मुख्य समाचार :


किन क्रुद्ध छ आज यो हावा ?

- डा. गोविन्दराज भट्टराई




यतिखेर दार्जीलिङ एउटा युद्ध लडिरहेको छ। अनेक चरणमा अघि लडिए, कहिले भूमि छोएर, कहिले भाषा बोकेर, अहिले जाति र देश भएर लड्दैछ । त्यसलाई स्वाभिमानका आफ्नै हातले छुन लड्दैछ । सुगौलीपछिको यो शतवार्षिकी युद्ध, अन्तिम चरणमा लडिरहेको छ । अहिलेको लडाईं भिन्न छ, अतीतकाभन्दा फरक– बिनाखुकुरी उभिएकाहरू, बिनाबन्दुक लामवद्धहरू । यसघरी तिनीहरू आफ्ना पूर्खाले थालेको त्यो बलीदानी लडाईंको अन्त्य गर्न चाहन्छन्, ती बलीदानलाई सार्थक बनाउन चाहन्छन् । एउटा जाति हुन सय वर्ष लड्नु, एउटा देश हुन सय वर्ष, सम्भि्कँदा कत्रो कहाली ! तर यो निर्णायक लडाईं भिन्न छ । दार्जीलिङका कवि मनप्रसाद सुब्बा बोलेका छन्― त्यसै र अचेल दाहिने काँधमा अशोकचक्र बोकेर, देब्रे हातले आफ्नै अनुहारको झण्डा फर्फराउँदै म त्यै बाटो खाली खुट्टा हिँडिरहेछु जुन बाटो भएर एक समय अधिकारको दण्डी यात्रा गरिएको थियो ।
कत्रो प्रतिज्ञा, कत्रो घोषणा । यो सारा गोर्खाजनले गरेको प्रतिज्ञा हो । त्यो प्राचीनकालको, पच्चीससय वर्ष पुरानो अशोकचक्र बोकेर महात्मा गान्धीले एक साम्राज्यविरुद्ध लडेका थिए, त्यसलाई हराएका थिए । अशोकचक्र सम्भि्कँदै उनी बोलेका छन्― हातहतियार हिंसाको प्रतीक भएझैँ चक्र अहिंसाको प्रतीक हो, किनभने हामी त्यसलाई देखेर प्रत्यक्षरूपले अहिंसा बुझ्दछौँ । एकदिन गान्धीका लाखौँ अनुयायी दण्डीमार्चमा उभिएका थिए । भोकैतिर्खै झन्डै एकमहिना खालि खुट्टाले नापेर सावरमती आश्रमदेखि दण्डीमा पुगेर बिसाएका थिए । जनशक्ति देखाएका थिए । त्यो अवज्ञा आन्दोलन अथवा असहयोग आन्दोलन इतिहासकै सवैभन्दा ठूलो अहिंसात्मक आन्दोलन थियो ।

एकसठ्ठी बर्से गान्धी लठ्ठी टेकेर हिँडेका, लाखौँ अनुयायी पछिपछि । यातनागृह भरिए, दिल्ली हल्लियो, लन्डन काम्यो । यसरी स्वतन्त्रता सङ्ग्राम–पथ कोरियो । आज अर्को शताव्दी पल्टेको बेला दार्जीलिङमा उही अशोकचक्र, उही खाली खुट्टा र अर्को दण्डी मार्च । आज गान्धीको देशमा गान्धीका सन्तान उनकै हतियार बोकेर फेरि अर्को मुक्तियुद्ध लड्दै छन् । ती निहत्था र निशस्त्र भएर । यी सारा कुरा एउटा कृति “किनाराका आवाजहरू” मा प्रतिध्वनित छन् । यसभित्र दार्जीलिङका मनप्रसाद सुव्बा र रेमिका थापा बोलेका छन् कवितामा । यसको भूमिकाका शब्दले प्रष्ट पारेको उद्देश्यलाई अरू सयौँ सङ्ग्रहले पार्ने छैनन् । कालिक चेतना बोलेको कृतिमा ठूलो आवाज हुन्छ, दिशाबोध हुन्छ । त्यहाँ सर्जक–व्यक्तिका दुःख, हर्ष, भावुकता, आत्मालाप र मनोवाद हुँदैनन् । केवल विचारले एउटा कालखण्डै थर्किन्छ, जातीय आकाश नै गर्जिन्छ, बिजुली झलिकझलिक गर्छ । यो कृतिले त्यही शक्ति र सन्देश ल्याएको छ । सर्जकहरूले कृति समर्पण गरेका शब्दहरू नै शतवार्षिक युद्धको अन्त्य उद्घोष गर्दछन्―
