मुख्य समाचार :


सावन राई गद्दार-क्रामाकपा :प्रणव मुखर्जीको पुत्ला दहन

क्रामाकपाद्वारा प्रणव मुखर्जीको पुत्ला दहन

मनोज वोगटी
कालेबुङ,29जून।

युपिए सरकारले जुन डिजल र ग्यासको मूल्य वृद्धि गर्‍यो त्यसको विरुद्धमा क्रामाकपाले कालेबुङमा विक्षोप प्रदर्शन गर्‍यो। सरकारमा जानेबेलामा गरीबहरूको निम्ति नीति तयार पार्ने अनि उनीहरूलाई सुविधा दिने बताएर सरकारमा आएपछि गरीबको चुल्हा चिसो पार्ने काम गरेको आरोप लगाउँदै वित्त मन्त्री प्रणव मुखर्जीको पुत्ला दहन गर्‍यो।
सिमसिम झरी परिरहेको बेला पनि मुल्यवृद्धिका मूल नाइके मानेर क्रामाकपाले मुखर्जीको पुत्ला दहन गरेपछि पथसभालाई सम्बोधन गर्दै क्रामाकपा नेता मोहन पौड्यालले कंग्रेसको सरकार गरीबमारा सरकार रहेको आरोप लगाए।
तिनले भने, कंग्रेसको सरकारले गरीबहरूको विरुद्धमा मुल्यवृद्धि गरिरहेको छ। यसको देशव्यापी विरोध भइरहेको छ। कंग्रेसको मूल्यवृद्धिले पहाड़का खटिखाने श्रमिक र गरीबीरेखामुनीका मानिसहरूलाई चपेटमा पारेको छ। यसकारण कंग्रेसको गरीबीमारा नीतिको घोर निरोध गर्न सम्पूर्ण पहाड़वासी अघि आउनुपर्छ। यसैक्रममा गक्रायुमो महासचिव अरूण घतानीले पनि मुल्यवृद्धिको निम्ति पहाड़बाट पनि वृहत आन्दोलन गर्नुपर्ने बताए। तिनले भारत सरकारलाई पहाड़वासी पनि जागरूक रहेको प्रमाणित गर्नुपर्ने बताउँदै कंग्रेसको सरकारले भ्रष्टचारीहरूलाई देशमा पश्रय दिइरहेको आरोप पनि लगाए।

तिनले भने, अन्ना हजारे र बाबा रामदेवले भ्रष्टचार र कालोधनको विरूद्ध गरेको आन्दोलनलाई दबाएर कंग्रेस सरकारले भ्रष्टचारी सरकार रहेको प्रमाण दिइसकेको छ। यसरी नै क्रामाकपा उपाध्यक्ष जे.बी.राईले दिल्लीबाट भ्र्रष्टचारको बीजन पहाड़मा पनि लिएर आइरहेको बताए। तिनले भने, ममता व्यानर्जीले पनि त्यो भ्रष्टचारीहरूलाई पहाड़मा पश्रय दिने काम गरिरहेकी छन्‌।
यसलाई रोक्न सबै अघि बढ्‌नपर्छ। क्रामाकपा महासचिव तारामणि राईले पनि भने, दागोपापमा भ्रष्टचार भएको कागजपत्र लानेहरूले कसलाई दण्ड दिलायो? बरू पहाड़का प्रशासक बी.ए.मिनाले केवल 35 प्रतिशत मात्र काम भइरहेको र व्यापक भ्रष्टचार भइरहेको छ भनेर कसलाई इङ्गित गरेका हुन्‌? दागोपापमा भइरहेको भ्रष्टचारमाथि जॉंच नभइ अर्को दागोपाप आउनु भनेको नयॉं बोतलमा पुरानो रक्सि जस्तो दल र नेताहरू, जो दागोपापको निम्ति राजनीति गरिरहेका छन्‌ उनीहरूलाई गोर्खाल्याण्ड आन्दोलनको विरुद्धमा स्थापित गर्नुबाहेक अर्को केही होइन।

