार्षिक हरहिसाब अनि कार्यप्रणालीबारे छलफल गरियो। सभामा पुरानो समिति विघटन गरी नयॉं समिति बनाउने योजना रहेको भएपनि सो आज नभएर पुरानै समिति यथावत रहेको छ।

अगस्टिन विद्यालयमा वार्षिक उत्सव
कालेबुङ,27 अगस्त।
86 सालमा यहॉंको सन्त अगस्टिन विद्यालयबाट उत्तिर्ण भइ हाल विभिन्न पेशामा कार्यरत विद्यार्थीहरू आज पुनः विद्यालयमा भेला भए। सन्त अगस्टिन विद्यालयले शुक्रवारदेखिनै तीनदिने वार्षिक उत्सव पालन गरिरहेको छ। शुक्रवार भएको पहिलो दिनको कार्यक्रम विद्यालयकै विद्यार्थीहरू लिएर सम्पन्न भएको थियो। आजको कार्यक्रम सन्त अगस्टिन विद्यालयबाट उत्तिर्ण हुने 86 को व्याचका विद्यार्थीहरूलाई लिएर गरिएको थियो। 25 वषर्र्अधि विद्यालयबाट पढ़ाइ सिध्याएर निस्केका भूतपूर्व विद्यार्थीहरूको रजत जयन्तीको अवसरमा भूतपूर्व विद्यार्थी दिवसको रूपमा आज विद्यालयले पालन गर्‍यो। कार्यक्रमको पहिलो चरणमा आज सिलगड़ी अनि कालेबुङमा रहेका भूतपूर्व विदार्थीहरूबीच मैत्री लात्तेभकुण्डो प्रतियोगिता सम्पन्न भयो। लात्ते भकुण्डोपछि विद्यालयकै प्रेक्षागृहमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा भूतपूर्व विद्यार्थी उत्तर बङ्गाल क्षेत्रका डिपुटी कमिश्नर श्री अञ्जु शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथि लगायत विद्यालयका रेभ. फादर लरेन्स मोन्टोरियोको बाहुलीबाट भूतपूर्व विद्यार्थीहरूलाई सम्बर्धना जनाइयो। विद्यार्थीहरूलेे आज गीत, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए भने विद्यार्थी लगायत शिक्षक शिक्षिकागणको कार्यक्रममा व्यापक उपस्थिति रहेको थियो। भोलि विद्यालयको वार्षिक समारोहको अन्तिम दिन अविभावकहरूलाई लिएर कार्यक्रम गरिने भएको छ।

0 comments: on "डुवर्स त टाडाको कुरा जीटीएले सिलगढी पनि जानीजानी छोड्‌दैछ-मोक्तान"