जातीय चिन्हारीको सङ्घर्षमा
लागिपरेका सबै–सबैलाई
उपनिवेशकहरू हारेर हिँडे पनि तिनीहरूले छोडेको भूमीबाट नाभो उमि्ररहेको छ, तिनैका चरित्र बोकेर । आन्तरिक उपनिवेश भएर । त्यसविरुद्ध एशियाली र अफ्रिकी भूमिका अनेक देश अझै छटपटिएकै छन् । भारतमा पनि उत्तरपूर्वदेखि झारखण्ड हुँदै काश्मिरसम्म, दक्षिण तामिलनाडूको किनारसम्मै जातीय, धार्मिक, क्षेत्रीय अनेक प्रकारका अस्तित्व–चेतना उम्लिरहेका छन् तर कसैले अशोकचक्र भिरेन, कसैले दण्डीमार्च सोचेन । दार्जीलिङले आज त्यो गरिरहेछ, हामी सारा दार्जीलिङ सँगै छौँ । त्यो कदमको समर्थन गर्दछौँ ।
“किनाराका आवाजहरू” मा समकालीन विश्वचेतना अत्यन्तै टडकारो छ, त्यही विशाल सिक्री समाएर दार्जीलिङ उठ्न खोजिरहेको छ । कृतिमा गान्धी–बिम्ब मात्र छैनन्, त्यहाँ गायत्री स्पिभाक छिन्, माया एन्जेलाउ छिन् । ती वर्तमानकालमा विश्वलाई सचेत गराउने महान् लेखिका–चिन्तक । गायत्रीको ‘क्यान सबाल्टर्न स्पिक?’ (के दुःखीको कहिल्यै दिन आउँछ?) उद्घृतांशले सङ्केत गर्दछ अब जनसाधारण जागेको छ, तल्लोवर्ग, अपहेलित सधैँ साशित र होच्याइएको, संविधानमा नलेखिएको लेखिए पनि नदेखिएको । यो एक ध्वनि हो । मनप्रसादले देश अनि म प्रयोग कवितामा यही चेतनालाई छर्लङ्ग्याएका छन् ।

१― आफ्नो अनुहारमा देशको मानचित्र टाँसेर म देशको परिचय हिँडिरहेँ हिँ–डि–र–हेँ…तर मेरो परिचय भने देशको मानचित्रमा किन टाँसिएन हँ?
२― मेरो शरीरको छालामा मासुमा हड्डीमा मासीमा देशै–देश छ । तर देशमा म कहाँ छु, कसैले देख्दैन । मेरो मनमा मथिङ्गलमा चेतनामा अवचेतनामा देशै देश छ, तर देशमा म जहाँनेर छु मैमात्र देख्छु। किन अरू कसैले देख्दैन हँ? अदृश्य पनि त होइन म । दृश्यमान हुँ अत्यन्त ।
कविहरूको आक्रोश छ राज्यव्यवस्थाविरुद्ध जसले उनीहरूलाई भारतीय संविधानको शब्दमा राख्यो तर कर्मले अन्यताको व्यवहार गरिरह्यो, गरिरह्यो । त्यसैले गर्दा यो शीर्षक नै ध्वन्यात्मक छ, प्रतीकात्मक― मार्जिनलका अथवा किनारिएका आवाजहरू । विश्वले यही चेतना बोलिरहेको छ । त्यसैले सचेत दार्जीलिङ यतिखेर क्रुद्ध छ, कवि त्यो आक्रोश पोख्छन्:
उनीहरू सधैँ
सबाल्टर्नको गरुङो हेलमेटले
मेरो टाउको किचिराख्न चाहन्छन् ।
कवि मनप्रसाद एउटा घटमा सम्झिन्छन । उनीहरू विश्वकविता दिवसमा भाग लिन कलकत्ता गएका थिए, तर त्यहाँ नेपाली पनि ‘बङ्गाली कवि’ मै समाहित गराइए, जबकी नेपालीको आफ्नै भाषा, लिपि, साहित्य, कविता र सबै कुरा हुँदाहुँदै त्यो परिचयहीन थियो । यो देशभित्रैको प्रभुत्वचेतनाले नेपाली सर्जकलाई अपमानित गर्‍यो । यसरी उनीहरू निश्कर्षमा पुगे जातीय चिन्हारी अझै सङ्कटमा छ, किनारीकरण यथावत छ । त्यसैले कविले यहाँ लेज्ली मार्मोन सिल्कोसमेत पुकारे । वर्तमान विश्वमा किनारिएकामाथि लेख्नेहरूलाई आह्वान गरे ।