सावन राई गद्दार-क्रामाकपा


केवल गोर्खाल्याण्डको निम्ति गठित, गोर्खाल्याण्डको निम्ति इमान्दार दल क्रामाकपाबाट निस्किएर गोर्खाल्याण्डको आवाजको घॉंटी निमोठ्‌ने दलमा जान्छ भने हाम्रो कुनै प्रतिक्रिया छैन-यसै पथसभालाई सम्बोधन गर्दै गक्रायुमो नेता अरूण घतानीले यसो भनेका हुन्‌। तिनले क्रामाकपा छोड़ेर गोजमुमोमा सामेल भएका सावन राईलाई इङ्गित गर्दै अझ भने, जब गोजमुमोले पैसा र चौकी ल्याउने भयो तब राल काढ्‌दै पार्टी छोेड्छ भने तिनको नियत के हो सबैले बुझ्न पर्छ। सावन राई क्रामाकपाको निम्ति एक गद्दार हुन्‌। जब कि तिनलाई थाहा छ कि क्रामाकपा पैसा र चौकीको निम्ति होइन केवल गोर्खाल्याण्डको निम्ति अघि बढ्‌ने दल हो। जनतामा छर्लङ्ग नै छ कि गोर्खाल्याण्डको निम्ति इमान्दार दल केवल क्रामाकपा मात्र हो। एक इमान्दार दलबाट एक गद्दार नेता अर्को पार्टीमा जान्छ भने त्यो पार्टी कस्तो पार्टी होला सबैले अनुमान गर्न सक्छन्‌। क्रामाकपा उपाध्यक्ष जे.बी.राईले पनि भने, सावन राईले क्रामाकपाबाट के चहान्थे, त्यो तिनको कुरा हो। क्रामाकपा त गोर्खाल्याण्डको निम्ति कटिबद्ध पार्टी हो, पहाड़को समस्या समाधान गर्न होइन सम्पूर्ण गोर्खाहरूको चिन्हारीको सवाललाई अघि लिएर छुट्टैराज्यले मात्र सम्पूर्ण गोर्खाहरूको समस्याको समाधान हुनुपर्छ भन्ने दल हो। यहॉं तिनको इच्छा पुरा भएन होला। त्यसकारण मोर्चामा आफ्नो इच्छा पूरा गर्न गएका होलान्‌। तिनको इच्छा पुरा होस्‌ हाम्रो कामना छ। यद्दपि सावन राईको निर्णय व्यक्तिगत हुँदाहुँदै पनि नितान्तै अवसरवादी रहेको पनि तिनले जनाए।

