मुख्य समाचार :


यसवर्ष चार कम्पनीले लुट्यो कालेबुङबाट करोड़ौ

  • धेरै धन लुट्‌ने युनिपे कम्पनीका दम्पती एजेन्टले ठोके सुँकुच्चा
  • एक कम्पनीका निदेशकले आत्मसमर्पण गर्ने


मनोज वोगटी-सन्दिप कुलुङ
कालेबुङ,30जून।

यसवर्ष चारवटा कम्पनीहरूले कालेबुङबाट करोड़ौ लुटेको तथ्य अघि आएको छ। केही वर्ष अघिसम्म गृहलक्ष्मी नामक यस्तै लुटेरा कम्पनीको चर्चा थियो। यो कम्पनीले कालेबुङवासीको लाखौं रुपियॉं हिनामिना गरिदिएको थियो। लगाइएको रुपियॉं फर्किने आशामा लगानीकर्ताहरू अझ पनि आशामा छन्‌। गृहलक्ष्मी जस्तै पैसा लुट्‌ने र चम्पट कस्ने कम्पनीहरू पहाड़मा धेरैवटा आयो। तर यस्ता कुनै कम्पनी छैन, जो पुलिसको पञ्जामा परेको होस्‌। यस्ता कुनै एजेन्ट छैनन्‌, जसले अहिलेसम्म जेलको हावा खाइरहेको होस्‌। कालेबुङ, पैसा लुट्‌ने कम्पनीहरूको निम्ति धेरै उर्वर क्षेत्र बनेको छ।

अहिलेसम्म करोड़ौ रुपियॉं यस्ता धुर्त कम्पनीहरूले लुटेर गइसकेको छ। कालेबुङमा पैसाको लालच देखाएर पैसा लुट्‌ने कम्पनीहरू यो वर्षभित्रमात्र चारवटा थियो। जसमा डोकोमो आरपीथ्री ग्रुप्स कम्पनी, रिलायन्स एसएमएस विजिनेश,साइबर जब वेभ इन्फो सोल्युसन अनि युनिपे एसएमएस कम्पनी प्रमुख रहेको छ। यी मध्ये करोड़ौं लुट्‌ने सम्पनी भने युनिपे नै रहेको छ, जसको एजेन्ट कालेबुङको गुड शेफर्ड होटल म्यानेजमेन्टका निदेशक एल्विन लामा अनि तिनका श्रीमति अनु लामा हुन्‌। आज डोकोमो आरपी थ्रीले विद्यार्थी अनि वेरोजगार युवाहरूको पैसा लुटेको भुक्तभोगी एक विद्यार्थी ज्योति तामङले जनाएकी छन्‌। तिनी अनुसार यो कम्पनीले तिनलाई कार्यालयको भाड़ा तिर्न लगानी गर्न लगाएको थियो। कम्पनी डुब्यो, अनि एजेन्टहरूले तिनको पैसा फर्काउने आशा देखाए पनि आजसम्म फर्काएको छैन।

एजेन्टहरू सबै लाखौं रुपियॉं कुम्लाएर कालेबुङ छोड़ेर भागेका छन्‌। अर्को कम्पनी रिलायन्स अनि एसएमएस बिजिनेशले त करोड़ौ लुटेर भागेको छ। यस कम्पनीमा कालेबुङका साधारण नागिरदेखि लिएर ठेकेदार, व्यवसायी,सरकारी कर्मचारीसमेतले लगानी गरेका थिए। कम्पनी नै बन्द भयो, तर लगानीकर्ताहरू चुपचाप बस्न पर्‍यो। उनीहरूको जाने ठाउँ कतै छैन। पैसा लाखौं लगाइएको छ, कम्पनी डुब्यो तरै पनि उनीहरू किन बोल्दैनन्‌? यो पनि निक्कै चाखलाग्दो विषय बनेको छ। अहिले के शंका उठ्‌न थालेको छ भने ती लगानी गरिएका रुपियॉं परिश्रम कै धन थियो कि कालो धन? परिश्रमको पैसा हुनु हो भने पैसा डुब्दा लगानीकर्ताहरू बोल्नुपर्ने, कोही पनि पैसा डुबेको मामिलामा मुख खोल्न तयार छैनन्‌।