दार्जीलिङको मात्र कुरो होइन । भारतीय लेखक–चिन्तक, संस्कृतिकर्मी सबैले बारम्बार नेपाली जातिकै जानीनजानी अपमान गरेको कुरा पढ्नु परिरहेको छ । केही वर्षअघि किरण देसाइको “द इन्हेरिटर्स अव् लस्” प्रकाशित भयो । त्यसमा नेपाली पात्रहरू निन्दित, अपहेलित र तल्लो दर्जामा राखिएका छन् । उसैबेला नेपाली समाजबाट ठूलो विरोध भएको थियो । आज पाँच वर्ष नपुग्दै अर्को कृति आयो― अरविन्द आडिगाको “द ह्वाइट टाइगर”। दीपक अधिकारीको मिहीन अध्ययनले हाम्रो ध्यान तान्यो । पढ्दा यो कृतिमा पनि नेपालीजातिको अत्यन्तै नराम्रो तस्वीर प्रस्तुत छ । यी कृतिमा यौनकर्मी, द्वारे, बिद्रोही, चोर, तुच्छ पात्र नेपाली छन् । यस्ता प्रकाशन अन्तर्राष्ट्रिय भूमिबाट पुरस्कृत गराउनु दुःखको कुरा । यस्ता प्रकाशनमाथि सेन्सर नहुनु झन् दुःखको कुरा । यस्ता लेखकको सम्पूर्ण नेपालीले निन्दा गर्नेछन् किनभने हाम्रो जातीय स्वभिमानमाथि यिनीहरूले प्रहार गरेका छन्, विश्वसमक्ष हाम्रो नराम्रो चित्र प्रस्तुत गरेका छन् । स्वतन्त्र भनिएको नेपालमाथि यस्तो प्रभुत्व र हेलाँ भाव रहन्छ भने अन्तर्भुक्त दार्जीलिङ वास्तवमा सधैँ यस्तै पीडामा छ । त्यसैले कवि मन आक्रोशले उचालिएका छन्:
अपदस्त दार्जीलिङ
के यस्तै थियो
सनकी हिटलरको यहूदी पोल्ने भट्टी!
देसाईं र अडिगाहरू नेपाली जीवनको अशिक्षा, दुःख, अज्ञानता र निर्दोषिताको व्यापार गर्न चाहन्छन् । हाम्रो विद्रूप चित्र विश्वतिर लगेर बेच्न चाहन्छन् । यस्ता अरू पनि प्रयत्न भएका छन् । कति ता फिरङ्गीसित टाँसिएका नेपाली एन्जिओहरू पनि हाम्रो भोक, तिर्खा, अशिक्षा बेचेर नाम र दाम कमाउन चाहन्छन् । हालै अर्को पनि आख्यान आएको छ प्याटि्रसिया म्याक्कोर्मिकको “सोल्ड” । यसमा पनि नेपाली चेलीलाई कलकत्ताको यातनापूर्ण जीवनबाट “उनीहरूले” उद्धार गरेको देखाइन्छ । “चाँदनी चोक टु चाइना” यस्तै आक्रमणको अन्तिम सिरिज थियो । यति नग्न, ठाडो, शरमलाग्दो― शिक्षित र चेतनशीलवर्गले गरेका सिर्जनाकर्ममा कुनै विवेक नहुनु, आफ्नै मित्रजनप्रति सम्मान, श्रद्धा र प्रेम नहुनु, तिनीहरू स्वयम् संवेदनाको व्यापारमा उत्रिनु दुःखका कुरा हुन् । रिस उठ्ता कुरा हुन् । विश्वभरि जहाँ भए पनि सबै नेपाली एकै हुन्, भूगोलले छुट्याए पनि, इतिहासले बङ्ग्याए पनि भावनामा र रक्तमा ती केवल नेपाली हुन् । जहाँ हुन्, नेपालीमाथि भएको अन्याय अत्याचार देख्ता, थिचोमिचोको कुरा सुन्दा हाम्रो मन जुरुक्क उचालिन्छ, त्यसैत्यसै रगत उम्लेर आउँछ । नेपाली जातीय एवं राष्ट्रिय संवेदनालाई भारतले बारम्बार अवमूल्यन गरेको कुरा दीपक ज्ञवालीले “विनिर्माण भारत–विरोधवादको” (हेर्नू, १९ माघको नेपाल) मा पनि प्रस्ट्याएका छन् ।
