मुख्य समाचार :


फेयरवेल टु सावन राई

टीका ‘भाइ’
कालेबुङ

आज पत्रिकामा दार्जिलिङका एक नेता सावन राई लगायत उनका हितैसीहरु अर्को दलमा प्रवेस गरेको खबर संचार माध्यमले बोकेर आयो। अनुहार खुम्चाएर नयाँ झन्डा, दलका अध्यक्षबाट थापीरहेको फोटोमा देख्दा पोहोर साल उनै नेताले दार्जिलिङको सुमेरु मंचबाट मई-दिवसमा गोजमुमो र गोजमुमोका नेताहरुमाथि खनाएको आक्रोस झल्झली आयो। तर यस्ता खबरहरु हेर्न र सुन्न अभ्यस्त भैसकेकोले होला केही नौलो र ठुलो घटना जस्तो लागेन। ठुल-ठुला राजनैतिक दललाई पनि आफ्नो शक्तिमा सधैं संका लागिरहेको हुन्छ, त्यसैले दार्जिलिङमा राजनैतिक दलहरु झार-पात, धुलो, कसिङ्गर केही झर्को नमानी बटुली रहन्छन्।

बाटोमा यसै आफ्नै धुनमा हिडिरहेको थिएँ, दुई भद्र पुरुषहरु गफ हाँकीरहेको सुने, ‘सवान राई को रहेछ?,’ अर्कोले भन्यो ‘क्रमाकपाको लिडर हरे हौ!’ फेरी पहिलोले भन्यो-‘ आफ्नो पार्टीसितै ईमान्दार नभएको अर्को पार्टीमा इमान्दार हुन्छ?’ अर्कोसित त्यस घटना बारे चर्चा गर्ने इच्छा थिएन सायद ‘त्यै त!’ मात्र भनेर कुरो अरुतिरै लग्यो। सानै भएपनि यी कुराहरुको चर्चा त हुँदोरहेछ। सही, गलत, राम्रो, नराम्रो थरी- थरीको। सावन राई नामका यो आजको पत्रिकाको नायक मेरो निम्ति पनि चासोकै विषय बन्यो। किनभने उनलाई, उनको परिवार र उनका आफन्त र केही गाउँलेहरुसित मेरो व्यक्तिगत परिचय छ। र उनिबारेमा मलाई कुनै प्रत्रिक्रिया लेख्न उत्तिकै गाह्रो परेकोछ, जत्ति आर.बी.राई र क्रमाकपा समर्थकहरुलाई। धोखा दिएपनि आर.बी.राई लगायत उनका साथीहरुलाई उनीबारे कुनै नमिठो मत व्यक्त गर्न इमानले दिएन। तर नलेखिए यो थरीको राजनैतिक चरित्रले समाजमा अर्को गाडे घाउ थप्नेछ भन्ने लाग्यो, र ती तमाम राम्रा सम्बन्ध, ती तमाम सम्भावित परिणाम आदिलाई भन्दा सही कुराको स्थापनाकै निम्ति ‘हृदयलाई सुन्य नै राखेर’ यो लेख मगजले मात्र लेखिरहेछु।

सावन राई एक कम्युनिस्ट नेता, मार्क्सवाद मान्ने मान्छे- कमरेड, एकदिन थिए। कमरेड भनेको साथीभन्दा नजिकको साईनो हो। साथीहरु युद्ध-मोर्चामा संगै नहुनै सक्छन्, तर कमरेड भनेको एउटा विचार, एउटा लक्ष्य, एउटै मोर्चामा डटने जीवन-मृत्यु बाँडचुड सह-योद्धा हो। वर्ग-मुक्तिको युद्ध लड्नेहरु वर्ग दुश्मनको क्याम्पमा सम्झौता गर्नसाथ उ दुश्मनभन्दा खतरनाक हुन्छ। तर बिचरा आर.बी.राई बोलेनन्। मदन तामाङ कसले मारे त्यो जान्नेहरुले जानिसके, आर.बी.राईलाई राजनैतिक रुपले हत्या गर्ने कोसिश गरिएको दोष भने कसलाई लाग्यो त्यो अब चिनाउन गाह्रो नपर्ला। दार्जिलिङमा गणतन्त्र, चोखो राजनीति र व्यक्तिवादबिरुद्ध लड्न, तथा दार्जिलिङमा मानव-अधिकारको रक्षा गर्न थोरै भएपनि एक विपक्षी राजनैतिक दलले जुन भूमिका निर्वाह गर्नु पर्छ त्यसभन्दा श्रेष्ठ राजनीति त सत्ताधारीबाट अपेक्षा नै गर्न सकिन्न। तर त्यो कर्तव्य पनि उनले त्यागे।