मोर्चाले सरकारसित मिलेर गोर्खाल्याण्डको आन्दोलनलाई बिथोलेको आरोप


गोर्खाल्याण्डको आन्दोलनलाई बिथोल्न पहिले राज्य सरकारसित मिलेर गोरामुमोको सुवास घिसिङले दागोपाप थापे अनि 20 वर्ष आन्दोलनलाई थन्काए। त्यसले पनि नपुगेपछि फेरि 2007 मा राज्य सरकारसित नै मिलेर छेटौं अनुसूचीमा सम्झौता गरे। जसको उद्देश्य थियो गोर्खाहरूलाई जातजातमा विभाजन ल्याएर आन्दोलनको शक्ति भञ्जन गर्नु। जनताले घिसिङको षड़यन्त्र र राज्य र केन्द्रको चलाकी बुझेपछि देशभरिबाट नै छैटौं अनुसूचीलाई रोक्ने काम गर्‍यो। छैटौं अनुसूचीलाई ढ्वाङमा हालियो। किन भने यसले देशभरिका गोर्खाहरूको चिन्हारीको सवाललाई पुरा गर्दैन अनि गोर्खाहरूलाई जातजातमा भक्ताएर छुट्टैराज्यको निम्ति लड्‌ने शक्तिलाई नष्ट गर्दैथियो। एउटा गद्दारलाई त जनताले तह लगायो तर फेरि अहिले राज्य सरकारसित नै मिलेर अर्को सम्झौता भइरहेको छ जसको उद्देश्य पनि आन्दोलनलाई धेरैपछिल्तिर धकेल्नु नै रहेको छ-क्रामाकपा उपाध्यक्ष जे.बी.राईले मोर्चाले पनि गोरामुमोले झैं सरकारसित मिलेर गोर्खाल्याण्ड चहाने जनतालाई धोका दिइरहेको जनाउँदै उक्त कुरा भनेका छन्‌। तिनले जनतालाई मोर्चाले जनमत गोर्खाल्याण्डको निम्ति मागेर एउटा असंवैधानिक व्यवस्थाको निम्ति प्रयोग गर्नु सम्पूर्ण गोर्खाहरूको आकांक्षामाथि छुरी हान्नु रहेको जनाए। अर्कोतिर अरूण धतानीले पनि भने, देशको संघिय प्रणालीभित्र गोर्खाहरूको समस्याको समाधान हुन्छ भने केवल छुट्टैराज्यले मात्र हुन्छ। तर यहॉं आन्दोलनलाई पछिल्तिर धकेलेर आफ्नो स्वार्थ पूर्ति गर्न पैसा र चौकीसित गोर्खाहरूको भविष्य साटिरहेको छ। यसरी नै क्रामाकपाका महासचिव तारामणि राईले पनि भने, वास्तवमा मोर्चाले जुन गुप्ती रिपोर्ट केन्द्रलाई पठायो, त्यो गोर्खाल्याण्डको निम्ति थिएन। मोर्चाले क्रामाकपाले केवल विरोध गर्‍यो भन्दैछ, तर उनीहरूले नै 11 पल्टसम्मको वार्तामा गोर्खाल्याण्डको कुरा भएको बताएको हो। गोर्खाल्याण्डको निम्ति कुरा भएको हो भने फेरि किन परिषद? यस्तै परिषद, पैसा र पावर देखाएर गोर्खाल्याण्डको आन्दोलनलाई पछिल्तिर पार्ने जुक्ति जुन राज्य र केन्द्रले गरिरहेको छ, उसैसित मिलेर जनता थाक्यो अब यो थाप्नुपर्छ, गोर्खाल्याण्ड त छँदैछ, पछि आन्दोलन गर्नुपर्छ भन्छ भने जनता र विपक्षले के बुझ्नु? यसै पनि मोर्चाले पठाएको गुप्ती रिपोर्टमा पॉंचवर्षको निम्ति बजेटको कुरा गरेर अनि सेटअपको मियाद चाहेको खण्डमा बढाउन सक्ने कुरा पनि उल्लेख गरेको छ, यसले नै मोर्चा गोर्खाल्याण्डको निम्ति होइन पैसा र चौकीको निम्ति गठन गरिएको स्पष्ट छ। ममता व्यानर्जीले पहाड़को समस्या समाधान भइरहेको बारम्बार गर्दै आइरहेको सम्बन्धमा पनि तिनले भने, ममताले पहाड़को समस्या समाधान गरेको हुन सक्छ, तर हामीले पहाड़को समस्या होइन गोर्खाहरूको समस्याको समाधान हुनुपर्ने माग गरेको हो। मोर्चा र क्रामाकपामा यही भिन्नता रहेको जनाउँदै तिनले भने, मोर्चा पहाड़को समस्या समाधानको निम्ति अघि बढिरहेको छ अनि क्रामाकपा गोर्खाहरूको समस्या समाधान गर्न अघि बढिरहेको छ। तिनले सरकारको पक्षमा लागेर गोर्खाहरूको अस्तिमता र चिन्हारीको कुराको सौदाबाजी रोक्न नै क्रामाकपा अघि बढेको अनि अबका दिनहरूमा क्रामाकपाले डटेर परिषद्, मोर्चाको धोका र राज्य र केन्द्रको षड़यन्त्रको विरुद्ध अघि बढ्‌ने पनि तिनले जनाएका छन्‌।

0 comments: on "सावन राई गद्दार-क्रामाकपा :प्रणव मुखर्जीको पुत्ला दहन"