आफ्ना सामाजिक, धार्मिक अझ आर्थिक जीवनमाथि, आफ्नो देशले भोगिरहेका अनेक विपन्नता र विवशतामाथि, अरूले छोइदिँदा स्वाभिमान–चेतना कसरी उम्लेर आउँदो रहेछ― भारतले पनि अनुभव गरेकै कुरा हो । हालैको चर्चित फिल्म “स्लम डग मिलिनेअर” ले कलकताको दुःख, दारिद्र्य, फोहर र जीवनका निकृष्टता लगेर पश्चिममा बेच्यो । त्यस कुराको भारतले मरेर विरोध गरिरहेछ । स्वयम् अमिताभ बच्चन त्यसका निर्मातादेखि रुष्ट भए र सन्तोष देसाइले टाइम्स अफ इन्डियामा लेखेः विगतका वर्षहरुमा गरेको प्रगतिलाई नहेरी पश्चिमी विश्वले भारतलाई किन घोचिरहेको छ? के यसमा कुनै निहित स्वार्थ छ? के भारतवर्ष गरीव भएकैले उनीहरुलाई रमाइलो लागेको छ? के यो हाम्रो दुःख र पीडाको निराधार चर्चा र शोषण मात्र होइन र? किन उनीहरु सधैँ भारतलाई रुढीवद्ध चित्रमा प्रस्तुत गरिरहेछन्? देसाई यसरी भारतीय सेन्टिमेन्टलाई छुँदै ‘स्लम नट दि अदर इन्डिया’ शीर्षक रचनामा यसरी कडकेका थिए ।
अव हेर्नोस् के हाम्रो पनि दुख्ने मुटु उस्तै होइन । घोचिने मन उही होइन? आफ्नो घोचिएको थाहा पाउनेले अरूको मर्म थाहा नपाएझैँ गर्न मिल्छ र? सँगै सुतेको धेरै भो गोडा लागेको र भकुरिएको भेद बुझ्न सक्ने भएका छौँ । सधैँ किनारिएको नठान्नूँ । त्यसैले म भन्छु― दार्जीलिङ उठ, भुटान उठ, आसाम, हङकङ सारा उठ, बेलायत, अमेरिका उठ, विश्वभरकै नेपाली उठ, अशोकचक्रले पुगेन भने काँधमा महात्माका लाठा भिरेर कुध । महात्माको अशोकचक्रले पनि थाम्दैन कि? उनैले भनेका छन्― कायरता र हिंसाका बीचमा केवल एक विकल्प रहेछ भने म हिंसा रोज्ने सल्लाह दिन्छु । म त्यसो भन्दिन, तर यो कायर हुने समय होइन । जब देसाईं पढछु, अडिगा पढ्छु, म्याक्कोर्मिक पढ्छु, यस्ता सिर्जनाले बारम्बार नेपाली जातिलाई घोचिरहेझैँ लाग्छ, अपमानित गरेर गिज्याइरहेझैँ लाग्छ । हाम्रा अभाव, पीडा, गरिबी र विवशता टिपेर विश्वबजारमा बेच्तै हिँड्ने को हो? हामीलाई सधैँ किस्तावन्दीमा दुखाइरहने को हो? यी आडम्बर र आधिपत्य चेतनालाई सडकमा राखेर पातपतिङ्गरसँगै सल्काइदिऔँ जस्तै लाग्छ । आज यो मन क्रुद्ध छ किनकि सम्पूर्ण परिवेश नै अशान्त छ । अपमानित छ ।
किन क्रुद्ध छ आज
यो चैत्र लाग्ने बेलाको हावा
तल पत्कर उडिरहेछन्
किन काँटी भिरेर यो
मडारिँदै माथिमाथि उडिरहेछ
भन किन त्रु्कद्ध छ बल दाइ
चैत्र लाग्ने बेलाको यो हावा !

0 comments: on "किन क्रुद्ध छ आज यो हावा ?"