एकदिन एक साथीले मलाई भने-‘ सावन राई माकपाको एजेन्ट हुन् !’ त्यो प्रमाणित गर्नलाई उनले थुप्रै उदाहरण दिए। नानीहरुलाई काममा लगाएको कुरादेखि भट्टाचार्य बाबुसित के-कहाँ भेट भएको कुरा, मैले त्यस कुराको प्रतिवाद नै गरें- कुनै व्यक्तिमाथि केही छुट-पुट घटनाहरुलाई आधार बनाएर यसरी आरोपित गर्नु हुँदैन। उनले आत्मसात गरेको जिम्मेवारी र दसकौं लामो राजनैतिक अनुभवलाई सम्मान गर्नु पर्छ। आज लाग्यो कतै गलती म आफै थिएँ कि ! बंगालमा वामफ्रन्ट पराजित हुनासाथ यता दार्जिलिङमा सावन सरको राजनैतिक सरुवा हुनुले, उहाँलाई एक सत्ताधारी मालिकको ज्यादै खाँचो पो थियो कि !यसरी मनमा कुरा खेल्न जायज नै हो।

अन्यथा उनीजस्ता पाकेका नेतासित अरु धेरै राम्रो विकल्पहरु थियो नै। एक कम्युनिस्ट नेता र अन्यहरु माँझमा राजनैतिक लाईनको संकट आए बहस, संस्लेषण चलाउने उपाय हुन्छन्। लाईन संघर्षले पराकाष्टा नाघे क्रमाकपा भन्दा राम्रो र वर्तमान समय र वस्तुस्तिथि सुहाउँदो अर्को वाम राजनैतिक दल बनाउन सक्थे। त्यसो नभए आफुलाई राजनैतिक रुपले अलग राख्ने निर्णय गरेर स्वाधीन जीवन बिताउन सक्थे वा त राजनैतिक सन्यासकै घोषणा गर्न सक्थे। यी मध्ये कुनै पनि निर्णय गरेको हुँदो हुन् त उनलाई र उनको जुझारुपनलाई ‘सलाम’ भन्ने ठाउँ रहने थियो। तर आज आफैले धेरैचोटी थुकेको, आफैले भन्नु-नभन्नु भनेको राजनैतिक घरमा सरन लिएर आफ्नै असिम-भोक र महत्वाकांक्षालाई प्रदर्शित गरेका छन्। गोजमुमोका नेतृत्वहरुले उनको इमान्दारीतालाई के-कसरी हेरेका छन् तर आर.बी. राईको इमानदारिताको संघार नाघेर

आएको पाहुना गोजमुमोमा जातिको मुक्ति, हित र विकासको निम्ति आएका हुन् भनेर मान्छन् भने त्यो गोजमुमोमा रहेर डुङ्गा-मुडा खाने वास्तविक र संघर्षशील समर्थककै अपमान मात्र हो।

क्रमाकपा एउटा सानो तर गणतन्त्रमा अनिवार्य विपक्षी स्तम्भ हो। यसलाई सम्पूर्ण हिसाबले अन्त गर्ने सपना मात्र देख्नु नै अगणतान्त्रिक हो र यस्तो हुँदैन पनि। विपक्षी आवाज र समुह प्रत्येक समय र युगमा ज्युँदै रहन्छ।एउटा मर्छ भने पनि फेरी अर्को जन्मिन्छ। र यस राजनैतिक दलको निम्ति सम्भवत सावन राई एउटा दुख्ने दाँत थियो जो आफै झऱ्यो। गोजमुमोले पनि केही झ्याँस-झुस, र कसिङ्गरको थाकमा अर्को अलिकति थप्यो। तर यो सबको निम्ति सावन सरले आफ्नो दसकौं लामो राजनैतिक इतिहास आफै कालो बनाए, सबैभन्दा निकटका साथीहरुबाट टाडा भए। यहाँ उता आफु बाच्ने उमेर १० वा १५ वा २० वर्षको हिसाब लगाएर जुन स्वार्थको दहमा हामफाले, सायद आफ्नो जीवनको अन्तिम क्षण त्यो आफुले गुमाएको युगिन धरोहरको पक्कै याद आउला।.....किनभने जीवन भनेको यी अक्षर जस्तै बलियो इतिहासको इँटाहरु हुन्। बालक-बालिका जस्तो निर्णय र केही सुख, केही सम्पन्नता, र केही सत्ताको प्रभाव र बल-मिचाई गर्न सक्ने ल्याकत एक नेतृत्वले कमाउने पुंजी होइन। हिजो यो लेखन्तेले जसले झुकेर नमस्ते भन्थ्यो आज घोप्टिएर यो अनुहार हेर्दा लाग्छ कि मान्छेको अनुहार कत्ति पत्रा-पत्राको हुँदोरहेछ। घर-बार ठहराएर आलिसान जीवन बाच्ने सपना र धङधंगीसित राजनीति गर्नेहरुको अनुहार कति छिटो नांगै पनि हुन्छ यो हेर्न टाडा पुग्नु पर्दैन रहेछ। सावन सरको जीवनमा पनि यस्ता थुप्रै संग्रामी साथीहरु छन् जसको घर-बार छैन। परिवार सम्म व्यवस्थित नगरी उहाँहरुलाई नै आदर्श मान्दै राजनीतिमा आएर बुडो पनि भए। जनताको निम्ति राजनीति गर्नेहरुमा त त्यो संयम र सरलता पो महान् हुन्छ त। ती सम्पूर्ण साथीहरुको संघर्षपूर्ण जीवनलाई र आस्थालाई आफ्नो क्षणभंगुरको लिप्सामय सपनासित साटेर, लात हानीराखेर जाँदा भन्नु त कसैले केही भनेनन् र भन्ने छैनन् पनि तर यस थरीको आत्महारा प्रवृति फेरी-फेरी कसैको सन्तान दर-सन्तान कसैमा नदोहोरियोस जस्तो लाग्छ नै।