यसकारण लगानी गरिएको पैसा कालो धन नै थियो कि भन्ने शंका अहिले उठेको छ। धेरै लगानीकर्ताहरू नबोलेको कारण थोरै लगानी गर्नेहरू तल्लोस्तरका लगानीकर्ताहरूलाई असुविधा भइरहेको एक कम्पनीमा तीस हजार लगाउने भक्तिराज शर्माले जनाएका छन्‌। जमीन बेचेर पैसा लगाएको बताउने भक्तिहरू धेरै छन्‌, जसले खाइ नखाइ कमाएको पैसा कम्पनीमा लगाएका छन्‌। तिनले आफूले पैसा लगानी गरेको कम्पनीका एजेन्ट नेपालमा चियाबारी किनेर मस्त रहेको थाहा पाएको भए पनि तिनको विरुद्धमा केही गर्न नसकेको दुःख पोखाएका छन्‌। लाखौं लुट्‌ने कम्पनीको कुरा छोड़ौं, कालेबुङमा करोड़ौ पैसा लुट्‌ने एउटा कम्पनी युनिपे एसएमएस अनि भिसारेटका एजेन्टले लगानीकर्ताहरूलाई पैसा फिर्ता गर्ने दुइपल्ट बचन दिए तर तिनको अत्तोपत्तो छैन। 2009 को सितम्बरमा कालेबुङ पसेको यो कम्पनी अहिले बन्द छ। जसमा यति धेरै पैसा लगानी गरिएको छ कि लगानी कर्ताहरू प्राय नै सम्पन्नवर्गको रहेको थाहा लागेका छन्‌।

एजेन्ट नै गुडशेफर्ड होटल म्यानेज्मेन्टका मालिक रहेकोले तिनको विश्वासमा लाखौं रुपिया लगानी गर्ने ती सम्पन्नवर्ग अहिले रोउँ न हाशुँ बनेका छन्‌। लगानीकर्ताहरूले जनाए अनुसार मुख्य एजेन्ट एल्विन लामा अनि अनु लामा हुन्‌। उनीहरूले आफूहरू मलेशियामा रहेको दुइमहिना अघि स्थानीय च्यानललाई जनाउँदै जुन महिनासम्ममा पैसा फर्काउने बाचा गरेका थिए। हजार र लाख रुपियॉं लगानी गर्नुपर्ने कम्पनीको आचारसंहिता नै थियो। जसको कारण धेरैभन्दा धेरै रुपियॉं छोटो समयमा नै कुम्लाउन एजेन्टलाई सजिलो भयो। एक सूत्र अनुसार यो कम्पनीका एजेन्ट एल्विन लामा अनि अनु लामाले मोठ 4 करोड़ 67 लाख 25 हजार 9 सय 74 रुपियॉं लुटेका छन्‌। यो कम्पनी कालेबुङमा एकवर्ष चल्यो।

कम्पनीमा 2 लाख लगानी गर्ने तर नाम प्रकाशमा आएको नचाहने एक लगानीकर्ताले जनाए अनुसार यो कम्पनीमा मोठ 916 जनाले रुपियॉं लगानी गरेका छन्‌। यसरी नै कम्पनीमा 30 लाख लगानी गरेको बताउने मनिता तामङले आफूले सुन बेचेर लगानी गरेको जनाइन्‌। तिनले 2010 मा नै कम्पनी उड़िसकेको थियो तर पनि एजेन्टहरूले जनवरी 2011 सम्मनै लगानी गर्न लगाए। तिनी अनुसार कम्पनी उडेकोले अधिक पैसा लुट्‌न नै यसो गर्न लगाइएको थियो। कम्पनी डुबेपछि ठगार दम्पति एल्विन लामा अनि अनु लामा कालेबुङबाट हराएका छन्‌। एजेन्टहरूले केही महिना अघि आफूहरू मलेशियामा रहेको अनि पैसा फिर्ता गराउन प्रयासरत्‌ रहेको जनाएका थिए। तर दुइपल्ट बचन दिएर पनि अहिलेसम्म पैसा पर्काएका छैनन्‌।