घरमा आईपुगें सधैं जस्तै लेख्न बसें। लेख्दा लेख्दै सोच्न परिरहेछ... आखिर मैले किन एउटा व्यक्तिमाथि यति शब्द खर्चिरहेछु। फेरी सोंचे , होइन मैले लेखेको व्यक्तिमाथि होइन। यहाँ वर्णित व्यक्ति उनिनै नहुन सक्छन् वा हुनैसक्छ्न् तर मेरो यो लेख व्यक्ति भन्दा त्यो प्रवृत्तिमाथि वर्षिएको अभिव्यक्ति मात्र हो। दार्जीलिङमा यो प्रवृत्ति सामान्य बन्दै गैरहेछ। आम मान्छेहरुमाथि चतुर्याइँपूर्ण ढंगमा आफ्नो प्रभाव र बर्चस्व कायम गरिरहन औसरवादको सहारा लिने नेतृत्वहरुबाट आम जनमानस सधैं शिकार मात्र बन्दै आएका छन् यस थरिको प्रवृतिलाई जनताले सही समयमा पहिचान गर्न नसके फरेबको भासमा जाकिनेछन्।

‘फेयरवेल टु यु’- भन्नु मन लागेको थियो भेटेरै। म अहिले सोच्दैछु सावन सर र सावन प्रवृत्तिमाँझ भिन्नता छ। सावन सर, हाम्रो समाजको केहीभन्दा औसत चंखो मान्छे। आज पनि उनि आफ्नो परिवार, कतिपय गाउँले, आफन्तको प्यारो थिए र छन्। मान्छे भएर जन्मिएका उनि एकदिन जान्छन् पनि तर सावन-प्रवृति अर्कै थोक हो यो हाम्रो समाजको माथिल्लो तहदेखि तल्लो तहसम्मै समाजमा कायम छ।यस प्रवृतिका बिषेशता के हुन्छ भने ‘यो आफ्नो स्वार्थ अघाडी हुन्छ तर जनताको भलाई कारण देखाउँछ।‘ ‘यो अवसर हेरेर बाजी मार्छ।‘ ‘यो मान्छेहरुलाई विश्वासमा लिन्छ र त्यो बिश्वास आफ्नो स्वार्थ र प्रभाव फैलाउन प्रयोग गर्छ’ ‘ यसको साथी र दुश्मन दुवैसित बराबरको सम्बन्ध र सम्पर्क हुन्छ’ ‘ यो पहिला आफ्नो, आफ्नो परिवारको हुन्छ त्यसपछी अरुको’ यस्ता धेरै कुराहरु यस प्रवृत्ति अन्तर्गत पर्दछन्। तर मलाई लाग्छ आजपनि हाम्रा सावन सर यस्तो छैनन्। उनका निर्णयहरु क्रान्तिकारी नसही तर सही होलान्। त्यो सही कुरा आत्मासात गरेर उनि नयाँ घरमा सरुन, र त्यसबाट दार्जिलिङको सबैभन्दा ठुलो राजनैतिक दल गोजमुमोलाई उनको अनुभव र इमान्दारिता अनि दुरदर्शिताबाट आफ्नो राजनैतिक अभियान अघि बढाउन थप उर्जा प्राप्त होस् ।

यस लेख सावन सरलाई फेयरवेल गिफ्ट, तर म चिन्तामा छु कुन दिन त्यो आउला जतिबेला म सावन-प्रवृत्तिलाई फेयरवेल भन्न पाउँला। कतै त्यो प्रवृत्तिको भाईरसले मेरो, मेरो परिवारको, मेरो साथीहरु र सम्पूर्ण दार्जिलिङनै सङ्क्रमित नहोला ??? त्यसो भए के गर्नु??? त्यसपछी निर्णय लिएँ ‘होस् यो लेख लुकाएर पत्रमा सुटुक्क होइन त्यो खबर बोकेर ल्याउने सप्पै संचार माध्यमतिर नै झटारो हान्नु पऱ्यो। आखिर अब लुकाउनु पर्ने लाज कसको पो रह्यो र??? म इमेल गर्ने तर्खरमा छु अहिले र चाहान्छु उनले यो लेखन्तेमाथि मान-हानीको मुद्दै ठोकुन्।


0 comments: on "फेयरवेल टु सावन राई"