डुबेको पैसा उकास्न एउटा कमिटिसमेत बनाइएको थियो। जसमा कंग्रेस नेता शान्तिकुमार शर्मा अध्यक्ष अनि महेश छेत्री उपाध्यक्ष रहेको थाहा लागेको छ। उनीहरूसित सम्पर्क गर्न चाहे पनि माध्यमको अभावको कुराण सम्पर्क हुन सक्ने। यो कम्पनीमा सल्लाहकारहरू कालेबुङका विभिन्न दलका नेताहरू रहेको समेत थाहा लागेको छ। कमिटीसित एजेन्टहरूले 14 जुलाईभित्र पैसा फक्राउने सम्झौता गरेको लगानीकर्ता मनिता तामङले जनाएकी छन्‌। अन्य लगानीकर्ताहरू अनुसार ठग दम्पति एजेन्टहरूले आफूहरू मलेशियामा रहेको जनाएको भए पनि उनीहरू सिलगढ़ीमा नै लुकेर बसेको थाहा लागेको पनि जनाएका छन्‌। उनीहरूसित पनि सम्पर्कमाध्यमको कमीको कारण सम्पर्क हुन सकेन। ती एजेन्टहरूले 14 महिनासम्ममा सबै पैसा फर्काउनको निम्ति कमिटीलाई एउटा नयॉं प्रोजेक्ट शुरू गरेको बताएकोे पनि खुलासा भएको छ तर कमिटीले लगानीकर्ताहरूलाई ती कुरा नबताएको पनि लगानीकर्ताहरूको आरोप छ। लगानीकर्ताहरूले कमिटी पनि एजेन्टहरूसित मिलेको हुन सक्ने शंका गरिरहेको पनि जनाएका छन्‌।

कमिटी र एजेन्टहरूमाझ भएको सम्झौता अनुसार आज एउटा बैठक हुनुपर्नेथियो तर त्यो बैठक पनि भएन। अहिलेसम्म ठग कम्पनीहरूको विरुद्धमा कसैले पनि प्राथमिकता दतार्र् गरेका छैनन्‌। यसको कारण कर विभागले हिर्काउने सिर्कुना रहेको अनुमान सबैले गरिरहेका छन्‌। लाखौं रुपियॉं लगानी गर्नेहरूकोपछि कर विभाग लाग्न सक्ने डरले नै चुपचाप बसेको हुनसक्ने अनुमान पनि गरिएको छ। यता आज नै यो संवाददातालाई वेभ इन्फो सोल्युसनका निदेशकले एउटा भोइजमेल पठाएर आफू निर्दोष रहेको जनाएका छन्‌। यसै वर्ष यो कम्पनीका कालेबुङे एजेन्टहरूले करोड़ौ लुटेर भागेका थिए। क

म्पनीका निदेशक प्रकाश सुब्बाले भोइजमेलमा जनाए अनुसार आफूलाई अँध्यारोमा राखेर साथीहरूले आफूलाई फँसाएको जनाएका छन्‌। आफू निर्दोश रहेको अनि कालेबुङका लगानी कर्ताहरूलाई पैसा फिर्ता गराउन आफूले लगानीकर्ताहरूमा आत्मसमर्पण गर्न चाहेको तिनले बताएका छन्‌। तिने जनाए अनुसार तिनी कालेबुङ आउन चहान्छन्‌ अनि लगानीकर्तासित भेेटेर उनीहरूको पैसा फर्काउन सहयोग गर्न चहान्छन्‌। जमीन बचेर होस्‌ वा कुनै उपाय लगाएर होस्‌, म उनीहरूको पैसा फिर्ता गर्न चहान्छु। लगानीकर्ताहरू राजी भए म आत्मसमर्पण गर्न चहान्छु-तिनले भनेका छन्‌।

0 comments: on "यसवर्ष चार कम्पनीले लुट्यो कालेबुङबाट करोड़ौ"